शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अस्पतालमा अत्यावश्यक छ बाल सघन उपचार कक्ष (पीआइसीयू)’

बिहीबार, ०८ फागुन २०७६, ११ : ५९
बिहीबार, ०८ फागुन २०७६

‘श्वास रहुन्जेलसम्म आश’ भनिन्छ, यो सन्दर्भ परिवार वा आफन्तमा कोही गम्भीर खालको बिरामी भयो भने उपचारमा हरसम्भव प्रयत्न गरिरहेको अवस्थामा मिल्न आउँछ ।

हामी आफू वा आफन्तलाई कुनै जटिल समस्या भयो भने घर खेत बेचेर पनि उपचारमा लाग्छौं र जस्तोसुकै अवस्था आएपनि बचाउने कोसिस गरिरहेका हुन्छौं । यो सामान्य मानविय स्वभाव हो र मानवीय कर्तव्य पनि ।

यस्ता सिकिस्त अवस्थाका बिरामीहरुको उपचारका लागि भनेर अस्पतालहरुले आइसीयू, पीआइसीयू, एनआइसीयू जस्ता सेवा दिँदै आइरहेका हुन्छन् ।

सामान्य अवस्था बाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने भएकाले अस्पतालहरुमा सघन उपचार कक्ष (आइसीयू) अनिवार्य हुनुपर्छ ।

त्यस्तै अस्पतालहरुमा बाल सघन उपचार कक्ष (पीआइसीयू) पनि अत्यावश्यक छ । तर नेपालका थुप्रै अस्पतालहरुले आइसीयू अनि पीआइसीयूको सेवा अझै उपलब्ध गराउन सकिरहेको देखिँदैन ।

आइसीयू तथा पीआइसीयू भनेको जटील र गम्भीर अवस्थाका बिरामीहरुलाई २४सैं घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरुलाई आवतजावत गर्न निषेध गरिएको हुन्छ ।

नेपालका नामचलेका ठूला अस्पतालहरुमै बाल सघन उपचार कक्ष (पीआइसीयू)को सुविधा नहुनु र भएका पनि राम्रोसँग सञ्चालनमा नआउँदा बिरामी मर्कामा परेका घटना बारम्बार सुनिँदै आइरहेको कुरा हो ।

अस्पतालहरुले अनिवार्य आइसीयू, पीआइसीयू संचालन गर्नुपर्ने भएपनि महंगो उपकरण, स्टाफ खर्चलगायतका कारण पनि आइसीयू, पीआइसीयू सञ्चालनमा ल्याउन नसक्दा बिरामी मारमा परिरहेका छन् ।

अझ, नेपालका धेरै अस्पतालमा त बाल सघन उपचार कक्ष पीआइसीयू सेवा नै छैन । यस्तोमा क्रिटिकल अवस्थाका बिरामी बालबालिकाको उपचारमा समस्या आउने गरेको छ । 

तर, हाल संचालनमा आएका नयाँ नयाँ अस्पतालहरुले भने पीआइसीयूलाई पनि विशेष प्राथमिकतामा राखेर सञ्चालन गर्न थालेका छन् । यस्तैमा ललितपुरको भंैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालले १० बेड क्षमताको पीआइसीयू सञ्चालनमा ल्याएको छ ।

सञ्चालन खर्च महङ्गो हुने भएपनि अस्पतालले पुर्याउनु पर्ने मापदण्ड र बिरामीप्रतिको अस्पतालको जिम्मेवारीका कारण पीआइसीयूको सुविधा दिन थालिएको नेपाल मेडिसिटी अस्पतालकी बालरोग विशेषज्ञ डा. अन्ना शर्माले बताइन् ।

किन चाहिन्छ पीआइसीयू ?

बाल सघन उपचार कक्ष (पीआइसीयू) भनेको क्रिटिकल अवस्थाका बिरामी बालबालिकालाई राखेर उपचार गरिने कक्ष हो ।

जन्मेको दुई महिनादेखि १५ वर्षसम्मका बालबालिकामा कुनैपनि खालका कडा संक्रमण भएमा, निमोनिया, दम तथा स्वास प्रश्वासको समस्या भएमा, मुटु, हृदयघातको समस्या भएमा, दुर्घटनामा परेका बालबालिका, ठूलो खालको अपरेशन गरेका बालबालिका, सुगर, डायलोसिस गर्नुपर्ने अवस्थाका मृगौलाका बिरामी बालबालिकाहरुलाई प्रत्यक्ष चिकित्सकको निगरानीमा राखेर उपचार गर्ने गरिन्छ ।

सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र संक्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनु पर्ने डा. अन्ना शर्मा बताउँछिन् ।

जन्मने बित्तिकै वा दुई महिनामुनिका बालबालिकालाई राख्ने ठाउँ भने फरक हुन्छ । जसलाई नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) भनिन्छ ।

सबै बिरामीलाई पीआइसीयूको जरुरत पर्दैन तर जटिल अवस्थाका बिरामीहरु जस्तो कतिमा अक्सिजनको कमी हुन्छ, कतिलाई जटिल खालको शल्यक्रिया गरिएको हुन्छ, मुटु, मृगौला, मधुमेहलगायतका समस्या भएका विरामीलाई छिनछिनमा मुटुको चाल नाप्नुपर्ने, औषधी निरन्तर प्रयोग, खानपिन, सरसफाइइलगायत विशेष निगरानीमा राख्नुपर्ने भएकाले पीआइसीयू मै राखेर उपचार गर्नुपर्छ ।

त्यसैगरी, कतिलाई भेन्टिलेटरको जरुरत पनि पर्दछ । कतिलाई सामान्य अक्सिजन दिएपनि हुन्छ भने कतिलाई अलि कडा खालको अक्सिजनको जरुरत पर्दछ, जस्तोः सी प्याप, बाइ प्याप अक्सिजन दिनुपर्ने हुन्छ । कतिपय बिरामीलाई औषधीको मात्रा अलिकति पनि तलमाथि नगरी दिनुपर्ने हुन्छ यस्तो अवस्थामा चिकित्सक र नर्सको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ ।

सवै अस्पतालमा पीआइसीयू सेवा अनिवार्य छ

क्रिटिकल अवस्थाका बिरामी बालबालिकाको उपचारका लागि अस्पतालहरुमा अनिवार्य छ पिआइसीयू सेवा । तर नेपालका सवै अस्पतालहरुमा पीआइसीयू सेवा छैन र भएकोमा पनि कतिमा प्रशस्त बेड छैन भने कतिमा उपकरण बिग्रिएर समस्या छ, त्यसैगरी कतिमा कर्मचारीको अभावले सेवा सञ्चालन नै नभएका पनि छन् ।

हुन त सवै अस्पतालहरुले पीआइसीयू सेवा दिन नसक्नुको मुख्य कारण भनेको महङ्गो उपचार पद्धति नै हो । पीआइसीयूमा जडान हुने उपकरणहरु निकै महङ्गो हुने भएकाले पनि कति अस्पतालहरुले खरिद गर्न नसकेर यो सेवा दिन नसेको पाइन्छ ।

त्यसैगरी, २४सैं घण्टा चिकित्सक र नर्सले प्रत्यक्ष निगरानी गर्नुपर्ने, औषधी, चेकजाँच, सरसफाइ अनि खानपानको ख्याल गर्नुपर्ने हुँदा पीआइसीयूमा सिङ्गो यूनिट नै खडा गर्नुपर्ने हुन्छ त्यसैले पनि यो अलि खर्चिलो हुन्छ नै ।

वास्तवमा पीआइसीयू सेवा अत्यावश्यक छ । मेडिसिटीले भने बालबालिकाको स्वास्थ्य जोखिमलाई ख्याल गर्दै पीआइसीयू संचालनमा ल्याएको डा.शर्मा बताउँछिन् ।

राजधानी भित्रका धेरैजसो अस्पतालले अहिले पीआइसीयू सञ्चालनमा ल्याए पनि राजधानी बाहिरका धेरै अस्पतालहरुले भने अझै पनि यो सेवा दिन सकिरहेको देखिँदैन । कति अस्पतालमा संरचना नै छैन भने भएकाहरुमा पनि कर्मचारीको अभाव त कतै उपकरण नै नहुँदा समस्या देखिएका छन् ।

अर्को महत्वपूर्ण पक्ष के हो भने पीआइसीयूका लागि बालरोग विशेषज्ञ नै हुनुपर्छ । जसले पीआईसीयूमा दक्षता हासिल गरेका हुन्छन् त्यस्ता चिकित्सक मात्रै पीआइसीयूमा सेवारत हुन पाउँछन् । तर नेपालमा पीआईसीयूमा दक्षता हासिल गरेका चिकित्सकको संख्या ज्यादै न्यून छ । यसकारणले पनि नेपालका अस्पतालहरुमा पीआइसीयूको सुविधा कम देखिन्छ ।

अझ विशेष भूमिका भनेको नर्सको हुन्छ । आइसीयू, पीआइसीयूमा काम गर्नको लागि आइसीयूबारेमा विशेष तालिम लिएको हुनुपर्छ । तालिम प्राप्त नर्सहरुले मात्र आइसीयूमा काम गर्ने अनुमति पाउँछन् । उनीहरुलाई उपकरणहरु चलाउनेदेखि बिरामीको अवस्था र प्रकृतिअनुसार कसरी उपचार र खयाल गर्ने भन्ने राम्रो ज्ञान हुन्छ । यसले बिरामीको स्वास्थ्य अवस्थामा सुधार गर्नमा भूमिका खेल्छ ।

मेडिसिटीमा १० बेडको पीआइसीयू संचालन

नेपाल मेडिसिटी अस्पतालले १० बेडको बाल सघन उपचार कक्ष (पीआइसीयू) संचालनमा ल्याएको छ ।

पीआइसीयू हप्ताको सातै दिन २४सैं घण्टा सञ्चालनमा रहने डा. शर्माले जानकारी दिइन् । मेडिसिटीको पीआइसीयू अन्तर्राष्ट्रिय उपचार मापदण्डअनुसार निर्माण गरि संचालनमा ल्याइएको छ । जहाँ बालरोग विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार हुन्छ ।

मेडिसिटीले बाल सघन उपचार कक्षबारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा नै उपचार गर्ने गरी पीआइसीयू सञ्चालनमा ल्याइएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । उनले मेडिसिटीले सञ्चालनमा गरेको बाल सघन उपचार कक्षमा २४सैं घण्टा बालरोग विशेषज्ञ हुने र तालिम प्राप्त नर्स तथा कर्मचारी हुने बताए ।

खर्चिलो उपचार मानिए पनि पीआइसीयूको अनिवार्यतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको बालरोग विशेषज्ञ डा. शर्मा बताउँछिन् । उनी भन्छिन्, ‘मेडिसिटीले न्यूनतम मूल्य निर्धारण गरेर पीआइसीयू सञ्चालनमा ल्याएको छ । हामीसँग १० बेड र प्रशस्त बालरोग बिशेषज्ञ अनि तालिम प्राप्त नर्सहरु हुनुहुन्छ । विश्वकै उत्कृष्ट उपकरण ल्याएका छौं जसले गर्दा बालबालिकाको उपचारमा कुनै समस्या पनि नहोस् र हामी कहाँ ल्याइएका बिरामी बालबालिकालाई पूर्ण उपचार सेवा प्रदान गर्न सकियोस् भनेर नै पीआइसीयू संचालनमा ल्याएका हौं । बिरामी र अविभावकको प्रतिकृया निकै राम्रो आएकाले हामीले दिने सेवा उत्कृष्ठ छ भन्न सकिन्छ ।’

डा. शर्माका अनुसार पीआइसीयूमा विशेषज्ञ चिकित्सक बाहेक रोगअनुसारका सवै चिकित्सक प्रत्यक्ष सम्पर्कमा रहने र पीआइसीयू चिकित्सकले अन्य विशेषज्ञ चिकित्सकसँगको सहकार्यमा बिरामीको उपचार गर्दछन् ।

पीआइसीयू भन्ने वित्तिकै संक्रमण न्यूनीकरण गर्न वा रोक्न (इन्फेक्सन प्रिभेन्सन)का लागि बिरामी राखिने उपचार कक्ष हो । त्यसैले पीआइसीयूमा एउटा बिरामी बराबर एकजना नर्स राखिन्छ ।

पीआइसीयूमा उपचाररत बिरामी सिकिस्त अवस्थामा हुने हुँदा उनीहरुलाई साधारण औषधीले छुँदैन पनि । कडा खालको औषधी दिनुपर्ने, सन्तुलित आहार दिनुपर्ने, बिरामीलाई प्रयोग गरिएको उपकरण साथसाथै सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने हुँदा विशेषज्ञहरुबाहेक अरुलाई पीआइसीयूमा प्रवेश निषेध गरिएको हुन्छ । पीआइसीयू सेवालाई सबै अस्पतालले अनिवार्य गर्ने र यसलाई सर्वसाधारणको पहुँचमा पनि हुन दिने हो भने गम्भिर बिरामी भएका बालबालिकाको बाच्न पाउने अधिकार सुनिश्चित हुने थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप