केन्द्रीय संस्करण

भाषा चिन्तन: बोध गरौँ मातृभाषाको महत्त्व

person explore access_timeफागुन ९, २०७६ chat_bubble_outline0

सामान्यत: मानिसका मान्य स्वार्थ र चाहनालाई सम्बोधन र संरक्षण गर्नु नै कानुनको मूल उद्देश्य हो । त्यो संरक्षण कार्य अधिकार सुनिश्चितताको रुपमा आउँछ ।

आधुनिक कानुनशास्त्रले मानिसको आर्थिक र सामाजिक उन्न्तिको वकालत गर्ने भएकाले नै वर्तमान कानुनी सम्बोधन र संरक्षणको विषय पनि स्वभावत: आर्थिक-सामाजिक उन्न्तिको विषय वरिपरि नै घुम्छ । 

कुरा आउँछ: के हो आर्थिक र सामाजिक उन्नतिका आधार ?  यसको थुप्रो उत्तर मध्ये सामाजिक उन्नतिको एउटा आधार हो: मातृभाषा । 

सुरुमा भाषाको चर्चा गरौँ । 

भाषा र यसको महत्त्व 

भारतलाई उपनिवेश बनाउनु अघि बेलायती साम्राज्यवादका एक मूख्य सैद्धान्तिक योजनाकार लर्ड थोमस बेबिङ्टन मकाउलेले फेब्रुअरी २, १८३५ मा बेलायति संसदमा गरेको आफ्नो सम्बोधनमा भारत जस्तो उच्च कोटिको नैतिक मूल्य मान्यता बोकेको समाजलाई कब्जा लिने हो भने त्यहाँका आध्यात्मिक र सांस्कृतिक धरोहरलाई समाप्‍त पार्दैं जानु पर्ने जसका लागि त्यहाँको शैक्षिक प्रणाली र संस्कृतिलाई बदल्नु पर्ने कुरा जिकिर गरेका थिए । यहि सुत्रलाई कार्यान्वयन गर्न ब्रिटिशहरुले अंग्रेजी भाषामा पाठ्यक्रम आधारित गर्दै भारतको संस्कृतिको मौलिकता मास्न त्यसको धरोहर (अर्थात्, भाषा) भत्काउने कसरत गरे र आफु र आफ्नो भाषा तथा संस्कृति उच्च कोटिको भन्दै विश्‍वभर दमन गरे। 

भाषा भनेको मानिसको दैनिकीसँग प्रत्यक्ष रुपमा जोडिएको विचार विनिमयको माध्यम हो । तर भाषाको प्रयोजन विचार विनिमयसम्म मात्र सिमित हुँदैन । भाषाले संस्कृति बुझाउँछ, समाज बुझाउँछ । यस तथ्यलाई केहि व्यवहारिक उदाहरणहरुबाट बुझौँ । 

“विथ् ह्याप्पी बर्थडे कम्स केक एण्ड क्यान्डल्स ।” कसैको जन्म दिनमा “ह्‍याप्पी वर्थ डे!” भन्ने चलन हामीले पश्चिमी समाजबाट नक्‍कल गरिरहँदा हामीले जान अन्जानमा केक काट्ने र क्यान्डल निभाउने संस्कृति पनि यही वाक्यसँग भित्र्याएका छौँ । त्यसैले ह्‍याप्पी वर्थ डे भन्ने शुभकामनाको सन्देश मात्र एक्लै आएको छैन। यसले केक र क्यान्डलको संस्कृति पनि सँगै ल्याएको छ। त्यस्तै हामीले ह्यापी बर्थ डे भन्ने शुभकामना सँगै आफ्नो अचेतन मनमा त्यस व्यक्ति बाट “चकलेट” को पनि आशा गरि रहेका हुन्छौ तर “जन्मदिनको शुभकामना” भन्ने शुभकामना अभिव्यक्तिसँग न त केक आउँछ न त मिठाई, यसले केवल भावनात्मक आशिर्वाद प्रदान गर्छ ।

त्यस्तै, यदि तिहारको देउसीको सन्दर्भमा हेर्ने हो भने, हामी देउसी खेल्दा नेपाली भाषाको प्रयोग गर्छौँ। भाका हालेर देउसी भट्‍याउँछौँ। तर नेपाली भाषा बाहेक अन्य भाषाको प्रयोगले देउसी भट्ट्याउने चलनले व्यक्त गर्न खोजेको भाव समेट्दैन । त्यसैले “भन भन भाई हो !” लाई अङ्ग्रेजीमा “से से ब्रदर !” भनेर गाउन त के सोच्दै पनि हामीलाई अनुपयुक्त र हास्यास्पद लाग्छ ।  

भाषाको रिलेटिभिटि सिद्धान्तले भन्छ कि हामीले आफ्नो परिवेश, आफ्नो समाजलाई जुन तरिकाले हेर्छौँ त्यो दृष्टिकोण भाषाका मार्फत् प्रभावित हुन्छ। भाषाले चेतनाको निर्माण गर्छ। चेतनाले प्राथमिकताको (के गर्ने, के नगर्ने?) निर्माण गर्छ। प्राथमिकताले मूल्य मान्यता र मूल्य मान्यताले संस्कृतिलाई टेवा पुर्‍याईरहेको हुन्छ। 

उदाहरणका लागि, “अनुशासन” र “डिसिप्लिन” शब्दलाई हामी अनुवादित पर्यायवाचीको रुपमा लिन्छौँ जुन गलत हो । यी दुई शब्दले भिन्ना-भिन्नै भाव व्यक्त गर्छन् । “डिसिप्लिन” ले दंडात्मक भाव व्यक्त गर्छ: “यसो गर नत्र सजाय होला” ; तर “अनुशासन” शब्दमा “अनु” अर्थात् “आफू” त्तत्व छ । यस शब्दले तिमी आफ्नो मन र बुद्धिलाई सन्तुलित गरेर ठिकको पहिचान गरि काम गर, गलत नगर भन्ने भाव प्रकट गर्छ । 

अर्को उदाहरणको रुपमा प्रोफेसर लेरा बोरोडिट्स्कीको अनुसन्धानलाई लिन सकिन्छ। यो अनुसन्धान उत्तरी अस्ट्रेलियामा बसोबास गर्ने कुक थायोरे जातिको भाषामाथि गरिएको थियो। उनीहरुको भाषामा नेपाली भाषामा भए जस्तो दायाँ-बाँया अघि-पछि लाई ईंगित गर्ने शब्दहरु छैनन्। जसका कारण उनीहरुले कुनै वस्तु दायाँ-बायाँ, अघि-पछि कहाँ छ भन्नुको सट्टा दिशालाई प्रयोग गरेर वस्तु कहाँ छन् भनी छुट्‍याउँछन्। जस्तो कि यदि कसैलाई कलम पर सार भनेर निर्देशन दिनु छ भने उनीहरु "तिम्रो कलम उत्तर उत्तर दक्षिण तर्फ सार" भन्छन्। अथवा कसैको बायाँ खुट्टामा कमिलो रहेछ भन्नका लागि उनीहरु “तिम्रो दक्षिण पूर्वी खुट्टामा कमिलो रहेछ” भन्ने वाक्य प्रयोग गर्छन्। यो भाषामा रहेको यस्तो गुणले उनीहरुबीच सधैँ दिशाप्रति सजग र सचेत रहन प्रेरित गर्छ। नत्र उनीहरुलाई त्यो भाषा प्रयोग गर्न गाह्रो हुन्छ। त्यसकारण यस जातिका व्यक्तिहरुमा यस्तो क्षमता र कौसलहरुको विकास गर्‍यो कि उनीहरुले जुनसुकै ठाउँमा गए पनि सजिलैसँग आफू कुन दिशामा फर्किएको छु थाहा पाउन सक्छन्।

यी उदाहरणहरुले दुईटा कुरा देखाउँछन्: एउटा, लेरा बोरोडिट्स्कीले भने जस्तै हरेक भाषासँग आआफ्नै चिन्तन गर्ने उपकरण हुन्छन । अर्थात् भाषाले हाम्रो सोच्ने तरिका र हामीले संसारलाई हेर्ने दृष्‍टिकोण निर्माण गर्छ । त्यसैले सोच्ने तरिका समाज-समाज बीच भिन्न हुन्छ ।

दोस्रो: भाषा हाम्रो सम्पर्कको माध्यम मात्र नभई हाम्रो संस्कृतिको संवाहक हो। एउटा निश्‍चित भाषाले त्यस सामाजिक समूहसँग सम्बन्धित मूल्य मान्यतालाई प्रतिनिधित्व गर्छ। भाषाले अर्थ बोकेको हुन्छ र भाषासँग जोडिनु भनेको सिधा संस्कृतिसंग जोडिनु हो। एउटा भाषा सिक्नु भनेको त्यस अन्तर्गतका वर्णमाला, शब्दार्थ, व्याकरण सिक्नु मात्र नभई त्यस समाजको बानी व्यहोरा, रितिरिवाज, चालचलन र धर्म संस्कृति पनि सिक्नु हो। 

तसर्थ: थारु भाषा बिना मघौटा नाच रहँदैन । तामाङ भाषा बिना तामाङ सेलो रहँदैन ।

अर्को शब्दमा भन्नु पर्दा भाषाको संरक्षण भनेको त्यस भाषासँग सम्बन्धित संस्कृतिको संरक्षण हो । भाषा र संस्कृतिको यो अन्तर्रक्रियात्मक सम्बन्धले मातृभाषाको महत्त्व र त्यसलाई किन सामाजिक उन्नतिको संज्ञा दिइयो भन्ने बोध गराउँछ । अब कुरा गरौँ हाम्रो कानुनले मातृभाषाको जगेर्नाको लागि के गरेको छ त? 

 मातृभाषा प्रवर्धनको कानुनी पक्ष:

अगाडिका संविधानहरुले राष्ट्रभाषाको रुपमा नेपाली भाषालाई मात्र समेट्दै आइरहेको बेला २०६३ सालको अन्तरिम संविधान र नेपालको संविधान २०७२ ले देशमा बोलिने सबै मातृभाषाहरुलाई राष्ट्रभाषाको संज्ञा दिएको छ र पछिल्लो संविधानले धारा ३१(५) मार्फत मातृभाषामा शिक्षा पाउने अधिकार मौलिक हकको रुपमा पनि समावेश गरेको छ । त्यस्तै धारा ७ ले प्रदेशहरुले नेपाली भाषाको अतिरिक्त सम्बन्धित प्रदेशका बहुसंख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई समेत सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था उल्लेख गरेको पाइन्छ । यी व्यवस्थाहरुले माथि उल्लेखित आधुनिक कानुनशास्त्रको ध्येयलाई आदर गर्न हाम्रो संविधान पछि नरहेको कुरा देखाउँछ ।  

तर सामाजिक कानुनशास्त्रका कानुन विद् रस्को पाउण्डले भने जस्तै कानुनका दुई पाटा: “किताबमा कानुन” र “व्यवहारमा कानुन” को छुट्टा छुट्टै विश्लेषण गर्न आवश्यक हुन्छ । संविधानमा त मातृभाषा सुरक्षित छ, सायद सुरक्षाको उत्कर्षमै छ । तर व्यवहारले छुट्टै कहानि बताउँछ ।

२०६८ को जनगणना अनुसार मगर जातीको करिब १९ लाख जनसङ्ख्या रहे पनि मगर भाषा बोल्नेको सङ्ख्या करिब ८ लाख मात्र छ । त्यस्तै गुरुङका ५ लाख जनसङ्ख्या मध्ये ६१.३० % ले गुरुङ् भाषा बोल्दैनन् । नेवारी भाषा पनि ३६ % नेवार र तामाङ भाषा पनि १२.११% तामाङ ले बिर्सिसकेको कुरा सो तथ्याङ्कले देखाउँछ । 

मातृभाषाको प्रयोग किन घट्दो?

कुरा स्पष्ट छ: मातृभाषाहरुको जगेर्नाको व्यवहारिक “प्रोग्रेस रिपोर्ट” राम्रो छैन । यसका कारण थुप्रै छन् । तर सुरुमा केहि कुतर्कहरुको खण्डन गरौँ । पहिलो तर्क: नेपाली भाषा “विजेताको भाषा” वा “विस्तारवादी भाषा” वा “दमनकारी भाषा” भएकाले अरु भाषा छायामा परेका हुन् । यस तर्कलाई गलत साबित गर्न डा. कमलप्रकाश मल्लको विश्लेषण सान्दर्भिक छ । उनका अनुसार नेपाली भाषा करिब आधा जनसंख्याले बोल्ने भाषाको रुपमा हुनुको मूल कारण अरु होइन, नेपालका भाषामध्ये कुनै पनि यसको उत्तम विकल्प हुन नसक्ने भएकाले हो । अर्थात् राणाकाल र पञ्चायतकालमा अन्य भाषालाई बेवास्ता गरिएको कारण आज अवस्था यस्तो रहन गएको हो । 

त्यस्तै दोस्रो तर्क छ: हिन्दी भाषा तराईको भाषा वा मैथिलीसँग निकट भाषा भएकाले केहि सम्बन्धित प्रदेशको कामकाजको भाषा हिन्दी हुनुपर्छ । तर अंग्रेज भाषाविद् अब्राहम ग्रेयरसनले सन् १८८१ मा गरेको अनुसन्धान हेर्ने हो भने हिन्दी र मैथिलीभन्दा नेपाली र मैथिलीबीच बढी निकटता रहेको छ र यस कुरालाई थुप्रै कानुन विद्हरुले पनि समर्थन गर्दै आएका छन् । यहि सन्दर्भमा डा. विद्दानाथ कोइराला लेख्छन्, “हिन्दी भाषा मधेसको भाषा मार्ने अचुक औषधी हो ।”

तर मातृभाषा प्रयोगकर्ताको घट्दो अवस्थाको वैज्ञानिक वा तर्कयुक्त कारणहरु हेर्ने हो भने अमृत योञ्जन तामाङ जस्ता भाषाविद्हरुका अनुसार वैदेशिक रोजगारीमा जानेका परिवार सहरकेन्द्रित हुन थालेपछि मातृभाषा बिर्सनेको सङ्ख्या बढेको हो । त्यस्तै, संविधानले मातृभाषामा आधारित शिक्षाको अधिकार सुनिश्चित गरेपनि सरोकारवालाले यसको गम्भिरता र महत्त्वको बोध नगरेका कारण यस अधिकारलाई व्यवहारिक स्वरुप दिन नसकिएकाले पनि मातृभाषाको प्रयोग घटिरहेको भन्ने तर्क पनि विद्हरु माझ छ ।

यदि यस्तै कारणलाई आधार मान्ने हो भने अबको जनगणनाले अझ निराशजनक अवस्था देखाउने छ । यसको सांस्कृतिक तथा राजनीतिक दुष्परिणामको बारेमा माथि चर्चा भइसकेको छ । त्यसैले अब मातृभाषा जगेर्नाको लागि उपायहरुका बारेमा चिन्तन गर्नु आजको समयमा अत्यावश्यक कुरा बनेको छ ।

अबको बाटो कस्तो ?

मातृभाषा प्रवर्धन गर्ने एउटा उपाय छ: संविधानको धारा ३१(५) को कार्यान्वयनमा थप सक्रियता । मातृभाषाको मुद्दालाई लिएर प्राय सबै स्वदेशी भाषा विद्हरुको एकमत छ: मातृभाषामा आधारित शिक्षामा जोड । डा. विद्दानाथ कोइरालाका अनुसार “उपनिवेशी भाषा”, “खसको भाषा” भनेर नेपाली भाषा आफै माथि विरोध गरिएको वा आक्रोश पोखिएको होइन । तिनको आक्रोश हो- बालबालिकाले मातृभाषा मार्फत सिक्न पाएनन् । 

विद्दार्थी जीवनको सुरुका वर्ष अथवा प्राथमिक तहसम्म बालक जुन समुदायको हो, त्यहि समुदायको भाषामा पढाई हुने व्यवस्था मिलाउनु पर्छ र यसका लागि आवश्यक व्यवस्था सरकारी तहबाट हुनु पर्छ । 

यति भन्दै गर्दा धेरै प्रश्नहरु मनमा आउन सक्छन्: साझा सम्पर्कको भाषा नेपाली भाषा नपढ्ने ? अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भाषा खोई त ? 

डा. कोइरालाका अनुसार, “मातृभाषा मार्फत मूलधारको भाषामा लानु नै पहिलो तथा अन्तिम काम हो ।” प्राथमिक तहसम्म, अर्थात् कक्षा एक देखि तीन सम्म मातृभाषामा पढाई गरेर नेपाली भाषा र त्यसपछि तेस्रो भाषामा लैजानु वैज्ञानिक विधि समेत हो । शैक्षिक गुणस्तर परिक्षण केन्द्र, सनोथिमी, भक्तपुरद्वारा गरिएको अनुसन्धान अनुसार, आफ्नै मातृभाषामा अध्ययन गर्ने विद्यार्थीहरूको औसत सिक्ने क्षमता अन्य भाषाहरूमा अध्ययन गर्ने विद्यार्थीहरू भन्दा उच्च छ। यी तथ्यहरुलाई पुष्टि गर्ने उदाहरण पनि छन् ।

रुकुम पूर्वको खाम जाति बसोबास गर्ने एउटा गाउँका विद्दार्थीहरुलाई नेपाली भाषा बुझाउन निकै गाह्रो परिरहेको बेला एउटा फरक विधि अपनाइयो । कक्षा १ देखि ३ सम्म मातृभाषा खाम ८० प्रतिशत र नेपाली २० प्रतिशत र त्यस्तै, कक्षा ४ र ५ मा ८० प्रतिशत नेपाली र २० प्रतिशत खाम भाषामा पढाउने गरी पाठ्यपुस्तक तयार पारियो र विद्दार्थीलाई सोहि अनुसार पढाइयो । खाम सँगसँगै नेपाली भाषामा पढाउन थालिएपछि फलत: विद्यार्थीको बुझ्ने र सिकाइको दर बढेको पाइयो । 

अब कुरा आयो अंग्रेजी भाषा को । विद्दार्थी जीवनमा मातृभाषाको पढाईले गर्दा अंग्रेजी भाषा सिकाईमा पछि परिन्छ भन्नु गलत हुनेछ । भाषा विज्ञानमा “क्रिटिकल हाइपोथेसिस एज” भनेर १२/१३ वर्ष सम्मको उमेरलाई चिनिन्छ र यस उमेर भित्र बालकले जुनसुकै भाषा पनि तीव्र रुपमा सिक्न सक्दछन् । तसर्थ मातृभाषा, मूलधारको भाषा र तेस्रो भाषा क्रमश रुपमा सिक्दा विद्दार्थीको बुझाई र बौद्धिकता सकारात्मक असर पर्ने र हरेक किसिमको भाषामा राम्रो पकड हुने वैज्ञानिक तथ्य रहेको छ ।  

सबै मातृभाषालाई हरेक विद्दालयमा पुर्याउने काम अवश्य पनि कठिन छ । यसका लागि सरकारी तथा गैर-सरकारी तहबाट व्यापक अनुसन्धान, विचार-विमर्श आवश्यक छ । आवश्यक शैक्षिक जनशक्ति, पूर्वाधार आदिको विकास गर्नु राज्यको कर्तव्य हो । के यो सम्भव छ ? सम्भव होला वा नहोला तर अत्यावश्यक छ । आखिर समावेशी लोकतन्त्रको नारा के का लागि?

लेखकद्वय काठमाडौँ स्कुल अफ ल मा अध्ययनरत छन्

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...