बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको असर : अमेरिकामा एसियाली मूलकामाथि रङ्गभेदी आक्रमण बढ्यो, चिनियाँको व्यापार ठप्प

शुक्रबार, ०९ फागुन २०७६, १० : ३६
शुक्रबार, ०९ फागुन २०७६

न्यूयोर्कमा मास्क लगाइरहेकी एक महिलालाई एक पुरुषले अपशब्द प्रयोग गर्दै गाली गरे । उता, लस एन्जलिसको सबवेमा एक व्यक्ति चिच्याउँदै थिए, ‘चिनियाँहरु फोहोरी हुन्छन् । ‘अहिलेसम्मका सबै रोग चीनबाट उत्पत्ति भएको हो ।’

अहिले माहामारीको रुपमा फैलिरहेको नोबल कोरोनाभाइरसबारे गलत जानकारीले अमेरिकामा रहेका एसियाली मूलका र त्यस्तै देखिनेहरुमाथि रङ्गभेदी र अपमानजनक आक्रमणहरु बढिरहेको छ ।

‘कोरोनाभाइरसको समाचारसँगै मानिसहरुमा एसियाली मूलका देखिने व्यक्तिहरुप्रति डर देखिएको छ,’ जर्जिया स्टेट विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक रोजालिन्ड चाउले भनिन् । उनका अनुसार एसियाली मूलका मानिसहरुले शारीरिक र आर्थिक कष्ट बेहोर्नुपरिरहेको छ ।

‘हामी एसियाली समुदाय अहिले आक्रमणको तारो बनिरहेका छौँ,’ लस एन्जलिसमै जन्मिएर त्यहीँ हुर्किएका ट्यानी जिराप्रापासुके भन्छिन् ।

जिराप्रापासुके चिनियाँ पनि होइनन् । तर, लस एन्जलिस सबवेमा उनी रङ्भेदी आक्रमणबाट बचिनन् । उनीमाथि चिनियाँहरु रोगको कारक हो भन्दै आक्रमण भयो ।

जिराप्रापासुके थाई मूलकी अमेरिकी हुन् । उनीमाथि एक व्यक्तिले १० मिनेटसम्म गाली बर्साएका थिए । ती व्यक्तिले उनलाई गाली गरिरहेको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सो भिडियो भाइरल बनेको छ ।

उनले भिडियो हालेपछि यस्तै नियति भोग्ने अरु पनि बाहिर आएका छन् ।

उता, गत फेब्रुअरी २ मा न्युयार्कमा एक महिलामाथि यस्तै प्रकारको आक्रमण भएको थियो । उनले मास्क लाएकै आधारमा उनीमाथि रङ्भेदी आक्रमण भएको थियो ।

त्यस्तै, इन्डियानाको होटलमा दुईजना एसियाली मूलका पाहुनामाथि पनि रङ्गभेदी आक्रमण भएको थियो ।

यता, कोरोनाभाइरस फैलिएसँगै अमेरिकाको चिनियाँ रेस्टुरेन्टहरुको व्यवसाय ठप्प जस्तै बनेका छन् । सामान्य दिनमा १०० टेबलसम्म भरिने हुने रेस्टुरेन्टमा अहिले एक दिनमा २० वटा टेबल पनि बिक्री हुँदैन । एक महिनाअघि देखि बुकिङ गरिनुपर्ने रेस्टुरेन्टमा समेत मानिसहरुले भटाभट बुकिङ रद्द गर्न थालेका छन् ।

हालसम्म कोरोनाभाइरसबाट ७५ हजार संक्रमित बनेका छन्  भने २१ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसजस्तै फ्लूले विश्वभर हरेक वर्ष ३ लाखदेखि साढे ६ लासम्म मानिस मर्ने गरेका छन् । गत सेप्टेम्बर २९ मा सुरु भएको अर्को फ्लुबाट अमेरिकामा हालसम्म १२ हजार मानिसले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरसबाट भने अमेरिकामा १५ जना संक्रमित भेटिएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप