शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विकास बजेट खर्चको प्रगतिबारे समीक्षा हुन्छः मन्त्री पुन

बुधबार, ०७ फागुन २०७६, १७ : २१
बुधबार, ०७ फागुन २०७६

१२ औंं राष्ट्रिय सिंचाइ सेमिनार काभ्रेको धुलिखेलमा बुधबार सुरु भएको छ । 

दुई दिने सम्मेलनको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गरेका छन् ।  सम्मेलन उदघाटन गर्दै मन्त्री पुनले समग्रमा अधिकांश सरकारी आयोजनामा विकास खर्चको प्रगति आशालाग्दो नभएको भन्दै गम्भीर हुन कर्मचारीलाई निर्देशन दिए । 

विगतमा विकास बजेट खर्च हुन नसक्नुलाई राजनीतिक अस्थिरता, कानूनको अभाव, हड्तालजस्ता कारण देखाइने गरिए पनि ती सबै समस्या नभएका बेला विकास खर्चको प्रतिशतमा सुधार आउन नसक्नुको कारण सरकारले खोज्ने उनको भनाइ थियो । ‘५ महिनामा सरकार फेरिन्थ्यो, मन्त्री फेरिन्थ्यो । अस्थिरताका कारण काम गर्न सकिएन भन्ने गुनासो आउँथ्यो’, मन्त्री पुनले भने, ‘अहिले दुई वर्षदेखि एउटै सरकार छ । हामी मन्त्रीहरु छौं । मन्त्रालयका सचिव फेरिएका छैनन् महानिर्देशक फेरिएका छैनन् । तलसम्म कार्यालय प्रमुख फेरिएको छैन । कसैको बन्द, हड्ताल र आन्दोलन छैन । तर, पनि काम किन हुन सक्दैन ? यसको समीक्षा गर्ने बेला आएको छ ।’ 

राजनीतिक स्थिरता भएको, कानूनी अल्झन हटेको तथा बन्द हड्ताल नभएका बेला विकास बजेट खर्च नहुनु गम्भीर भन्दै मन्त्री पुनले राजनीतिक र प्रशासनिक नेतृत्वले एक अर्कालाई आरोपित नगरी समीक्षा गर्नुपर्ने स्पष्ट गरे । 
 प्रणालीमा कतै समस्या नभएका बेला पनि काम नहुनुको कारण कार्यशैलीमा कमजोरी रहेको हुनसक्ने उनको भनाइ थियो । ‘राजनीतिक नेतृत्वको ध्यान विकासमा छ । अरु कुनै समस्या छैन’, मन्त्री पुनले भने, ‘यस्तो अनुकूल समयमा पनि काम हुन नसक्नुको कारण कार्यशैली हो, कार्यशैली सुधार्न जरुरी छ ।’ सम्मेलनमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, कृषि विकास विभाग, जलश्रोत तथा उर्जा आयोग, राष्ट्रिय सिंचाइ तथा जलउपभोक्ता महासंघ, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान (आइडब्लुएमआई), अन्तर्राष्ट्रिय विकास साझेदार, सिंचाइ क्षेत्रमा क्रियाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, सिंचाइ मन्त्रालयका पूर्वसचिव, जलश्रोत तथा सिंचाइ विभागका पूर्वमहानिर्देशकहरु, सिंचाइविद् गरी १ सय ५० जनाभन्दा बढीको सहभागिता छ ।

सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले सेमिनारबाट आउने निष्कर्षका आधारमा आगामी योजना निर्माण गरिने जानकारी दिए । 

यसैबीच ऊर्जा, जलश्रोत तथा सिंचाइ र कृषि मन्त्रालयबीच एकीकृत र बहुउद्देश्यीय आयोजना निर्माणमा मिलेर काम गर्नेबारे छलफल भएको छ । 

अन्तर मन्त्रालय समन्वयमार्फत सरकारका कामलाई प्रभावकारी बनाउने उद्देश्यले उर्जा, जलश्रोत र सिंचाइमन्त्री वर्षमान पुन अनन्त र कृषिमन्त्री घनश्याम भुसालसहित दुवै मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो । उर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्रीद्ववय पुन र भुसालले दुवै मन्त्रालयले गर्ने साझा प्रकृतिका काममा योजना निर्माणदेखि कार्यावयन चरणसम्म मिलेर काम गर्दा प्रभावकारी नतिजा आउने भन्दै सोहीअनुसार अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप