बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : जम्मा २ मिनेट ३० सेकेण्डको अडियोले गयो मन्त्रीको पद

बिहीबार, ०८ फागुन २०७६, १९ : ०८
बिहीबार, ०८ फागुन २०७६

गोकुल बाँस्कोटाद्वारा राजीनामा

सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । रेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेपछि बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।  बाँस्कोटाले बिहीबार एक ट्वीट गर्दै राजीनामा दिएका जानकारी दिएका हुन् । 

उनले आफ्नोबारेमा प्रश्न उठेकोले प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे आफूले अनौपचारिक जानकारी पाएको बताएका थिए ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी आफूले पाएको जिकिर गर्दै यसबारे लिखित जानकारी आउने बताएका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बाँस्कोटाको बर्खास्तीको माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे जानकारी गराएका थिए । काँग्रेसले राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध गरेको थियो भने पत्रकार सम्मेलनमार्फत पनि बाँस्कोटाको राजीनामा मागेको थियो । यस्तै अन्य दल तथा सामाजिक सञ्जालमार्फत पनि उनले राजीनामा दिनुपर्ने चर्को आवाज उठेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका मन्त्री बाँँस्कोटा राज्यमन्त्री हुुँदै १९ महिना अगाडि सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएका थिए । 

२०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीबाट इन्ट्री गरेका बाँस्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए । 

आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चा र विवादमा समेत आउने गरेका बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि थप विवादमा तानिएका थिए । बार्गेनिङसम्बन्धी सोही २ मिनेट ३० सेकेण्ड लामो अडियोका कारण उनले मन्त्री पद गुमाउन पुगेका छन् । 

प्रधानमन्त्री ओली 
आजै प्रधानमन्त्री ओलीले आफू भ्रटाचारमा संलग्नमाथि निर्मम बन्ने र त्यो व्यवहारमा देखिएको पनि बताएका छन् ।  सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् । उनले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको समेत दोर्होयाए । 

गगन थापाको आक्रोश
त्यसैगरी, कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री बास्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेला सम्म देश आश्वस्त नुहने बताए । 
 प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडि नै सुनेको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बास्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो ?’ भनि प्रश्न गरे । 

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भूसालले बास्कोटाको बर्खास्तीसँगै कारवाही प्रकृया पछि अगाडि बढाउन माग गरिन् ।

 उनले उक्त घटनामा प्रधानमन्त्री स्वयमले संसदमा आएर जवाफ दिनुपर्ने माग समेत गरिन् । 

त्यसैगरी, मन्त्री बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै कांग्रेसले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको थियो । कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउन माग गरे । 

लेखा समिति 

संसदीय समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पूर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम अघि नबढाउन निर्देशन दिएको हो । 

सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको जिटुजी प्रस्ताव प्रतिस्पर्धात्मक नभएको, लागत अनुमान यथार्थ नभएको, स्वीस कम्पनीको प्रस्तावलाई वेवास्ता गरिएको, कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको भन्दै समितिले त्यसबारेमा गहन अध्ययन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । 

यता  सार्वजनिक लेखा समितिले सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत सांसदहरु विरुद्ध भ्रामक समाचार फैलाएको आरोप लगाउँदै २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कार्वाही गर्न निर्देशन दिएको छ ।

बिहीबार समितिका सचिव रोजनाथ पाण्डेले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै विजय प्रकाश मिश्र र प्रकाशकिशोर उपाध्यायले सांसदहरुविरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कार्वाही गर्न निर्देशन दिएका हुन् ।

समितिमा छलफलका क्रममा रहेको सुरक्षण मुद्रण स्थापना सम्बन्धी विचाराधीन रहेको विषयलाई अनावश्यक रुपमा सांसदहरुसँग जोडेर भ्रामक समाचार फैलाएर र चरित्र हत्या गर्ने प्रयास गरेको आरोप समेत समितिले लगाएको छ । 

मिश्र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकरणमा एजेन्टका रुपमा देखिएका व्यक्ति हुन् । जोसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै मन्त्री बास्कोटाले मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।  सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत मिश्रलाई विज्ञको रुपमा बोलाइएको थियो ।

स्वीजरल्याण्ड दूतावासको विज्ञप्ति

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनबारे स्वीजरल्याण्ड राजदूताबासले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी प्रस्तुत गरेको छ । 

बाँस्कोटा र स्वीट्जरल्याण्डका एजेन्ट भनिएका विजय प्रकाश मिश्रबीचको कमिसन सम्बन्धी वार्तालापको अडियो बाहिरिएसँगै सो सम्बन्धमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै दूताबासले प्रेस विज्ञप्तिमार्फत दावी गरेको हो । 
उक्त समाचार प्रति आफ्नो नाम समेत जोडिएर आएको भन्दै नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ । मिश्रसँग समेत दूतावासको कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा दावी गरिएको छ ।  

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

काठमाडौँ । सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् ।

७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । 

यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एक स्वीस एजेन्टसँग ७० करोड कमिसनको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पद गुमाएका हुन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताएका छन् । 

बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रको रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताएका हुन् । 

उनले राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्ने समेत बताए । 

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने र त्यसको आधार निर्माणमा जोड दिए । 

विमानस्थलमा सेवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ । 
संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन् ।  ‘पर्यटन परी’ नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । 

एमसीसी कार्यदल

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउने भएको हो । कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप