प्रेस रिभ्यू : प्रधानमन्त्रीको एक महिनाभित्र मृगौला प्रत्यारोपणको तयारी
आज फागुन ७ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सार्वजनिक जग्गामा अनियमितता, प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण, चीनबाट फर्किएका नेपालीको अवस्था लगायतका समाचारहरु प्रकाशित छन् ।
प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको नयाँ पत्रिका दैनिकमा समाचार छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ । उपचारमा संलग्न डा. अरुण सायमीले नयाँ पत्रिकासँग भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ ।’ चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौँ,’ डा. सायमीले भने । चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ । एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तानातानमा माधव नेपाल परेको कान्तिपुर दैनिकमा समाचार छ । पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपाल निवास पुगे र भलाकुसारी गरे । त्यही साँझ नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग उसैगरी छलफल भयो । गत माघ १९ गते सकिएको नेकपा केन्द्रीय कमिटी बैठकपछि नेपाललाई भेट्न र छलफल गर्न दुवै अध्यक्ष उत्तिकै सक्रिय देखिन्छन् । ‘अहिले उहाँलाई आ–आफ्नो टिममा पार्न दुवै अध्यक्षले प्रयास गरेझैं देखिएको छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘एउटा अध्यक्षले भेटेपछि अर्को अध्यक्षले भेटिहाल्ने या आफ्ना दूतलाई भेट्न पठाउने क्रम बढेको छ ।’ ओली पक्षले नेपालमाथि ‘फकाउने’ र ‘तर्साउने’ दुवै अस्त्र प्रयोग गरिरहेको जानकार स्रोतहरूले उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एउटा सन्देश स्पष्ट मिल्यो, अब आफ्नो मात्रै निर्णयबाट पार्टी चल्न मुस्किल छ । त्यो ठम्याइले उनलाई लामो समयदेखिको नेपालसँगको संवादहीनता तोड्न उद्यत गर्यो । सम्भवतः त्यही कारण बैठकलगत्तै पहिलो ‘वन अन वन मिटिङ’ नेपालसँगै गरे । माघ २० गते करिब चार घण्टा लामो छलफलमा ओलीको प्रस्ताव ‘अब मिलेर जाऔं’ भन्ने रहेको र त्यसमा नेपालले संशय व्यक्त गरेको उनीहरूनिकट स्रोतहरूको भनाइ छ । प्रधानमन्त्री ओलीले सोमबार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नियुक्त गरे । तुम्बाहाङ्फे मन्त्री बन्दै छिन् भन्ने गाइँगुइँ त पहिलेदेखि नै थियो तर पार्टीभित्र निर्णय भइसकेको थिएन । पछिल्लो समय त्यस विषयमा दुई अध्यक्षबीच छलफल पनि भएको थिएन । मन्त्रिपरिषद् विस्तारबारे ओलीले आफूलाई एक पटक पनि नबताएको भन्दै दाहालले नेपालसँग सोमबारको भेटमा दुखेसो गरे । ‘यति सानो कुरामा त उहाँले यस्तो गर्नुहुन्छ, ठूलै प्रभाव पार्ने कुरा भयो भने के होला ?’ दाहालले उनलाई भने । सोमबार दिउँसो नेपालसँग लामो संवाद गरेका दाहालले साँझ ओलीसँग करिब तीन घण्टा बिताए ।
सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ। संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारविरुद्ध परेको रिटको प्रतिवाद गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । छिमेकी भारतले नेपालका पश्चिम–उत्तरतर्फ पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको भूभाग अतिक्रमण गरेकाले वास्तविक नक्सा यकिन गरी सार्वजनिक गर्न तथा नेपालको नक्सामा सबै भूभाग समेट्न संविधान संशोधनको मागसहित दायर रिटमा कार्यालयले यस्तो जवाफ पठाएको हो। सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट सचिव डिल्लीराज घिमिरेले गत माघ १३ गते पठाएको जवाफमा सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा पेस गरेका दस्तावेजसहितका कागजातसमेत संलग्न छ। मन्त्रालयमार्फत गोप्य खामबन्दीमा यी ‘डकुमेन्ट’ पेस गरिएको छ। भारतले अतिक्रमण गरेको मेचीदेखि महाकालीसम्मको भूभाग, भारत सरकारले प्रकाशन गरेको नक्सा र लिम्पियाधुरा नेपालको नक्सामा अंकन नगरेको नापी विभागको नक्सासमेत बदर गरी वास्तविक भूभाग खुलाउन परमादेश मागसहित वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले रिट दिएका हुन्। नेपालको संविधानको धारा ९ को उपधारा (२) बमोजिमको अनुसूची–३ मा उल्लेख भएको नक्सामा लिम्पियाधुरासहितको क्षेत्रफल समावेश गर्न संविधान संशोधनका लागि संसद्मा विधेयक पेस गरी भारतसँग भएका असमान सन्धिसम्झौता खारेजीका लागि अविलम्ब प्रक्रिया सुरु गर्नसमेत भण्डारीले सर्वोच्चसँग माग गरेका थिए। उक्त रिटमा गत पुस १४ गते सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो।
ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुबारेका गोप्य फाइलसहितका कागजात खोतल्न सुरु गरेको नागरिक दैनिकमा समाचार छ। विशेष अदालतमा शुक्रबार मुद्दा दर्तापछि सिआइबीले सम्बन्धित व्यक्ति तथा कार्यालयहरुबाटै कागजी प्रमाण झिकाएर भित्री अनुसन्धान सुरु गरेको हो। सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले अनुसन्धानका क्रममा गोप्य फाइल अध्ययन गर्नुपर्ने बताए। उनका अनुसार सिआइबीले गर्ने बाँकी अनुसन्धानको पाटो मुख्यतया कागजी फाइल नै हुनेछ। पुराना फाइल तथा दस्तावेजमात्रै नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआइबीको छ। अनुसन्धानका लागि सरकारी निकायबाट पत्र झिकाउने कार्य सुरु भएको छ। ‘गहन कागजपत्र र अध्ययनपछि मात्रै यसको सत्यतथ्य बाहिर आउन सक्छ। हामीले कागजातलाई मुख्य आधार बनाएका छौं,’ उनले भने, ‘सक्दो छिटो अनुसन्धान सकिन्छ। अहिले सरकारी निकाय तथा व्यक्तिहरुबाटै हामीले दस्तावेज माग गरिरहेका छौं।’ उनले ककसलाई पक्राउ गर्ने भन्नेबारे योजना बनिसकेको तर त्यसलाई अहिले सावर्जनिक गर्न नमिल्ने बताए। ‘किर्ते गरी सरकारी जग्गा हिनामिना गरेको भन्दै शुक्रबार ब्युरोमा किटानी जाहेरी परेको छ,’ पाण्डेले भने, ‘यसमा गहन र संवेदनशील तवरले अनुसन्धान हुन्छ।’
राज्यले दिने सम्मानको ओज घट्दै गएपछि विभूषण नलिनेको संख्या बढेको नयाँ पत्रिका दैनिकमा समाचार छ । विवादित व्यक्तिहरूले धमाधम विभूषण पाउन थालेपछि यसप्रति आकर्षण घटेको हो । छनोट वस्तुपरक र निष्पक्ष हुन नसक्दा विभूषणको ओज र औचित्य घट्दै गएको निष्कर्षमा गृह मन्त्रालयसमेत पुगेको छ । सोही आधारमा गृह मन्त्रालयले अब एक वर्षमा बढीमा दुई सयजनालाई मात्र विभूषण दिने भएको छ । गृहले नियमावली नै संशोधन गरी संख्या घटाउन लागेको हो । गत असोजमा सरकारले ६ सय ३४ जनालाई विभूषण दिने निर्णय गरेको थियो, जुन हालसम्मकै ठूलो संख्या हो । जसमा धेरैजसो सत्तारुढ दलनिकट र कर्मचारी छन् । विवादास्पद र राज्यलाई योगदान नै नदिएका व्यक्तिहरूसमेत परेपछि आलोचना भएको थियो । छनोटको प्रस्ट मापदण्ड हुन नसक्दा विभूषण विवादित बन्दै गएको हो । गृह मन्त्रालयले बढीमा दुई सयलाई मात्र दिने नियमावली मन्त्रिपरिषद्मा पेस गरिसकेको छ । नयाँ नियमावलीमा विभूषण छनोटलाई पनि थप पारदर्शी बनाउन लागिएको छ । सरकारले संविधान दिवसको अवसरमा विभूषण दिने निर्णय गर्छ भने नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट मादपदवी र अलंकार सुशोभन गरिन्छ । पदक भने गृह मन्त्रालयले सम्बन्धित व्यक्तिलाई दिने गर्छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो । फेसबुकमार्फत प्रहरीलाई आएको सूचना आत्महत्याको प्रयास गरिरहेको एउटा लाइभ भिडियोसँग सम्बन्धित थियो । फेसबुकले दिएको सूचनाका आधारमा सिआईबीले कालीमाटी नजिकैको रहेका एक युवाले आफूलाई बाच्न मन नलागेको त्यसैले आफूले आफैलाई सिध्याउने प्रयास गरिरहेको भन्दै आफूले आफ्नै छातीमा चक्कु प्रहार गर्दै फेसबुकमा लाइभ गरिरहेका थिए। सूचना पाउने बित्तिकै डीएसपी पशुपति राय नेतृत्वको टोलीले टेक्निकल इन्टेलिजेन्समार्फत फेसबुक प्रयोगकर्ताको लोकेसन यकिन ठेगाना पत्ता लगायो। प्रयोगकर्ता कालीमाटी छेउको रविभवनमा रहेको पत्तो पाएपछि सिआईबीले महानगरीय प्रहरी वृत्त कालीमाटीलाई घटनाबारे जानकारी दियो। वृत्तका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले आत्महत्याको प्रयास गरिरहेका युवाको घर पत्ता लगाउन एकछिन समय लगायो। लगत्तै दोस्रो घरको भुइँतलामाती युवा भेटिए। जसले आफैंमाथि चक्कु प्रहार गर्दै लाइभ गरिरहेका थिए। वृत्तको टोलीसँगै सिआईबीको टोली पनि उक्त घरमा पुगेको थियो। सिआईबीका अनुसार फेसबुकबाट सूचना पाएको एक घन्टा पनि नबित्दै प्रहरीले आत्महत्याको प्रयास गरिरहेका युवाको डेरामा पुगेको थियो। प्रहरीले आमासँग डेरामा बस्दै आएका ती २९ वर्षीय युवा डिप्रेसनको सिकार भएको अनुमान गरेको छ। विज्ञापन एजेन्सीमा काम गर्नेती युवाले प्रहरीलाई अष्ट्रेलियामा रहेकी प्रेमिकालाई लामो समयदेखि भेट्न नपाएको बताएको कान्तिपुर दैनिकमा समाचार छ ।
ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको हो। यस हिसाबले संघमा आबद्ध उद्योगले किसानबाट मासिक ४९ करोड रुपैयाँ नाफा लिएका छन्। संघले माघ १८ गते ब्रोइलरतर्फको प्रतिगोटा चल्लाको मूल्य ७० रुपैयाँ तोकेको छ। कुखुरापालक किसानले प्रतिगोटा ७५ रुपैयाँमा खरिद गरिरहेका छन्। माघ १० मा संघले चल्लाको मूल्य ४० रुपैयाँ तोकेको थियो। संघमा आबद्ध तीन सय आठ ह्याचरी उद्योगबाट एक सातामा ३५ लाख चल्ला उत्पादन हुन्छ। यसलाई ४० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड रुपैयाँ आम्दानी हुन्छ। तर संघले सिन्डिकेट कायम गरी ७५ रुपैयाँ मूल्य तोकेर किसानबाट एक सातामा सवा १२ करोड रुपैयाँ असुल गरेको राष्ट्रिय कुखुरा पालक संघर्ष समितिको आरोप छ। ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेल भने संघले चल्लाको बिक्री मूल्य नतोकेको दाबी गर्छन्। संघले चल्ला उत्पादक उद्योगलाई ७० रुपैयाँ घटीमा बिक्री नगर्न धम्की दिएको छ। पोखरेलले ५५ देखि ६५ रुपैयाँमा चल्ला बिक्री भइरहेको दाबी गरे। ‘संघले चल्लाको मूल्य तोक्दैन’, उनले भने, ‘चल्ला उत्पादक उद्योगले लागत मूल्यअनुसार मूल्य तोक्ने गरेका छन्। हामीले यही मूल्यमा चल्ला बिक्री गर्न दबाब दिएका छैनौं।’ संघले चल्लाको मूल्य माघ ११ मा दोस्रो पटक प्रतिगोटा ५० रुपैयाँ र माघ १४ मा तेस्रो पटक प्रतिगोटा ६० रुपैयाँ तोकेको थियो। राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका अध्यक्ष विष्णु खड्काका अनुसार देशभर ७५ रुपैयाँभन्दा कम मूल्यमा चल्ला खरिद गर्न पाइँदैन। सोही चल्ला दाङमा ९० र पोखरामा ८० रुपैयाँ पर्छ। ‘सिन्डिकेट नभएको भए ४० देखि ४५ को हाराहारीमा चल्ला खरिद गर्न पाउनुपर्ने हो’, खड्काले भने, ‘तर ह्याचरी संघ, दाना उद्योग संघ र पोल्ट्री व्यवसायी महासंघको मिलेमतोमा प्रतिचल्ला ७५ मा पुगिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न