शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठक : म्याद गुज्रेको हात्तिपाइलेको औषधि खुवाउनेलाई कारबाहीको माग

मङ्गलबार, ०६ फागुन २०७६, १८ : २६
मङ्गलबार, ०६ फागुन २०७६

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले  विभिन्न विषयमा सरकारको ध्यानार्कषण गराएका छन् । 

मंगलबार बसेको प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठकमा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले विभिन्न क्षेत्रमा देखा परेका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बाेल्दै प्रदेश सभा सदस्य विजय बहादुर यादवले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि लापरबाही भएको बताएका छन् । 

बाँकेको डुडुवामा म्याद गुज्रेको हात्तिपाइलेको औषधि खुवाइएको भन्दै उनले यस्तो औषधि खुवाउने कार्यमा संलग्नलाई कारबाहीको माग गरे । 

अर्का प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले जनताले छनोट गरेका योजना भन्दा कर्मचारीहबाट छनोट गरेका योजनाले प्राथमिकता पाउने गरेको गुनासो गरे । 

यसैगरी  प्रदेशसभा सदस्य इन्द्र प्रसाद खरेलले संसदले बनाएका कानूनहरु अझै पनि जनपक्षीय हुन नसकेको भन्दै ‘हाकिमको चित्त बुझे जनताले न्याय पाउने र हाकिमको चित्त नबुझे न्याय नपाउने’ अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

अर्का प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले संघीयता स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने निकाय समेत भएपनि त्यस्तो हुन नसकेको गुनासो गरे ।
स्थानीय संस्कृति र खानपानको प्रवर्द्र्धन गर्न नसके नेपाल भ्रमण वर्षले सार्थकता नपाउने भन्दै उनले स्थानीय तहमा उत्पादन गरिने मदिरालाई कानूनी दायरामा ल्याएर उत्पादन गर्न दिनु पर्ने विचार व्यक्त गरे ।

त्यसैगरी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले गोरुसिंगे–सन्धिखर्क सडक साँघुरो भएका कारण सडक दुर्घटना बढेको भन्दै उक्त सडक प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गर्न माग गरे ।

 प्रदेश सभा सदस्य दिनेश पन्थीले पनि सडक दुर्घटना रोक्क्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

अर्का प्रदेश सभा सदस्य बिष्णु प्रसाद पन्थीले गत बर्षकै योजनामा परेको कपिलबस्तुको बाडगंगा नदीमा हाई ड्याम बाँध्ये योजना अहिलेसम्म सुरु नभएको भन्दै ध्यानाकर्षण गराए । 

प्रदेश सभा सदस्य तिलकराम शर्माले बर्दियाको गुलरीयास्थित कृष्णसार संरक्षित क्षेत्र वरपरका भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा जोड दिए । 

त्यस्तै प्रदेश सभा सदस्य सन्तोश कुमार पाण्डेले प्रदेश नं ५ लाई परीक्षणको केन्द्र नभएर विकासको केन्द्रको रुपमा विकास बनाउनु पर्नेमा जोड दिए । 

अर्का सदस्य अष्टभुजा पाठकले एउटा वडामा परेको योजना मन्त्रालयका सचिवले अर्को वडामा सार्ने काम गरेको भन्दै सरकार जनप्रतिनिधिले चलाउने हो की कर्मचारीले भनि प्रश्न गरे । 

आजकै प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।

त्यसैगरी आजकै बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पेश गरेका थिइन् । प्रदेश सभाको अर्को बैठक यही फागुन १६ गते बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप