शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा फैलिएको कोरोना भाइरसबारे नयाँ तथ्य सार्वजनिक

मङ्गलबार, ०६ फागुन २०७६, २३ : १५
मङ्गलबार, ०६ फागुन २०७६

एजेन्सी । चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन् । 

गत वर्ष मध्य चीनको ऊहान शहरमा देखा परेकोले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका एक हजार ९०० व्यक्तिको मृत्यु भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको सङ्क्रमण पुष्टि भएको छ ।

चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा सङ्क्रमण पुष्टि भएका, आशङ्का गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार ३१४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो । अधिकांश विरामीले आफूलाई कतिवेला सङ्क्रमण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भैसकेको भेटिएको जनाएका थिए ।

यो डिसेम्बरमा प्रकोप शुरू भएको नयाँ कोरोना भाइरसका बिरामीहरूमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन् । यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सीसीडीसी)द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका बिरामीमा यसको सङ्क्रमण धेरै देखिएको छ । 

अध्ययनले ८०.९ प्रतिशत सङ्क्रमणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई गम्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ । सङ्क्रमणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ ।  यो उमेर समूहका नागरिकको मृत्यु कोरोना भाइरसबाट सङ्क्रमित कूल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ । 

अध्ययन अनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोरोना भाइरसको जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीहरूमा पनि जोखिम उच्च देखिएको छ । 

कोरोना भाइरसका कारण मृत्यु हुनेमा नौ वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ । तर दुई शिशुमा उनीहरूको आमाबाट सङ्क्रमण भएको थियो । त्यस्तै नौ देखि ३९ वर्ष उमेर समूहका नागरिकमा सङ्क्रमणको प्रतिशत ०.२ रहेको उल्लेख छ । सङ्क्रमणको जोखिम उमेरले जति पाको भयो त्यति बढी भेटिएको छ । नयाँ कोरोना भाइरसको सङ्क्रमण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

सङ्क्रमणका कारण मृत्यु हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल विरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन् । भाइरसका कारण समग्रमा मृत्यु दर २.३ प्रतिशत रहेको छ ।

सङ्क्रमित व्यक्तिको ८६ प्रतिशत व्यक्ति कि त वुहानका वासिन्दा रहेको वा ऊहान भ्रमण गरेका भेटिएको छ । ऊहानको जङ्गली जनावरको मासु बेच्ने ‘सीफुड’ बजार नै समस्याको मुख्य कारण भएको बताइएको छ । समस्या उत्पन्न भएको भनिएको चीनको मध्यक्षेत्रको हुबेई प्रान्तको राजधानी र वरपरका क्षेत्रलाई जनवरी २३ गतेदेखि अन्य क्षेत्रको प्रत्यक्ष सम्पर्कबाट अवरूद्ध बनाइएको छ ।

रिपोर्टमा कूल तीन हजार १९ जना स्वास्थ्यकर्मीहरूको लक्षणका आधारमा सङ्क्रमण परीक्षण भएको र यसमध्ये एक हजार ७१६ जनामा सङ्क्रमण पुष्टि भएको छ । फेब्रुअरी ११ सम्ममा पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो भने मङ्गलबार ऊहानमा रहेको एक  अस्पतालका निर्देशकको मृत्यु भएको छ । 

तथ्यांकअनुसार स्वास्थ्यकर्मीमध्ये  एक हजार ६८८ लाई गम्भीर खालको सङ्क्रमण देखिएको छ भने उनीहरूमध्ये अधिकांश अर्थात् ६४ प्रतिशत स्वास्थ्यकर्मी वुहानमा कार्यरत हुन् । तर सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या जनवरी २८ मा ३८.९ प्रतिशत पुगेकोमा फेब्रुअरीको पहिलो सातामा नै १२.७ प्रतिशत झरेको थियो । 

ऊहानका एक आँखा रोग विशेषज्ञ लि वेनलियाङलाई भाइरसबारे बाहिरी बजारमा हल्ला फैलाएको भन्दै ‘अधिकारीले सजाय दिएका कारण’ मृत्यु भएको भन्ने पश्चिमी मुलुकका कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लि वेनलियाङलाई पनि कोरोनाको सङ्क्रमणका कारण उपचार हुँदै गर्दा मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

रोको प्रकोप जनवरी २४ देखि २६ सम्ममा उच्च विन्दुमा पुगेको तर पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ । नयाँ रोगी आउने क्रम फेब्रुअरी ११ पछि घट्दो क्रममा रहेको छ ।

नयाँ वर्ष मनाउन लाखौँ चिनियाँहरू घर फर्केका कारण भाइरस देशभर फैलिएको थियो । विज्ञहरूले धेरै मानिसहरू बिदाबाट फर्किदा देशले ‘महामारीको सम्भावित पलटाव’ को लागि तयारी गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरसले ‘समय बित्दै जाँदा अझ बढी विषालु बन्न सक्छ’ भन्ने रिपोर्टले चेताउनी दिन्छ र डाक्टरहरुलाई ‘सतर्क रहन’ आग्रह गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप