शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, इतिहासलाई नभुल्न पूर्वराजाको चेतावनी

मङ्गलबार, ०६ फागुन २०७६, १९ : १९
मङ्गलबार, ०६ फागुन २०७६

चीनबाट ल्याइएका नेपाली स्वस्थ

आइतबार बिहान सरकारले चीनको ऊहानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको मंगलबार तीन दिन बितेको छ । क्वारेन्टाइनमा रहेका सबै १ सय ७५ जना नेपाली हालसम्म पूर्णरुपले स्वस्थ रहेको चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुयाँलले जानकारी दिएका छन् ।  

उनीहरुको २४ घण्टामा दुई पटक बिहान र बेलुका शरीरको तापक्रम नाप्नुका साथै आवश्यक निगरानी गर्ने गरिएको छ ।   

ज्वरो आएमा आफै वा साथीले पनि खबर गर्ने व्यवस्था गरिएको छ । आजसम्म उनीहरु कसैलाई पनि समस्या नभएको डा.फुयाँलले बताए । 

क्वारेन्टाइनभित्र बस्नेलाई बसेको कोठाको सरसफाईमा ध्यान दिन भनिएको छ । सथै पानी तथा खानाको जाँच एवम् निगरानी पनि भइरहको छ । 

एक कोठामा कम्तीमा एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जनासम्म बसेका छन् । 

तालिम केन्द्रको दक्षिणतर्फ रहेको क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ । 

सुरक्षालगायतका अन्य व्यवस्थापनकालागि सेनाका कर्णेल शिव पौडेलको टोली क्वारेन्टाइन नजिकै  तैथान रहेको छ । सुरक्षाका लागि शस्शत्र प्रहरी, नेपाल प्रहरी समेत खटिएका छन् । यस्तै नेपाली लिन चीन जाने  विमानका पाइलट, को–पाइलट, परिचारिका तथा कर्मचारीसहित १७ जनालाई चाँगुनारायण नगरपालिका–६ स्थित पिपलबोट खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिनसम्म राखिने छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको बताएको छ । 

त्यसैगरी, आज दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको टोलीले खरिपाटीस्थित  क्वारेन्टाइन क्षेत्रको निरिक्षण गरेको छ । उक्त अवसरमा संचारकर्मीहरुसँग बोल्दै मन्त्री ढकालले हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको बताए । 

सरकारले चीनबाट ल्याइएका नेपाली निरोगी रहेको भन्दै आएको र अहिले मानिसहरुले सो कुरा बुझ्न थालेको मन्त्री ढकालले बताए ।  साथै स्वास्थ्य मन्त्रालयको टोली स्थानीयहरुको घरघरमा गएर जनचेतना जगाउन थालेको छ । यसले स्थानीयमा फैलिएको त्रासमा कमि आएको मन्त्रालयले बताएको छ ।

उडान सुरु 
त्यसैगरी, ऊहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान सुरु गरेको छ । ऊहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । 

जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइएको हो ।

पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देश दर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् । 

प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् । शाहले दलहरुलाई विगतकाे इतिहास नभुल्न समेत चेतावनी दिएका छन् ।

शाहले प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण समेत गरेका छन् । पूर्वराजा शाह हाल भ्रमणको सिलसिलामा भारतमा रहेका छन् ।

ओलीको स्वास्थ्यमा समस्या
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । 

तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित स्वास्थ्य जाँचका प्रधानमन्त्री त्रिवि शिक्षण अस्पतालमा गएको बताए । उनले ओली मंगलबारै बालुवाटार निवास फर्किने पनि बताए । 

‘उहाँ नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो । उहाँ आजै बालुवाटार फर्कनु हुन्छ’, थापाले भने । 

प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् । हाल भने ओलीको मुटुमा समस्या देखिएको स्रोतको भनाइ छ । 

उर्जामन्त्री पुन

सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने योजनाका साथ काम अघि बढेको बताएको छ । 

 उर्जामन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पु¥याउने गरी काम भइरहेको बताएका हुन् । 

 प्रतिनिधिसभाको बैठकको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेको बताए ।  मन्त्री पुनले यो आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतीकरण गर्ने योजना पनि सरकारले अघि सारेको बताए ।  सांसदहरुले सबै नेपालीको घरघरमा विजुली कहिले पुग्ने र निर्यात कसरी गर्ने भनेर प्रश्न गरेका थिए । 

सांसद खगराज अधिकारीले देशका धेरै स्थानमा अहिले पनि काठका पोलहरु रहेको र ती पोलहरुका कारण दुर्घटना बढिरहेको भन्दै उनले काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छन् ? भन्दै प्रश्न समेत गरे । 
मन्त्री पुनले विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाहरुमा ३ लाख र सामुदायिक विद्युतिकरणका आयोजनाहरुतर्फ १ लाख काठका पोलहरु रहेको बताए । 

 काठका पोलहरुले दुर्घटना बढेको तर्फ सांसदहरुले यसको विस्थापन कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए । मन्त्री पुनले देशभरी रहेका करिब ४ लाख काठका पोलहरुमध्ये ३० हजार पोलहरु विस्थापन भएको र बाँकी पोलहरु प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमशः विस्थापन गर्ने तयारी भइरहेको उनले बताए । 

सांसद महेश बस्नेतले विद्युतका पोलहरुका कारणले धेरै विकास निर्माणका कामहरु प्रभावित भएको र पोल सार्ने क्रममा अनियमितता हुने गरेको भन्दै पुरक प्रश्न गरेका थिए । 

त्यसैगरी, जनताको लगानीमा नेपालले नै बनाउने भनिएको राष्ट्रिय गौरबको आयोजनाको ठेक्का विना प्रतिस्पर्धा किन विदेशी कम्पनीलाई दिइयो भन्ने सांसद डिला संग्रौलाको प्रश्नमा मन्त्री पुनले अहिलेसम्म कुनै पनि कम्पनीलाई नदिइएको बताइन् । 

 मुआब्जा विवाद समाधान भएको उल्लेख गर्दै मन्त्री पुनले मुआब्जाको सम्पूर्ण काम सम्पन्न भएपछि अरु काम अगाडि बढ्ने बताए । 

पुनले बुढी गण्डकी प्रभावित गोर्खाका ८० र धादिङका ६० प्रतिशत जनताले मुआब्जा पाएको बताएका छन् ।  प्रभावित क्षेत्रका स्थानीयका केही गुनासाहरु आएको बताउँदै पुनले गुनासा सम्बोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको बताए । 


प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा सांसदहरुले समसामयिक वियषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको भन्दै श्रीस्वस्थानी वाचन शैलीमा व्यङ्ग्य गरे । 

सांसद अतहर कमाल मसलमानले संसदभित्र धर्मका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गरे । 

 सांसद अमरेश कुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठेपनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए । 

 सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको प्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसा भेदभावहरुको भित्रि कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताए । 

गणेश तिमल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति निर्माणमा पु¥याएको योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्ने बताएका छन् । 

विधायन व्यवस्थापन समितिले विधि निर्माण र कार्यान्वयन परीक्षण तथा मूल्याङ्कन सम्बन्धमा प्रकाशित गरेको पुस्तिकाको मंगलबार सिंहदरबारमा विमोचन गर्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको मूल्याङ्कन नीति निर्माणमा गरेको सहभागिताका आधारमा गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । 

उनले सांसदहरु नीति निर्माणमा भन्दा बढी समय आफुले जनतासँग प्रतिवद्धता गरेका आयोजना बजेटमा समावेस गर्न मान्त्रालयका कोठाकोठामा खर्च गर्ने गरेको बताए । 

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समाज र संसदको सम्बन्ध घनिष्ट बनाउन पनि सांसदहरुको ध्यान सबैभन्दा बढी नीति निर्माणमा हुनुपर्ने बताए । कार्यक्रममा सांसद दिनानाथ शर्माले संसदबाट निर्माण भएका कानूनहरुको समीक्षा संसदीय समितिहरुले गर्नुपर्ने बताए । 

सांसद सुरेन्द्रराज पाण्डेले पैसाको कुरामा हरेक संस्थामा अडिट भएजस्तै कानूनको समेत अडिट हुनुपर्नेमा जोड दिए । 

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले पुस्तिकाले कानून निर्माणको चरण मात्रै महत्वपूर्ण होइन भन्ने देखाएको बताए । 

वेपत्ता आयोग

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । 
मंगलबार पत्रकारहरुसँगको कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।  सम्पत्ति हस्तान्तरण, अंशबण्डा लगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उनले बताए । 
आयोगले व्यक्ति हेरेर छानबिन नगर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय हुने बताए । 

नेपाल निजमाती  कर्मचारी संगठन

नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । 

फागुन २ र ३ गते भक्तपुरमा बसेकोे सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताए । 

शोभायात्रा

यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ । 

 नेपाल भ्रमणवर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो । महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभा यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो । यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोलीको पनि सहभागिता रहेको थियो । यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्री मुल समारोह समारोह समिति लगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप