बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान‍्को पार्थिव शरीरलाई पत्नीले दिइन् दागबत्ती, छोरीले काँध

बुधबार, ०७ फागुन २०७६, १६ : १५
बुधबार, ०७ फागुन २०७६

जनकपुर । धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृत्युपछि चितामा दागबत्ती दिएकी छन् ।

सबैला नगरपालिका– २ बस्ने ६५ वर्षीय रामनारायण यादवको निधन भएपछि छोरीहरुले नै काँधमा बोकेर शवलाई मसानघाटसम्म लगेको थिए भने ६२ वर्षीय पत्नी रवियादेवीले दागबत्ती दिइन् ।

मृतक रामनारायण यादवका ५ छोरी छन् । जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका थिए ।

घाटमा पुगेपछि चितामा राखिएको शवलाई ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिएकी थिइन् ।

तराई मधेसमा यस प्रकारका सामाजिक संस्कारमा छोरा नै चाहिने परम्परा छ । छोरा नभएका कारण रामनारायणको शव छोरीहरुले बोकेर घाटसम्म लगेका हुन् भने दागबत्ती पत्नीले दिएकी हुन् ।

सबैला नगरपालिका वडा नम्बर २ बस्ने जगत साहले मृतक यादव प्रत्येक दिन बिहान उठेर सीताराम जप्दै गाउँ घुम्ने र साँझमा दूर्गा मन्दिरमा पूजापाठ एवं आरती गर्ने गरेको बताए । उनका छोरी र पत्नीले गरेको कार्यको प्रशंसा नै जगतले भने, ‘समाजमा परिवर्तन देखापर्नु समय परिस्थिति अनुसार सही हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप