केन्द्रीय संस्करण
यात्रा

बर्लिनमा कर्नेलको घोडा

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0

 बर्लिनमा कर्नेलको घोडा । विचित्रको कुराजस्तो लाग्छ ।  कहाँ कथाकार बीपी कोेइरालाको चर्चित तथा प्रसिद्ध यौन मनोवैज्ञनिक तथा तत्कालीन सामाजिक यथार्थताको कथा कर्नेलको घोडा, कहाँ बर्लिनको प्रसिद्ध डोमको प्राङ्गणमा रहेको एउटा मूर्तिसँगको तुलना । तर मूर्ति हेर्नुस् त, छैन त बीपीको कथाको आधारमा बनाएको जस्तो ? 

एक पटक बीपीको चर्चित कथा कर्नेलको घोडा पढ्नुस् र कल्पना गर्नुस्– कर्नेल्नीले किन घोडालाई बढी मन पराइन् र त्यो घोडा जसलाई कर्नेलले गोली हानेर मारे ? त्यो कुरा कर्नेलको घोडा कथा पढिसकेकाहरुका लागि सामान्य ज्ञान हो तर जसले कर्नेलको घोडा पढेको छैन त्यसका लागि भने यो मूर्तिको विम्बले खासै अर्थ राख्ने छैन र पनि कहाँ नेपालका कथाकार बीपी र कता जर्मनीका मूर्तिकारको भव्य मूर्तिका बीचमा भावनात्मक सामीप्यता । 

अझ यो सामीप्यता भावनात्मक भन्दा पनि बीपीको कथा पढेर कसैले मूर्ति बनाउँछ अहिले पनि भने यति मिलाएर र अर्थ दिने गरी नबनाउला । पक्कै पनि यो मूर्ति सात दशक पुरानो होइन, किनभने यो प्रसिद्ध चर्चको प्राङ्गणमा आराम गर्न र अरू पनि मूर्ति अवलोकन गर्नका लागि आउने पर्यटकलाई ध्यानमा राखी तयार गरिएको बुझ्न सकिन्छ । किनभने जब यो मूर्तिको तस्बिर मैले भाइ तारानाथ दाहाल (नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार) लाई मेसेन्जरमा पठाएँ, तत्काल भाइको प्रतिक्रिया थियो– दाजु, यो मूर्ति मैले पनि  बर्लिनको पुरानो डोमको पछिल्तिरको पटाङ्गिनीमा देखेजस्तो लाग्छ । अनि मैले भनेँ– भाइ, यो मूर्तिलाई बीपी कोइरालाको कथा कर्नेलेको घोडाको विम्ब माने कस्तो होला ? अनि दाहालको प्रतिक्रिया थियो– हो नि त, बीपीको कथाको भाषालाई चित्रमा उतार्ने योभन्दा उम्दा मूर्ति कहाँ पो होला र ? 

चित्र या मूर्तिले बोल्ने भाषा भनेको हजारौँ शब्दले पनि व्याख्या गर्न सकिँदैन भन्ने चलन छ । सायद त्यही भएर समाचार वा विचारलाई पुष्टि गर्नका लागि वृत्तचित्र, तस्बिर या मूर्तिको सहारा लिइन्छ । तर मलाई अचम्म लागेको पक्ष भनेको के हो भने सर्जक जहाँको भए पनि एउटै धारणा राख्ने हुँदा रहेछन् । 

कथा कर्नेलको घोडाका धेरैवटा आयाम छन् । आजभन्दा करिब सात दशक पहिलेको समयमा बहुविवाह गरिन्थ्यो मात्र होइन धेरै विवाह गर्नु नै पौरुष्य मानिन्थ्यो । झन् त्यसमा पनि कान्छी श्रीमती र पतिका बीचको उमेरमा ठूलो फरक हुनुपर्छ । नेपालको परिप्रेक्ष्य र युरोपको परिप्रेक्ष्य एउटै त पक्कै होइन तर विलाशी जीवनको मनोविज्ञान र बहुविवाहको परिस्थितिले भने एउटै मनोदशा देखाएको छ । एउटी तरुनी  पत्नी वा प्रेमिका जो भए पनि उसमा जागेको यौन चाहना पूरा गर्न पक्कै पनि वृद्ध पति या  प्रेमीबाट सम्भव भएन नै ।

त्यो अवस्थालाई जसरी बीपीले आफ्नो यौन मनोविज्ञान प्रधान कथामा शब्दमार्फत् स्पष्ट गर्न चाहनु भएको छ, जर्मन मूर्तिकारले पनि बडो सुन्दर तरिकाले आफ्नो चाहना पूरा गर्न नसक्ने पुरुषलाई घोडाको रूपमा विम्व प्रयोग गरेको पाइन्छ । या त भनौँ घोडालाई वृद्धको रूपमा विम्ब होस् या वृद्धलाई घोडाको रूपमा विम्ब होस् । चित्त नबुझेर नै उसको हेराइ, घोडाबाट मन नलागी नलागी  देखिने झराइ र पुरुषको रूपमा देखिएको घोडाले देखाएको अन्यमनस्क सहृदयता स्तुत्य छ  । तर पनि युवतीमा एउटा अतृप्त भोक देखिन्छ र त्यो भोकको ओखती त्यो पुरुषसँग छैन भन्ने कुरा मूर्तिको सम्पूर्ण पक्षले झलझली देखाउँछ । 

म कला पारखी पनि होइन र कला समीक्षक पनि होइन तर जर्मनीदेखि सुदूरपूर्व दक्षिण एसियाका एउटा कथाकारको भावनासँग कसरी त्यो कलाले तादात्म्यता राख्यो, त्यो नै ताज्जुब लाग्दो भएकाले मैले यो कुरा राखेको हुँ । 

हुनसक्छ  यो मूर्तिको सम्बन्धमा पनि बाइबलको कुनै सूत्रमा यसको चर्चा होला किनभने घोडाको मुख भएका देवता हाम्रो पूर्वीय संस्कृतिमा पनि पाइन्छन् । बाइबल संस्कृतिमा पनि होला । घोडालाई हामीले पनि पौरुषेय विम्बमा लिने गरेका छौँ । घोडाजस्तै बलवान  हर्सपावरको क्षमता र सूर्य भगवानका सातवटा घोडाले चलाएको रथ, भनौँ सात वारलाई हामीले घोडाको रूपमा मानेका छौँ । ती घोडाको सारथि अरुण हुन् जसको कम्मर मुनिको  भाग चल्दैन र पनि सूर्यभन्दा पहिले सुनौलो र रातो रङ्को सङ्केतमा अरुणोदय हुन्छ जसले सूर्योदयको जानकारी दिन्छ ।

तल्लो भाग नचल्ने अरुण नै सूर्यका बलवान र सूर्यको तापक्रमलाई सहन सक्ने सारथि हुन् जसले सातवटा घोडालाई सन्तुलनमा हाँक्छन् । न छिटो, न ढिलो । एक निमेष पनि । लाख वर्षसम्मको तथ्याङ्क हे¥यो भने पनि सूर्योदय र सूर्यास्तको समयमा कुनै फरक पर्नेछैन ।  न सूर्योदय हुन्छ, न सूर्यास्त हुन्छ तर त्यो प्राकृतिक भ्रम र यथार्थमा पनि कुनै फरक पर्दैन  समयको परिधिमा । 

सर्जक जहाँ भए पनि, संसारको जुन कुनामा जन्मे पनि एउटा भावनाको स्फुरण एकै प्रकारले हुने रहेछ भन्ने मात्र यस आलेखमा देखाउन खोजिएको हो । मिल्दैन त कर्नेलको घोडाका कथासँग पाठकवर्ग । तपाईंले कर्नेलको घोडा नपढेको भए एकपल्ट पढ्नुस् र यो मूर्ति हेर्नुस् । यदि पढ्नु भएको छ भने त्यो मनोवैज्ञानिक तथा नेपाली अतीतको समयलाई सम्झँदै मूर्तिसँग तुलना गरेर समानता पत्ता लगाउनुस् । यो विज्ञ पाठकको जिम्मा भयो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...