शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा मेस सुधार अभियानः सँगै खाऔं, सबैको सम्मान गरौं

शनिबार, १० फागुन २०७६, १२ : ४०
शनिबार, १० फागुन २०७६

भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । 

भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रहरी अधिकृत एवं प्रहरी जवान संयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले शनिबार शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले भने, ‘विगतमा एउटै काम, उही बर्दी भएपनि तीन प्रकारका भान्छा (मेस) थिए, तर अब हामीले क्रमशः त्यो हटाउँदै लगेका छौं । 

प्रहरीको व्यवसायीकतालाई सुधार गर्न मेस, आचरणसँगै धेरै कुरा क्रमशः सुधार गर्दै जानुपर्ने समेत प्रहरी नायव महानिरीक्षक पोखरेलको भनाइ रहेको छ ।

उनले भने, ‘अधिकृतदेखि जवान सबैजना सँगै बसेर खाना खादा आत्मीयता बढ्छ, संगठनको पद्धतिमा रहेर एक अर्काको सम्मान गर्ने परम्परालाई सहयोग पुग्छ ।’

प्रहरीको आचरणलाई सुधार गरौँ भन्दै पहिलो चरणमा मेस सुधार गर्न थालिएको पोखरेलको भनाइ छ । 

केही समयपछि प्रहरीहरु जवान र हवल्दारलाई लुगा धुन सहज होस् भनेर वासिङ्ग मेशिसन दिने तयारी भइरहेको पोखरेलले बताए । ‘मेस सुधारको कार्य अन्यत्र जिल्लामा समेत क्रमशः लागू गर्दै जाने तयारी प्रहरीले गरिरहेको छ,’ पोखरेलले भने । 

वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) चक्रराज जोशीका अनुसार वृत्तमा मेस सुधार अन्तर्गत भान्छा, पिउने पानीको धारा, खाना खाने कोठालगायतका पूर्वाधारहरुको सुधार गरिएको छ । 

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेले मेस सुधारको राम्रो काम गरेको भन्दै वृत्तका प्रमखु डीएसपी जोशीलगायतका प्रहरी कर्मचारीलाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका छन् ।

भक्तपुर रहेको प्रहरी वृत्त थिमीमा अघिल्लो महिना मेस सुधार अभियान सुरु भएको थियो । हालसम्म उपत्यकामा चार प्रहरी इकाइमा हालसम्म यो कार्यक्रम लागू भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप