केन्द्रीय संस्करण

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ: मन्त्री बाँस्कोटा

person explore access_timeफागुन ७, २०७६ chat_bubble_outline0

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन् ।  सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए ।  

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो । ‘एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ ।’ उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताए ।

निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बाँस्कोटाको भनाइ थियो । 

शिक्षा र भूमिसम्बन्धी सरकारले नयाँ नीति ल्याइरहेको चर्चा गर्दै उनले वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको मालिक जनतालाई बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिइ पर्यटन प्रवद्र्धन गरिनुपर्ने उनले बताए । सरकारले महाकाली, कर्णाली करिडोरको काम अघि बढाउने बताउँदै मन्त्री बाँस्कोटाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले समेत गति लिने बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.