शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट ग्रसित ४४ हजार माथि गरिएको अनुसन्धानले के भन्छ ?

बुधबार, ०७ फागुन २०७६, ०७ : ५०
बुधबार, ०७ फागुन २०७६

चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीसीडीसी) ले यो रिपोर्ट जारी गरेको छ । रिपोर्ट अनुसार ८० प्रतिशत बढी घटना सामान्य छन् ।

आँकडाका अनुसार रोगी र वृद्ध–वृद्धा यो भाइरसको संक्रमणमा आउने सबैभन्दा धेरै खतरा छ ।

शोधमा पत्ता लागेअनुसार यसको उपचार गरिरहेका डाक्टर र स्वास्थ्यकर्मीलाई पनि अत्यधिक खतरा छ ।

चीनको ऊहान शहरको एक अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ ।

५१ वर्षीय ली जिन्मिङ ऊहान शहरमा रहेको वुचाङ्ग अस्पतालका निर्देशक थिए । जिन्मिङ यो भाइरसका कारण ज्यान गुमाउने वरिष्ठ स्वास्थ्य अधिकारीमध्ये एक हुन् ।

हुबेई सबैभन्दा धेरै प्रभावित भएको प्रान्त हो र ऊहान शहर यसै प्रान्तमा छ ।

सिसिडीको रिपोर्ट अनुसार हुबेई प्रान्तमा मृत्यु दर २.९ प्रतिशत छ जबकि पूरा चीनमा मृत्यु दर ०.४ प्रतिशत छ । अनुसन्धानमा पत्ता लागे अनुसार कोरोना भाइरस वा कोभिड– १९ बाट मृत्यु हुनेको दर २.३ प्रतिशत छ ।

मंगलबार जारी गरिएको यो रिपोर्ट अनुसार कोरोना भाइरसले अहिलेसम्म १८ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ७२ हजार ४ सय ३६ यसबाट संक्रमित छन् । चिनियाँ अधिकारीका अनुसार १२ हजार बढी पिडितलाई अहिलेसम्म बचाइएको छ ।

रिपोर्टमा थप के जानकारी दिइएको छ ?

सीसीडीले यो रिपोर्ट सोमबार जारी गरेको हो र यसलाई चिनियाँ जर्नल अफ एपिडेमिओलोजीमा पनि प्रकाशित गरियो । यो रिपोर्ट बनाउनका लागि ११ फेब्रुअरीसम्म भाइरसबाट ग्रसित ४४ हजार बढी व्यक्तिमा अध्ययन गरियो ।

यो भाइरसबारे पहिले जे जति जानकारी थियो यो अनुसन्धानले लगभग त्यहि कुरा पुष्टि गर्छ ।

रिपोर्टमा पाइए अनुसार ८०.९ प्रतिशतमा साधारण संक्रमण देखिएको थियो, १३.८ प्रतिशतमा तीब्र संक्रमण छ र ४.७ प्रतिशतको संक्रमण घातक छ । भाइरसद्वारा संक्रमितमध्ये मृत्यु हुनेको संख्या त कम छ तर ८० भन्दा बढी उमेरका वृद्धवृद्धाको मृत्युदर बढिरहेको छ ।

यदि महिला र पुरुषको कुरा गर्ने हो भने पुरुषको मृत्युदर २.८ प्रतिशत छ भने महिलाको मृत्युदर १.७ प्रतिशत छ ।

रिपोर्टमा पाइएअनुसार मुटु रोगी, मधुमेह रोगी, सास फेर्न समस्या भएकाहरु र हाइपरटेन्सनका बिरामीहरुमा यो भाइरस फैलने अत्यधिक खतरा छ ।

यस्तै, उक्त रिपोर्टले अहिलेसम्म ३ हजार १९ स्वास्थ्यकर्मी यसको शिकार भएको जसमध्ये ११ फेब्रुअरीसम्म १७ सय १६ संक्रमित पुष्टि भइरहेको जानकारी दिएको छ ।

यो रिपोर्टले भविष्यबारे के बताउँछ ?

रिपोर्ट अनुसार कोरोना भाइरस सबैभन्दा धेरै २३–२६ जनवरीको बीचमा फैलियो तर त्यसपछि यसमा क्रमशः कमी आउन थाल्यो । रिपोर्टका अनुसार भाइरसको प्रभावमा कमी आउनुको अर्थ पूरा शहरलाई अलग्ग्याउने, विभिन्न च्यानलमा यो भाइरस बारे प्रचार प्रसार गर्ने र शीघ्र कारवाहीको असर परिरहेको छ ।

तर शोधकर्ताले धेरै मानिसहरु लामो छुट्टीबाट फिर्ता हुँदैछन् त्यसकारण यो भाइरस पुनः तीब्र रुपमा फैलनबाट रोक्नका लागि तयारी गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।

क्रुजमा के भइरहेको छ ?

चीनबाट निस्किएर यो भाइरस अन्य देशमा पनि फैलिसकेको छ । कम्तीमा दुई क्रुजमा यात्रा गरिरहेका व्यक्तिहरु यसबाट संक्रमित भएको पुष्टि भइसकेको छ ।

जापानको योकोहामा बन्दरगाहमा डायमन्ड प्रिन्सेस नामको एउटा क्रुजलाई तीन फेब्रुअरीबाट अलग राखिएको छ । क्रुजमा सवार हङ्गकङ्गका एक व्यक्तिमा यो भाइरस देखिएपछि यस्तो गरिएको थियो ।

यो क्रुजमा करिब ३७ सय व्यक्ति छन् जसमध्ये ४ सय ५० बढी यो भाइरसबाट ग्रसित छन् ।

मंगलबार दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई बाहिर निकाल्ने निर्णय गर्‍यो । यसअघि क्यानडा, अष्ट्रेलिया, ब्रिटेन, इजराइल र हङ्गकङ्गले आफ्ना नागरिकलाई  त्यहाँबाट बाहिर निकालिसकेको छ ।

अर्को एउटा जहाज एमएस वेस्टरड्यामलाई एशियाका थुप्रै बन्दरगाहमा बस्न अनुमती दिइएन । अधिकारीलाई जहाजमा सवार व्यक्तिहरु कोरोना भाइरसको शिकार  त थिएनन् भनेर शंका थियो ।

अन्त्यमा उक्त जहाजले कम्बोडियामा बस्ने अनुमती पायो । उक्त जहाजमा सवार कसैमा पनि भाइरसको संक्रमण नदेखिएको पनि पुष्टि गरियो । जहाजबाट निस्किएका व्यक्तिलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन आफैंले स्वागत गरे ।

तर केही दिनपछि उक्त जहाजमा भएकी एक महिला जब मलेशिया पुगिन् तब उनमा संक्रमण देखियो । त्यसपछि उक्त जहाजमा सवार सबै यात्रीको खोजी भइरहेको छ । कोही मेलेशिया, थाइल्याण्ड गए त कोही अमेरिका र क्यानडा । थुप्रै देशले उक्त जहाजमा सवार कुनै पनि विदेशीलाई आफ्नो देशमा प्रवेशका लागि अनुमती नदिइने घोषणा गरेका छन् ।

जहाजमा अहिले पनि २ सय ५५ यात्री र ७ सय ४७ चालक दलका सदस्य छन् र ४ सय बढी यात्रीलाई राजधानीको एउटा होटलमा राखिएको छ  र उनको परीक्षणको नतिजाको प्रतिक्षामा छन् ।

बीबीसीबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप