शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको बहिर्गमनको हल्लाले उचालियो शेयर बजार

आइतबार, ११ फागुन २०७६, १५ : ५१
आइतबार, ११ फागुन २०७६

काठमाडौं । आइतबार शेयर बजारमा उछाल देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ६९ अंकले बढ्दा १५ सय भन्दा माथि पुगेको छ । 

बिहीबार शेयर बजार १४ सय ३४.४४ अंकमा बन्द भएको थियो । आइतबार एकैदिन बजार ६९.५६ अंकले बढेर १५ सय ४.१४ विन्दुमा पुगेको हो । यो ४.८५ प्रतिशतको वृद्धि हो । आइतबार नेप्सेभन्दा बढी सेन्सेटिभ इन्डेक्स बढेको छ । यसको अर्थ साना कम्पनीहरु भन्दा ठूला कम्पनीको शेयर खरिदमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

आइतबारको कारोबारमा नेप्से परिसूचक मात्रै नउचालिएर कारोबार रकममा समेत उच्च सुधार देखिएको छ । आज एकैदिन ३ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भयो । यो कारोबार नेप्सेको इतिहासमै सबैभन्दा बढी हो । 

त्यस्तै फ्ल्ट इन्डेक्स पनि नेप्सेभन्दा बढी हुनुले बजारमा कारोबारयोग्य शेयरको मूल्य उच्च दरमा बढेको जनाउँछ । 

बजारका १२ उपसूचक आइतबार सबै बढ्दा वाणिज्य बैंक र व्यापारमूलक कम्पनीका कारोबारको वृद्धि ७ प्रतिशत भन्दा पनि बढी देखिएको छ । विकास बैंक उपसूचकको पनि ४.५ प्रतिशत वृद्धि देखिएको छ । 

आइतबार १ सय ७८ कम्पनीको शेयर कारोबार हुँदा १ सय ४२ वटा कम्पनीको शेयरमूल्य बढेको छ । ९ कम्पनीको मूल्य बराबर हुँदा २७ कम्पनीको मूल्य भने घट्न पुगेको छ । यो दिन मूल्य बढेका कम्पनीमध्ये ५७ ओटा कम्पनीका शेयरधनीले ५ प्रतिशत भन्दा बढी कमाएका छन् । १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । १० वटा कम्पनीको मूल्य ८ देखि ९ प्रतिशत, १३ कम्पनीको मूल्य ७ देखि ८ प्रतिशत, ११ वटा कम्पनीको ६ देखि ७ प्रतिशत तथा ११ वटा कम्पनीको ५ देखि ६ प्रतिशतको वृद्धि देखिएको छ । 

६९ अंकले वृद्धि भए पनि यो वृद्धि ऐतिहासिक भने होइन । करिब साढे ३ वर्षअघ नेप्से परिसूचक एकैदिन ८४ अंकसम्म बढेको थियो । 

किन बढ्यो शेयर बजार ?
गत सातादेखि नै बुलिस ट्रेन्डलाई समातेको शेयर बजारले आइतबार निकै ठूलो वृद्धि हासिल गरेको छ । बजार सुधारउन्मुख भएपनि यति ठूलो वृद्धि देखिनुको कारण भने अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनको हल्ला हो ।
 शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियभाको सदस्य मनोनयन गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको समाचार बाहिर आयो । 

राष्ट्रियसभामा यही फागुन १९ गतेदेखि १९ जना सांसदको पद रिक्त हुँदैछ । जसका लागि १८ नयाँ सांसदको निर्वाचन भइसकेको छ । राष्ट्रपतिले मनोनयन गर्ने रिक्त हुन लागेको एक सिटमा अर्थमन्त्री डा. युवराज खतिवडा छन् । सो स्थानमा वामदेव गौतम आउने भएसँगै अर्थमन्त्री खतिवडा संघीय संसदको सदस्य नरहने र योसँगै अर्थमन्त्रीबाट हट्ने अनुमानसहित बजार बढेको हो । 

शेयर बजारप्रति अनुदार मानिने अर्थमन्त्री बहिर्गमन भएपछि नयाँ आउने मन्त्री बजारप्रति उदार हुनसक्ने अनुमान लगानीकर्ताको विश्वास छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप