शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

बिहीबार, ०८ फागुन २०७६, १६ : ०१
बिहीबार, ०८ फागुन २०७६

–सिबी अधिकारी
काठमाडौं । नमस्कार,  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ ।  यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो । 

साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको ध्यान खिच्यो । सेलीब्रेटी रोबोटसँग फोटो र सेल्फी खिच्नेको भिडै लाग्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि दुई रोबोट पर्यटन परीसँग तस्बिर लिन अघि सरे । उक्त क्षणको त्यहाँ उपस्थित फोटो पत्रकारले तस्बिर कैद गर्ने होडबाजी चल्यो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृश्य अलिक फरक थियो । पर्यटन परी नाम दिइएका दुई रोबोटले विमानस्थलमा आउने पाहुनालाई स्वागत गर्न तम्तयार देखिन्थे । त्यतिमात्रै हैन रोबोटले कार्यक्रम सञ्चालन गरेको दृश्य झनै रोचक बन्यो ।
    
विदेशी पर्यटक तथा स्वदेशी जो कोहीलाई विमानस्थलको आवश्यक सेवा र नेपालको पर्यटकीय गन्तव्यबारे भरपुर जानकारी दिन रोबोटले भूमिका निर्वाह गर्नेछन् । पर्यटनमन्त्री भट्टराईले आज एक कार्यक्रमबीच विमानस्थलमा दुई रोबोटको सेवा शुभारम्भ गरे ।

पाइला टेक्नोलोजी प्रालिले दुई रोबोट निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुरु गरेको हो । नेपालकै प्राविधिक र प्राविधिक जनशक्तिबाट तयार गरिएको रोबोटले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पुग्ने देखिन्छ ।
    
अन्य विकसित मुलुकको तुलनामा नेपालको प्रविधिले फड्को मारेको सन्देश विश्वलाई प्रवाह गर्न यो सेवाले सहयोग पुग्ने नेपाल भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेल बताउँछन् ।    उनले नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने तथा सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्दै नेपाल प्रविधिलाई जोड दिन चाहन्छ भन्ने सन्देश दिन सहयोगसिद्ध हुने उल्लेख गरे । 

पाइला टेक्नोलोजीका संस्थापक कार्यकारी निर्देशक आयुश कँसजुले विमानस्थलमा पुग्ने पर्यटक तथा सर्वसाधारणलाई आवश्यक पर्यटकीय सूचनासाथै विमानस्थलका विविध सेवाको जानकारी उपलब्ध गराउने उद्देश्यले रोबोट स्थापना गरिएको बताए ।

भ्रमण वर्षका सन्दर्भमा नेपालका कुनै पर्यटकीय गन्तव्य, पदयात्रा लगायतको सेवाको जानकारी रोबोटले दिनेछ । मानिसको सहायता लिनुपर्दैन । साथै विमानस्थलमा यात्रुले ब्यागेज काउण्टर, बैंक, सूचना केन्द्र, शौचालय आदि विषयमा जानकारी दिनेछ । नेपालमै पहिलो पटक प्रविधिको प्रयोग गरी जडान गरिएको यो रोबोटले अगाडि आउने र पछाडि जाने गतिविधि गर्छ । विमानस्थलले उपलब्ध गराएको जानकारी र तथ्याङ्कका आधारमा यसले सेवा दिन्छ । पर्यटक शुरुमा विमानस्थल पुग्दा रोबोटको सेन्सरका आधारमा नमस्कार गर्छ । दुवै हात जोडेरै नमस्कार गर्छ ।

सेवा क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले पाइला कम्पनीले सन् २०१७ देखि बैंकिङ तथा रेस्टुराँ क्षेत्रबाट शुरु गरिएको उनले उल्लेख गरे । कम्पनीले पहिलो पटक नेपाल एसबिआइ बैंकमा रोबोट सेवा दिएको थियो । दरबारमार्गस्थित नौलो रेस्टुराँमा रोबोटले सेवा दिन्छ । सन् २०१८ देखि यहाँ रोबोट सेवा शुरु गरिएको थियो । 

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रयासमा विमानस्थलमा रोबोट सेवा शुरु गरिएको हो । दुवै रोबोटको लागत करिब रु २० लाख रहेको बताइएको छ । विमानस्थलको आगमन र प्रस्थान कक्षमा सो रोबोट राखिनेछ ।

रोबोटले नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा कुरा गर्नसक्ने र विमानस्थलमा अलमलमा परेका यात्रु तथा सेवाग्राहीलाई सेवा दिनेछ । यो रोबोटसँग दोहोरो संवाद गर्न सकिन्छ । सेन्सरका आधारमा व्यक्तिलाई पहिचान गर्ने र डिजिटल प्रविधिका आधारमा कुनै व्यक्तिले सोध्न वा जान्न चाहेको विषयवस्तुको जानकारी दिनेछ ।

नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विमानस्थलमा अध्यागमन विभागबाट विकास गरिएको नेपालको ‘पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक पूर्वाधारसहितको अत्याधुनिक अध्यागमन सेवाले विमानस्थलको आधुनिक प्रणालीको सुधारलाई झल्काउँछ । उक्त सेवाको गत माघ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिकका रुपमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । यसले विमानस्थलको स्वरुपलाई नयाँपन दिएको छ । विमानस्थलको सेवालाई आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने काम निरन्तर भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।
    
पर्यटनमन्त्री भट्टराईले विमानस्थलको सेवालाई आधुनिक र विश्वस्तरीय बनाउन क्रमशः सेवा विस्तारका क्रममा रोबोट सेवा एक महत्वपूर्ण प्रयोग भएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल अझै आधुनिक र प्रविधियुक्त हुँदैछ । यात्रुलाई प्रदान गर्ने सेवा र सुविधाको हिसाबले सहयोग बढ्दै गएको छ त्यसको पछिल्लो उदाहरण रोबोट सेवा शुभारम्भ हो’, उनले भने । अहिले परीक्षणका रुपमा शुरु गरिएको यो सेवालाई उपयुक्त ठानिएमा अन्य विमानस्थलमा स्थापित गरिने उनको भनाइ थियो ।

रोबोटले विमानस्थलको सेवालाई थप स्तरीय बनाएको छ । विमानस्थलको अध्यागमन सेवाको अत्याधुनिक प्रविधिको प्रयोग तथा सरसफाइ र सेवासुविधालाई बढाउँदै लैजाने मन्त्री भट्टराईको भनाइ थियो । उनले अझै स्थानको अभाव र कतिपय प्राविधिक समस्याका कारण विमानस्थलले प्रभावकारी सुविधा दिन नसकेको भन्दै छिट्टै सञ्चालनमा आउने गरी निर्माण भइरहेका विमानस्थलको सेवालाई चुस्त र दुरुस्त पारिने उल्लेख गरे । रोबोटले कसरी काम गर्छ भनेर डेमो प्रदर्शनीसमेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप