शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक लाइट : काठमाडौँमा बल्न थाल्यो, भक्तपुरमा निभेको निभ्यै

शुक्रबार, ०९ फागुन २०७६, १२ : २२
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौँ । काठमाडौँको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकमा ट्राफिक लाइट बिग्रिएको वर्षौँ भए पनि मर्मतमा सरोकारवालाले चासो नदेखाउँदा पैदल यात्रीलाई बाटो काट्न कठिन हुने गरेको छ ।

काठमाडौँका कतिपय स्थानमा ट्राफिक लाइट मर्मत तथा जडान गरी सञ्चालन भए पनि कोटेश्वर–सूर्यविनायक रुटमा भने ट्राफिक प्रहरीले हातको इशाराबाटै सवारी व्यवस्थापन गर्दै आएका छन् ।

फराकिलो र खुला सडकका कारण सो रुटमा सवारी साधनको गतिसमेत तीव्र हुने भएकाले ट्राफिक लाइटको अभावमा सडक अनुशासन पालनामा समेत समस्या हुने गरेको छ ।

विज्ञहरुका अनुसार कोटेश्वर–सूर्यविनायक सडकको गुणस्तर विश्वमै उत्कृष्ट मानिन्छ । २०६७ सालमा निर्माण सम्पन्न भएको उक्त सडकमा २०६९ सालमा विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो । ती ट्राफिक लाइट एक वर्षसम्म राम्रैसँग चले । तर त्यसपछि बिग्रिएका लाइट मर्मतमा सरोकारवालाले चासो नराख्दा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, तीनकुने सल्लाघारी र सूर्यविनायक चोकमा गरी जम्मा पाँच ठाउँमा ट्राफिक लाइट जडान गरिएकोमा हाल नयाँ ठिमीमा मात्र सञ्चालित छ ।

ट्राफिक लाइट किन महत्त्वपूर्ण ?

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट भरपर्दो र व्यवस्थित प्रविधि हो । चोक तथा चौबाटोमा राखिने ट्राफिक लाइटले सवारी साधनलाई आलोपालो गरी गन्तव्यतर्फ पठाउनेदेखि लिएर ती स्थानमा पैदलयात्रीलाई समेत सुरक्षित रुपमा बाटो काट्न सहज तुल्याउँछ ।

करिब तीन दशक राजधानीको ट्राफिक व्यवस्थापनको अनुभव सँगालेका अवकाशप्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार ट्राफिक लाइटले सवारी साधनको गतिलाई समेत नियन्त्रण गर्दछ ।

यस अतिरिक्त सडक सभ्यताको दृष्टिले समेत ट्राफिक लाइट अति आवश्यक हुने उनको भनाइ छ । ‘अहिले प्रविधिको युग हो,’ उनले भने, ‘प्रतिमिनेट एकतर्फी सडकमा २४ वटा ठूलो सवारी साधन र ६२ मोटरसाइकल चल्छन्, अन्य सवारी साधन उत्ति हुन्छन्, यस्तो अवस्थामा हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्नु भनेको व्यवहारिक होइन ।’

ट्राफिक प्रहरीकै छैन भूमिका

सडकमा सवारी व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीलाई दिइएको हुन्छ । कुनै चोकमा सवारी जाम भएको अवस्थामा ट्राफिक प्रहरीको क्षमतामा प्रश्न उठाउने गरिन्छ । तर ट्राफिक व्यवस्थापन कसरी प्रभावकारी हुन्छ, के कस्ता सुधार आवश्यक छ भन्नेबारे ट्राफिक प्रहरीको भूमिका नै निकै कमजोर भएका कारण चाहेर पनि ट्राफिक प्रहरीले सुधार गर्न नसकेको अवस्था छ ।

उदाहरणका लागि कोटेश्वर–सूर्यविनायक कै ट्राफिक लाइटलाई लिन सकिन्छ । वर्षौँदेखि ट्राफिक लाइट बिग्रिएको छ । ट्राफिक लाइटको अभावका कारण चोकमा उभिएर ट्राफिक प्रहरीले हातको इशाराको भरमा सवारी आवागमन सहज तुल्याइरहेका हुन्छन् । तर ती ट्राफिक लाइट मर्मत गरेर सञ्चालन गर्ने सन्दर्भमा ट्राफिक प्रहरी नै अधिकारविहीन छ ।

सडक विभागले ट्राफिक लाइट जडान र मर्मतको दायित्व लिएका कारण ट्राफिक प्रहरीले ट्राफिक लाइट जडान, मर्मत, सडक रेखाङ्कन, जेब्रा क्रसलगायत ट्राफिक व्यवस्थापनसँग सम्बन्धित भौतिक संरचना सुधारका कार्यमा परनिर्भर हुनु परेको हो । जबकि ती विषयहरुको अभावमा यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीमाथि नै चुनौती बढ्ने गर्दछ ।

११ स्थानमा बल्ल ट्राफिक लाइट सूचारु

प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले महानगरीय ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले यता काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा ट्राफिक लाइट बल्न थालेका छन् ।

लामो समयदेखि सञ्चालन हुन नसकेका स्थानमा ट्राफिक लाइट मर्मत तथा केही स्थानमा नयाँ जडान गरेर पछिल्लो समय थप ११ स्थानमा ट्राफिक लाइटमार्फत सवारी आवागमन व्यवस्थापन गरिएको हो ।

यसले गर्दा कतिपय चोकमा सडक अनुशासन सभ्य र मर्यादित हुन थालेको छ । पैदलयात्रुले बाटो काट्नका लागि पालो पाउने गरेका छन् ।

सडक विभागसँग समन्वय गरेर ती स्थानमा ट्राफिक लाइट सञ्चालन गरिएको हो । सडक रेखाङ्कन, जेब्रा क्रस बनाउने सवालमा पनि ट्राफिक प्रहरीले सडक विभागकै भर पर्नु पर्दछ ।

ट्राफिक लाइट, जेब्रा क्रस, रेखाङ्कन लगायतमा बारम्बार आग्रह गरेपछि बल्ल सडक विभागबाट काम थाल्ने परम्पराजस्तै छ । यस्ता कामको जिम्मेवारी ट्राफिक प्रहरीलाई नै दिएको खण्डमा अझ प्रभावकारी परिणाम आउने अवकाश प्राप्त प्रहरी निरीक्षक हाछेथु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप