शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आमा’ हेरेर रोए दर्शक

आइतबार, ११ फागुन २०७६, १४ : ०७
आइतबार, ११ फागुन २०७६

काठमाडौं । ‘आमा’ दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म हो । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले  बक्सअफिसमा सुखद ओपनिङ गर्न सफल भएको छ । शुक्रवार मल्टिप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशत अकुपेन्सी कायम गर्न सफल फिल्मले शनिवार बिहानैदेखि देशभरका चलचित्र घरमा हाउफुलको ब्यवसाय गर्न सफल भएको बितरक करण क्रेजीले बताए । 

‘फिल्म हेर्न युवा वर्गका दर्शकहरु ‘आमा’का साथ देखिएका छन्’ क्रेजीले भने ‘फिल्मले प्रदर्शनको दुई दिन देशभरि नै राम्रो कलेक्सन गरेको छ ।’ आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्मले दर्शकमात्र होइन प्रतिक्रिया पनि राम्रो पाएको छ । शुक्रबार र शनिबार फिल्मका कलाकार, निर्देशक र निर्मात्री राजधानीका विभिन्न हल पुग्दा दर्शक फिल्म हेरेर भावुक हुँदै फर्किएका थिए । दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेको निर्माता शर्मिला पाण्डेले बताइन् ।

‘आमा’ ले शुक्रबार र शनिबार देशभरका चलचित्र घरमा राम्रो दर्शक पाएको छ’ निर्माता पाण्डेले भनिन् ‘प्रतिक्रिया समेत राम्रो आउँदा खुसी लागेको छ ।’ फिल्मले पाएको राम्रो प्रतिक्रियाले आगामी दिनमा अझ दर्शक बढ््ने उनले अनुमान लगाइन् । भनिन् ‘आमा’ जस्तो फिल्म अब आफूले बनाउन सक्दिन होला ।’

निर्देशक दीपेन्द्र के. खनालले दर्शकले फिल्मलाई शब्दमा व्यक्त गर्न नसकेको बताए । फिल्म हेरेर दर्शक निः शब्द भएको उनको भनाई रहेको छ । अभिनेत्री सुरक्षा पन्तले भने फिल्मले दर्शक रुवाएको बताइन् । ‘फिल्म हेर्दा दर्शक रोएको देख्दा दुःख लाग्यो ’ पन्तले भनिन्,‘मनदेखि नै दर्शक रोएको देख्दा भने धेरै खुशी लाग्यो ।’ पन्तले आफुले गरेको मिहिनेत सफल भएको सुनाइन् ।

फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप