केन्द्रीय संस्करण

प्रजातन्त्र दिवस विशेषः ‘शहीद चन्ददेखि पन्तसम्मको स्मरण’

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0
file photo

-शेरबहादुर सिंह र विनोदसिंह विष्ट
भीमदत्तनगर। विसं २००७ को प्रजातन्त्र प्राप्तिको क्रान्ति पूर्व सुदूरपश्चिम प्रदेशमा शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, शहीद भीमदत्त पन्त र एण्डीप्रकाश चटौतको नाम सधैँ अग्रपङ्क्तिमै आउँछ । कञ्चनपुरको भीमदत्तनरस्थित सुदूरपश्चिमाञ्चलका पूर्व डीन डा टेकराज पन्तले प्रजातन्त्र प्राप्ति र तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध सुदूरपश्चिमको भूमिका पनि ऐतिहासिक रहेको बताउँछन् ।
    
‘त्यो बेला द्वारिका ठकुरानी, रामसिंह रावल, शिवराज पन्त, दुर्गाप्रकाश जोशी, खेमराज जोशी र एण्डीप्रकाश चटौत प्रजातन्त्रको लडाइँमा समकालीन हुन्’, डा पन्तले भने, ‘तत्कालीन बुद्धिजीवीदेखि यहाँका अग्रज नागरिकको पनि अहम् भूमिका छ ।’

पछिल्लो समय शहीद घोषणाको रफ्तारप्रति असहमति जनाउँदै उनले शहीद घोषणाको छुट्टै अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताए । ‘मुलुक, समाज र परिर्वतनका लागि आहुति दिने सबै श्रद्धाका पात्र नै हुन्’, उनले भने, ‘सस्तो लोकप्रियताका लागि शहीद घोषणा गरेर वास्तविक चार शहीदको अपमान गर्नु हुँदैन ।’

त्यसैगरी बैतडीस्थित शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले समाज परिर्वतन र मुलुकका लागि शहीद चन्दले निभाएको भूमिका शब्दले वर्णन गर्न नसकिने बताए ।

बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा जन्मिएका शहीद दशरथचन्दको जन्म विसं १९६० असार १७ गते भएको थियो । कक्षा ५ सम्म बैतडीमै पढाइ गरेका शहीद चन्दले कक्षा १० (मेट्रिक) सम्म भारतको अल्मोडा पढेका थिए । त्यसपछि १९७७ कक्षा १२ सम्म पनि उहाँले भारतकै वनारसमा पढ्नुभएको उपाध्यक्ष चन्दले बताए ।

‘विद्यार्थीकालमै भारतले अङ्ग्रजकाविरुद्ध ‘भारत छोड अभियान’ सञ्चालन गर्दा दासत्वकाविरुद्धको आन्दोलन भएकाले त्यसको प्रभाव शहीद चन्दमा पनि प¥यो’, प्रतिष्ठानका उपाध्यक्ष चन्दले भने, ‘मुलुकमा राणा शासनविरुद्धको लडाइँ पनि स्नातक तहको अध्ययनबाट काठमाडौँमा शुरु गर्नुभएको थियो ।’
    
काठमाडौँको बसाई विसं १९८५ को मध्यतिर क्रान्तिकारी विचारधारा लिएर काठमाडौँ आएका चन्द तत्कालीन चिफ साहेव रुद्र शमशेरको सम्पर्कमा पुगे । विसं १९९० मा रुद्र शमशेर पाल्पा धपाइए । त्यो बेला सम्मद दशरथचन्द राणाका कट्टर विरोधी भइसकेका थिए । त्यति बेला उनी काठमाडौँ छोडेर भारततर्फ लागे । 

विसं १९९० को अन्त्यतिर बारा जिल्लाको मावादहमा चन्दको जम्काभेट टङ्कप्रसाद आचार्यसँग भयो । नेपाललाई राणाशासनबाट मुक्त गराउन दशरथचन्द, टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, धर्मभक्त, चूडाप्रसाद शर्माजस्ता नवयुवक मिलेर विसं १९९३ जेठ २० गतेको शुभ दिनमा नेपाल प्रजापरिषद् नामक भूमिगत राजनीतिक संस्थाको स्थापना काठमाडौँ धर्मभक्तको घरमा गरेका थिए । 

शहीद चन्दको नामबाटै बैतडीमा नगरपालिका र डडेल्धुरादेखि झुलाघाटसम्म राजमार्गको नामकरण गरिएको छ भने धनगढी, भीमदत्तनगर, काठमाडौँ, डडेल्धुरालगायतका स्थानमा शालिक स्थापना गरेर उहाँप्रति सम्मान गरिएको छ ।
    
े‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्तरुपमा शुरु गरेको किसान आन्दोलनबाटै गरिब, किसान, शोषित, पीडित र सर्वहारा वर्गको मुक्ति देखेका शहीद भीमदत्त पन्तको पनि प्रजातन्त्र र परिवर्तनका पक्षमा आन्दोलनको बागडोर सम्होलका सामाजिक व्यक्तित्व रहेका थिए ।
    
विसं २००७ को प्रजातन्त्रका लागि क्रान्तिका लागि तत्कालीन अवस्थामा सुदूरपश्चिममा नेपाली काँग्रेसको सशक्त भूमिका रहेको काँग्रेस कञ्चनपुरका पूर्वपार्टी सचिव भोजराज बोहराको भनाइ छ । उनले सेती–महाकालीमा प्रजातन्त्रको क्रान्तिका बेला रुपसिंह र गौरीलाललाई पहिलोपटक खटाएको बताए ।

‘रुपसिंह र गौरीलाल आएपछि पहिलो भेला कञ्चनपुरको तत्कालीन सदरमुकाम बेलौरीमा भएको इतिहास छ’, बोहराले भने, ‘त्यसमा सहभागी हुँदा यहाँका नेतृत्वमा रहेका नेता तथा अगुवा ब्रह्मदेव र धनगढीलगायतका स्थानबाट बेलौरी पुग्नुभएको थियो ।’

उनले शहीद भीमदत्त पन्त पनि उक्त मोर्चामा सामेल भएको बताए । त्यसपछि डडेल्धुराका तत्कालीन बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसेको इतिहास छ । क्रान्तिमा सहयोग गर्नेलाई कर्मचारी बनाएर शहीद पन्तले चार महिनासम्म डडेल्धुरामा शासन चलाएको जानकार बताउँछन् । सामन्ति संस्कारका विरुद्ध लड्न पन्तले सेनासमेत तयार गरेर विभिन्न स्थानमा आक्रमणसमेत गरेका थिए ।
    
डडेल्धुरा सदरमुकाम अमरगढीबाट एक किलोमिटर दक्षिणमा पर्ने अमरगढी नगरपालिका कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मेका क्रान्तिकारी योद्धा भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा विसं २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो ।
    
उत्तर प्रदेश भारतको सिंहाइबाट संस्कृत विषयमा माध्यमिक तह अध्ययन गरेका पन्त शुरुआतमा काँग्रेस भनी चिनिएका थिए । माक्र्सवादका अनुयायी रहेको उनी निकट व्यक्ति बताउँछन् । भीमदत्त पन्तको नामबाट कञ्चनपुरमा ‘भीमदत्त नगरपालिका’ र ‘धनगढी–डडेल्धुरा भीमदत्त राजमार्ग’ राखिएका छन् भने डडेल्धुरा र कञ्चनपुरका विभिन्न स्थानमा शहीद पन्तको शालिक तथा पार्कको समेत नामकरण गरिएको छ ।
    
त्यसैगरी २०५५ सालमा नेपालको लोकतान्त्रिक आन्दोलनमा महाकाली अञ्चलको भूमिका विषयमा विद्यावारिधी गर्नुभएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रा डा मुकुन्द कलौनीले प्रजातन्त्रको क्रान्ति सुदूरपश्चिममा बैतडी जिल्लाबाट भएको बताए ।    ‘२००६ सालमा दशरथ शम्शेर राणा दौडाहामा बैतडी आउँदा तत्कालीन अवस्थामा खेमराज जोशी, दुर्गादत्त जोशीलगायतले राणाविरुद्ध पर्चा काण्ड गरेर दौडाहको विरोध गर्नुभएको थियो’, डा कलौनीले भने, ‘राणाको दौडाहको विरोध रगतले लेखेका पर्चा जिल्लामा बाँड्ने काम त्यही बेला भएको हो ।’

त्यसका साथै शहीद चन्द, मानवतावादी राजा सिंह, एण्डीप्रकाश चटौत, दक्षिण एशियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी र शहीद भीमदत्त पन्तले यहाँ प्रजातन्त्रको आन्दोलनको पृष्ठभूमि तयार गरेको डा कलौनीको भनाइ छ । ‘त्यो बेलाको क्रान्ति जुन उद्देश्यले गरिएको थियो त्यो अहिलेका नेतामा नियत ठीक नहुँदा समस्या भयो,’ उनले भने, ‘नीति ठीक भएर मात्रै हुँदैन लोकतन्त्र सफल बनाउन नियत पनि ठीक हुनु आवश्यक छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...