बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई नेविसंघको चेतावनी : काँग्रेस सरकारमा आएको दिन फुली खोस्छौं

शुक्रबार, ०९ फागुन २०७६, १८ : ०४
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ ।

निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै काठमाडौंस्थित प्रदर्शनीमार्गमा भएको आन्दोलनमा प्रहरीको धरपकडबाट नेविसंघ अध्यक्ष र चार जना महामन्त्रीसहित दजनौँ नेता कार्यकर्ता घाइते भएका थिए ।

त्यसको विरुद्धमा नेविसंघले शुक्रबार प्रदर्शनीमार्गमा गरेको बृहत् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिए । 

‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, काँग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं,’ अध्यक्ष ढुंगानाले भने ।

जनताको तिरोबाट तलब खाने प्रहरीले जनतामाथि नै ज्यादति नगर्न अध्यक्ष ढुंगानाले सचेत गराए ।

‘प्रहरीले खाने तलब ओलीले झापाबाट धान बेचेर ल्याएको पैसा होइन, जनताको तिरो हो । जनताको तिरो खाएर जनताको टाउको फुटाउन उद्दत नहुनुस्,’ उनको भनाइ थियो । 

यस्तै महामन्त्री दीपक भट्टराईले नेविसंघलाई नजिस्क्याउन प्रहरीलाई चेतावनी दिए ।  उनले भने, ‘नेविसंघलाई जिस्क्याउँदा सरकार र सुरक्षाकर्मीले हेक्का राख्दा हुन्छ, के हुन्छ भनेर । त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’ 

बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने भन्दै कानुनी कारबाही अगाडि नबढाउँदासम्म नेविसंघले आन्दोलन जारी राख्ने भटराईले चेतावनी दिए । 

महामन्त्री मनोज वैद्यले नेविसंघका नेता कार्यकर्तामाथि धरपकड गरेर आन्दोलन सकिन्छ भन्ने भ्रममा नपर्न प्रहरीलाई चेतावनी दिए । उनले भने, ‘प्रहरी धरपकड गरेर आन्दोलन दबाउन सकिन्छ कि भन्ने भ्रममा छ । भ्रम नपाल्नुस् । हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’ 

यस्तै अर्का महामन्त्री युवराज पाण्डेले महिला नेतृमाथि पुरुष सुरक्षाकर्मी लगाएर दमन गर्ने प्रहरी अधिकृतविरुद्ध मानवअधिकारवादी संगठन गुहार्ने बताए । 

प्रहरी धरपकडमा अध्यक्ष ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायतलगायत दर्जन बढी नेता कार्यकर्ता घाइते भएका  थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप