शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : एमसीसी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, देशभर महाशिवरात्रिको रौनक

शुक्रबार, ०९ फागुन २०७६, १९ : ५१
शुक्रबार, ०९ फागुन २०७६

एमसीसी कार्यदल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।

आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाएको  कार्यदलका सदस्य भीम रावलले बताए । 

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको उनले बताए । 

रावलले भने, ‘हामीले सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएका छौँ । पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि केन्द्रीय कमिटी बैठकको भावना अनुसार नै आवश्यक निर्णय हुन्छ ।’ 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो ।

एमसीसीको मुल सम्झौतासँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए ।

महाशिवरात्रि

आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइएको छ । आज विहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गरेका छन् । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका राति तीन बजेदेखि नै खुला गरेको जनाएको छ । 

लाखौँ भक्तजनहरु पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् भने लाखौले दर्शन गरिसकेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ ।

पशुपति मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको कोषको दावी छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यस बर्ष महाशिवरात्रिका दिन १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिको दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको तथा सुरक्षा अवस्था मजबुत बनाइएको छ । सुरक्षका लागि ६ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

त्यसैगरी, आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी बनाइ भजन कीर्तनका साथ सोही आगा्मा प्रसाद बनाइ ग्रहण गर्ने गरीन्छ । 

सेना दिवस

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।  कार्यक्तममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो । 

नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । दिवसका अवशरमा सेनाले टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ ।
सेना दिवस एवं शिवरात्रिका अवशरमा आयोजित कार्यक्रममा सेनाले आफ्नो कौशल देखाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधाानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभमुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको सहभागितामा सेनाले आफ्नो कौशल देखाएको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

नेपाली सेनाले कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रिको बढाईं समेत गरेको छ । त्यसैग्री बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७६ को आकृति समेत प्रस्तुत गरिएको थियो ।

त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभुशा झल्कने विविध कला, नृत्य र संगितको धुन प्रदर्शन गरिएको थियो । सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो ।

सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शन समेत गरेको थियो । सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरिन् ।

सेनाको बढाईं हेर्न टुंडिखेलबाहिर सर्वसाधारणहरुको घुँइचो लागेको थियो । काठमाडौं मलको छतदेखि टुंडिखेल वरिपरि रहेका घरका छत र रुखहरुमा गएर समेत सर्वसाधारणले सेनाको हर्स बढाइ हेरेका थिए । सर्वसाधारणलाई प्रवेश दिने गरिएको छैन् । 

प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा क्रान्तिमा ठुलोठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन् । 

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए ।
उनले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए ।

उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए ।
उनले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए ।

विमानस्थल

प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्रा्ष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौँ विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ । विराटनगर विमानस्थलको सेवा पनि प्रभावीत भएको छ ।

आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्रा्ष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार मौसममा आएको खराबीले खासगरी हिमाली र पहाडी क्षेत्रका विमानस्थल तथा तराईका केही विमानस्थमा उडान सञ्चालनमा कठिनाइ भएको छ ।
  
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ । आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको न्यूनतम नौ दशमलव छ र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

कोरोना 

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन्  ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

चिनियाँ जेल 

त्यसैगरी, चिनियाँ स्वास्थ्य अधिकारीहरुले चीनका कारागारमा पनि यसको सङ्क्रमण देखिएको  बताएका छन् । शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो ।

सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ । 

यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् ।

हुबेईको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको बताइएको छ । हुबेई प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि गरेको थियो । 

भाइरसका कारण चीनको जनजीवन प्रभावित हुदै गएको बताइएको छ । यहाँका विश्वविद्यालय, विद्यालयहरु बन्द छन्, कलकारखाना बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको छ छ । 

कोरोना अमेरिका

अहिले कोरोनाभाइरसबारे गलत जानकारीले अमेरिकामा रहेका एसियाली मूलका र त्यस्तै देखिनेहरुमाथि रङ्गभेदी र अपमानजनक आक्रमणहरु बढिरहेको छ ।

कोरोनाभाइरसको समाचारसँगै मानिसहरुमा एसियाली मूलका देखिने व्यक्तिहरुप्रति डर देखिएको छ । अहिले एसियाली मूलका मानिसहरुले शारीरिक र आर्थिक कष्ट बेहोर्नु परिरहेको बताएका छन् । लस एन्जलस सबवेमा एक थाइमुलकी अमेरिकनमाथी चिनिया भन्दो आक्रमण भएको छ ।

अमेरीकीले गाली गरिरहेको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सो भिडियो भाइरल बनेको छ । त्यस्तै, इन्डियानाको होटलमा दुईजना एसियाली मूलका पाहुनामाथि पनि रङ्गभेदी आक्रमण भएको थियो ।

यता, कोरोनाभाइरस फैलिएसँगै अमेरिकाको चिनियाँ रेस्टुरेन्टहरुको व्यवसाय ठप्प जस्तै बनेका छन् । हालसम्म कोरोनाभाइरसबाट ७५ हजार संक्रमित बनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसजस्तै फ्लूले विश्वभर हरेक वर्ष ३ लाखदेखि साढे ६ लासम्म मानिस मर्ने गरेका छन् । गत सेप्टेम्बर २९ मा सुरु भएको अर्को फ्लुबाट अमेरिकामा हालसम्म १२ हजार मानिसले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरसबाट भने अमेरिकामा १५ जना संक्रमित भेटिएका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप