शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढे (विवरणससहित)

बुधबार, ०७ फागुन २०७६, १५ : ५३
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । 

इन्सेकका अनुसार सन् २०१८ मा यस्ता घटनामा ५ हजार १ सय १० जना पीडित भएका थिए । 

यस्तै  मानव अधिकार उल्लङ्घनका घटनामा राज्यपक्षबाट ६८ महिला र ८ सय ६२ पुरुष गरी जम्मा ९ सय ३० जना पीडित भएका र  अन्यपक्षबाट ५ हजार ५८ जना महिला र ६ सय ५४ जना पुरुष गरी जम्मा ५ हजार ७ सय १२ जना पीडित भएको भएको बुधबार इन्सेकले सार्वजनिक गरेको ‘मानव अधिकार वर्ष पुस्तक २०१९’ मा उल्लेख गरिएको छ । 

यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई जना, सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, रुपन्देहीमा एक जना र कपिलवस्तुमा एक जना गरी सात जनाको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख छ । 

यस वर्ष यातनाका घटनामा १३ जना, गिरफ्तारीका घटनामा ७ सय २ जना, जातीय विभेदका घटनामा ६२ जना, अमानवीय व्यवहारका घटनामा ४० जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ जना र धम्कीका घटनामा ३५ जना र कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको छ ।  यसैगरी, यसवर्ष विस्थापनका घटनामा आठ जना र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भएका थिए । 

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६४ जना पीडित भएको उल्लेख छ ।  यस वर्ष बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९ जना, घरेलु हिंसाका घटनामा २ हजार ७९ जना, कथित बोक्सीको आरोपमा ४२ जना, बलात्कारका घटनामा ५ सय ३० जना, बलात्कार प्रयासका घटनामा १ सय ४३ जना, यौन दुव्र्यवहारका घटनामा ६३ जना र बेचबिखन तथा ओसारपसार घटनामा ५१ जना महिला पीडित भएका छन् । 

परिवारका सदस्यबाट १ सय २९ जना महिलाको हत्या भएको छ । गत वर्ष यो सङ्ख्या १ सय २० थियो । भनेजति दाइजो नल्याएको आरोपमा १३ जना महिलाको हत्या भयो भने सोही कारणले ३ सय जना महिला हिंसामा परेको पनि इन्सेकले जनाएको छ । 

इन्सेकले बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ४७ जना बालबालिका पीडित भएको र उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम रहेको औल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप