शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा–समाजवादी पार्टी एकीकरण ‘भ्यागुताको धार्नी’

आइतबार, ११ फागुन २०७६, १५ : ०३
आइतबार, ११ फागुन २०७६

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरणका लागि पटक पटक छलफल भए पनि सार्थक परिणाम हासिल हुन सकेको छैन ।

समाजवादी पार्टीले सरकार छाडेपछि एकीकरणका लागि पटक पटक प्रयास गरे पनि राजपा नेपालका नेताहरु त्यति गम्भीर देखिएका छैनन् । सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि दुई पक्षबीच एक पटक अनौपचारिक कुराकानी भएको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवासमा छलफल भएको उक्त छलफलबाट पनि एकीकरणको प्रक्रिया अगाडि बढ्न सकेन । स्रोतका अनुसार छलफलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘तपाईहरुले भनेअनुसार सरकारबाट बाहिरिएँ, अब एकीकरण प्रकृयालाई चाँडो टुङ्गो लगाउनु प-यो,’ भनेका थिए ।

एकीकरणका लागि लगभग धेरै कुरा मिलिसकेको भन्दै उनले नमिलेको कुरामा छलफल गरेर चाँडै टुङ्गो लगाउन प्रस्ताव गरेका थिए । राजपा नेपालका नेताहरुले भने एकीकरण कहिले र कसरी गर्ने भन्नेबारे स्पष्ट जवाफ दिएका छैनन् ।

समाजवादी पार्टीका वार्ता समिति सदस्यसमेत रहेका महासचिव रामसहाय यादवले राजपा नेपालका नेताहरु एकीकरणका लागि गम्भीर नदेखिएको गुनासो गरे । राजपा नेपालबाट महेन्द्र राय यादव पार्टी एकताका लागि सक्रिय रहे पनि अन्य नेताहरुले मतलब नराखेको कारण एकता प्रकृयामा ढिलाइ भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘राजपा नेपालका नेताहरुले समाजवादी पार्टी सरकारबाट बाहिरिने वित्तिकै एकीकरण हुन्छ भन्नुभएको थियो, सरकारबाट बाहिरिएको दुई महिनाभन्दा बढी हुन थाल्यो, तर उहाँहरु अझै गम्भीर देखिनु भएको छैन ।’

राजपा नेपालबाट वार्ता समितिका संयोजक राजेन्द्र महतो नै एकता प्रक्रियाका लागि अहिले सक्रिय छैनन् । यसअघि एकीकरणका लागि उनी नै सबैभन्दा बढी सक्रिय थिए । 

राजपा नेपालका अध्यक्षमण्डलका संयोजकको नाताले महेन्द्र राय यादव एकता प्रक्रियाका लागि सक्रिय रहे पनि अन्य नेताहरुले उनलाई साथ दिएका छैनन् । संयोजक यादव र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच नियमित छलफल भइरहेको बताइन्छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक यादव चक्रीय प्रणाली अनुसार संयोजक भएको डेढ महिना भन्दा बढी भइसके पनि पार्टीको बैठकसमेत बोलाउन सकेका छैनन् । यद्यपी उनी समाजवादी र राजपा नेपालबीच एकीकरण हुनुपर्ने पक्षमा छन् ।

‘दुई दलबीच एकीकरण हुन आवश्यक छ, यसका लागि छलफलहरु भइरहेको छ,’ उनले भने, ‘मधेशी जनताको म्याण्डेट नै दुई दलबीच एकीकरण हुनुपर्ने हो, मधेशी जनताको दवावमा जसरी पनि एकीकरण हुन्छ ।’
एकीकरणका लागि दुवै पक्ष सकारात्मक रहेको दावी गर्दै उनले चाँडै नै कुनै निष्कर्षमा पुग्ने दावीसमेत गरे ।

राजपा नेपालका नेताहरु व्यस्त भएका कारण औपचारिक बैठक बस्नमा ढिलाइ भए पनि अनौपचारिक छलफलहरु भइरहेको उनले बताए । उनले चाँडै नै अध्यक्षमण्डल लगायत अन्य समितिहरुको बैठक बसाएर आवश्यक निर्णय लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप