बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महाशिवरात्रीमा पशुपति दर्शनका लागि बन्यो यस्तो रुट, ५ स्थानमा पार्किङको व्यवस्था

बुधबार, ०७ फागुन २०७६, १५ : ३९
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । महाशिवरात्री पर्वमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आउने भक्तजन तथा दर्शनार्थीलाई सहज, सुरक्षित र छिटो दर्शन गराउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिका अवसरमा नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्तिलाई मेला अवधिभर परिचालन गरिने जनाइएको छ । बुधबार कोषले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार शिवरात्रीमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ ।

यस्तै, नेपाल स्काउटबाट करिब पाँच हजार स्वयंसेवक परिचालन गरिने र उनीहरुले कोर क्षेत्रमा रहेर भक्तजनलाई लाइनमा सहजीकरण गर्ने जनाइएको छ । यसैगरी पशुपति मन्दिर नजिक कोर क्षेत्रमै चिकित्सक, नर्स, औषधि र बेडसहित नेपाली सेनाको मूल्य स्वास्थ्य शिविर रहने र ३३ वटा स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने भएका छन् । एम्बुलेन्स र आपतकालीन व्यवस्थाका लागि दमकलसमेत तयारी अवस्थामा रहने जनाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालका अनुसार दर्शनार्थीका लागि पायक पर्नेगरी विभिन्न चार स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था गरिने भएको छ । कैलाशमुनि रुद्रगाडेश्वर दर्शनमार्गमा, भुवनेश्वरी नजिक, बज्रघर दक्षिततर्फ र राम मन्दिर नजिक गरी चार स्थानमा जुत्ता चप्पल राख्ने कक्ष बनाइने भएको हो ।

यस्तै, विभिन्न पाँच ठाउँमा भक्तजनलाई चन्दन वितरणको व्यवस्था गरिने छ । दर्शन सकेर बाहिर निस्कने स्थान नजिक कोर क्षेत्रभित्र सानो सदावर्त सत्तल अगाडि र बाहिरी क्षेत्रमा उमाकुण्ड, मित्रपार्क, तिलगंगा, गौशालामा चन्दन उपलब्ध हुनेछ ।

शिवरात्रिका अवसरमा हंशमण्डप, वनकालीको खुलास्थान, तिलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकेर विभिन्न एक सय संघ–संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरण गर्नेछन् । साधुसन्तका लागि पनि निःशुल्क भोजन, पानी, चियाका साथै बसोबासको व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका अनुसार उनीहरुलाई चिसोबाट बच्नका लागि धुनीको व्यवस्थासमेत मिलाइएको छ । शिवरात्रिको पर्सिपल्ट उनीहरुलाई बाटो खर्चसहित बिदाइको व्यवस्था गरिने कोषको भनाइ छ ।

पशुपति दर्शनका लागि मार्ग
शिवरात्रीमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दर्शनार्थीको एउटा लाइन हुनेछ भने बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमागी भवन अगाडि भएर चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा दर्शनका लागि रहने जनाइएको छ ।

तिलगङ्गा राम मन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लाइन हुन सक्ने कोषको भनाइ छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरु जुन मार्गबाट मन्दिर प्राङ्गणमा प्रवेश गर्छन्, सोही मार्गबाट फर्कनुपर्ने व्यवस्था मिलाइएको कोषको भनाइ छ ।

पार्किङ तथा ट्राफिक व्यवस्थापन
तिलगङ्गा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त/ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा दर्शनार्थीको चापलाई ध्यानमा राखी एकतर्फ सवारी गुड्न सक्ने व्यवस्थासमेत मिलाइने कोषको भनाइ छ ।

कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका अध्यक्ष योगेश भट्टराईको संयोजकत्वमा एक सय ११ सदस्यीय महाशिवरात्री व्यवस्था मूल समिति गठन गरी सो अन्तर्गत कार्यसम्पादन गर्न ११ उपसमिति गठन गरी योजना तय गरेको जनाएको छ ।


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप