केन्द्रीय संस्करण

कोरोनाभाइरसको उपचार गरेर घर फर्किनेहरुको कथाव्यथा

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0

३१ वर्षे एडिसन झाङलाई प्राणघातक कोरोनाभाइरसले समात्दासम्म त्यसले उनको गृहनगर उहानमा सयौँको ज्यान लिइसकेको छ । 

झाङलाई बिमारीले च्याप्दै जाँदा भाइरसले खराब लक्षण देखाउँदै गएको थियो । 

‘सुरुमा म भयभित र त्रस्त थिएँ,’ उनले भने तर उनको रोग पुष्टि भएपछि उनले चिन्ता गर्न छाडे । ‘त्यो बिन्दुमा उपचार गर्नुबाहेक अर्को विकल्प थिएन,’ झाङले थपे । 

चाँडै रोगको पहिचान भएकोमा झाङ भाग्यमानी ठहरिए । एक समय चीनमा रोग पहिचान गर्ने उपकरणको अभावमा कोरोनाभाइरसबाट प्रभावित बिरामीको रोग पहिचान हुन ढिलो भएको समाचार आइरहेको थियो । 
सोमबारसम्म विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वभर ७१ हजार कटिसकेको छ भने मर्नेको सङ्ख्या १७ सय कटिसकेको छ । तीमध्ये ठूलो हिस्सा हुबेई प्रान्तमा छन् । 

चीनको मध्य–भूभागको उक्त प्रान्तमा पहिलो पटक भाइरस पत्ता लागेको थियो । तर मृत्यु हुनेको सङ्ख्या बढिरहँदा रोगको उपचार भएर घर फर्किनेको सङ्ख्या पनि बढिरहेको छ । 

चिनियाँ सरकारी मिडियाले बढ्दो सङ्ख्यामा भाइरसमुक्त भएर घर फर्किएका बिरामीलाई देखाइरहेको छ । त्यस्ता बिरामी उपचार सकेर घर फर्किंदै गरेको र त्यस क्रममा अस्पतालका कर्मचारीले तिनलाई फूलमाला लगाएका तस्बिर बाहिर आइरहेका छन् । 

झाङ उपचार सकाएर घर फर्किने दस हजार बिरामीमध्ये एक हुन् । 

पूरै परिवार सङ्क्रमित 
झाङ अहिले सरकारले छुट्याएको एक होटलमा १४ दिने क्वारेन्टाइनमा छन् । 

झाङ २२ जनवरीमा उनकी श्रीमती र सासू, ससुरासँग उहान पुगेर फर्किएका थिए । त्यसको भोलिपल्टै उनका ससुरालाई खोकी लाग्न थाल्यो । उपचारका लागि उनी अस्पताल गए । 

तर अस्पतालले परीक्षण गर्न अस्वीकार गर्‍यो । केही दिनपछि उनकी श्रीमतीको पनि ज्यान तात्न थाल्यो । ३० जनवरीमा परीक्षणबाट उनकी श्रीमती र उनको ससुरामा कोरोनाभाइरस देखियो । 

अर्को दिन झाङ र उनकी सासूले पनि कोरोनाभाइरस परीक्षण गराए । तिनको रिपोर्टमा पनि भाइरस पोजिटिभ देखियो । 

‘सुरुमै हाम्रो परीक्षण गरिएको भए सायद परिवारका सबै सङ्क्रमित हुँदैनथ्यौँ होला,’ झाङले भने । 

गाउँको अस्पतालमा उपचार नगरिएपछि सबैलाई सहर पठाइयो । त्यहाँ उपचारका क्रममा झाङ आफूलाई दिइएको हरेक औषधिबारेमा चिकित्सकसँग सोध्ने गर्थे । 

उनी आफूलाई दिइएको औषधिले दीर्घकालीन असर हुन्छ कि भन्ने जान्न चाहन्थे । फेब्रुअरी ९ मा उनी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई क्वारेन्टाइनमा पठाइयो । त्यसअघि उनलाई सबै कपडा, पुस्तक र अन्य सामग्री नष्ट गर्नुपर्ने बताइएको थियो । 

अहिले झाङ र उनका ससुरा भाइरसमुक्त भइसकेका छन् । उनको श्रीमती र सासू अझै अस्पतालमा भर्ना छन् । 

कोरोनाभाइरस प्रभावित व्यक्तिले बेहोर्नुपर्ने भेदभावका कारण झाङ सञ्चार माध्यमसँग बोल्दा परिवर्तित नाम प्रयोग गर्छन् । 

सङ्क्रमणमुक्त भएर फर्किन लागेको बिरामीका जति तस्बिर टेलिभिजनमा देखिँदैछन् तिनको अनुहार पनि ‘ब्लर’ गरेर नचिनिने बनाइएको छ । यो कदम पनि बिरामीले सामाजिक भेदभाव नझेलुन् भनेर उठाइएको हो । 
‘मलाई रोगले समातेपछि मैले मृतकबारे समाचार पढिरहेको थिएँ । त्यसका क्रममा मैले के पाएँ भने मर्नेमध्ये अधिकांश बयोवृद्ध उमेका थिए र तिनमा पहिलेदेखि कुनै अन्य स्वास्थ्य समस्या थियो । मलाई पहिले कुनै रोग नभएकाले म चाँडै सङ्क्रमणमुक्त भएँ,’ उनले बताए । 

‘मैले रुघाखोकी झैँ उपचार गरेँ’
उहानको एक होटलमा क्वारेन्टाइन बसिरहेका २१ वर्षीया टाइगर्स ये पछिल्लो जाँचको परिणाम नकारात्मक आउने पर्खाइमा थिए । 

भाइरसमुक्त भएको भनिएपछि पनि लगातार चार परीक्षणमा भाइरस नेगेटिभ देखिनुपर्छ । कोरोनाभाइरस सङ्क्रमणमुक्त भएपछि उनलाई क्वारेन्टाइनमा राखिएका छ । सामाजिक बहिष्कारको डरका कारण टाइगर्स ये पनि वास्ताविक नाम प्रयोग गर्दैनन् । 

झाङ आफू कसरी सङ्क्रमित भएँ भन्नेमा स्पष्ट छैनन् तर टाइगर्स ये भने आफूलाई उहानको जापानी कक्षाबाट रोग लागेको हुनसक्ने मान्छन् ।

उनको भाषा कक्षा कोरोनाभाइरसको उद्गम भएको मानिएको उहानको सिफुड बजार नजिकै थियो । 

‘१७ जनवरीमा कक्षामा मैले केही अस्वस्थ्य महसुस गरेको थिएँ । तर मैले यसलाई सामान्य रुघा खोकीको औषधि खाएँ,’ उनले बताए । टाइगर्स येले विस्तारै खानाको रुचि गुमाउँदै गए र २१ जनवरीसम्ममा खाना खानै नसक्ने भइसकेका थिए । 

त्यसपछि उनी ट्याक्सी लिएर एक ठूलो अस्पताल पुगे । त्यहाँ चिन्तित मानिसको ठूलो भीड थियो । ‘मानिसहरु नजिकैका अन्य अस्पतालका लागि नक्सा हेरिरहेका थिए । मैले पनि त्यही गरेँ ।’

नक्सामा एक सानो अस्पताललाई ख्याल गरेर म त्यहाँ पुगेँ । त्यहाँ उनलाई सामान्य चिकित्सकीय सल्लाह दिएर फर्काइयो, कुनै उचित निदान भएन । 

येको अवस्था सुध्रिएन र २६ जनवरीसम्म उनलाई अत्यधिक खोकी र उच्च ज्वरोले आयो । रोगका लक्षण बढ्दै गएपछि उनको शरीर बाहिरबाट तातो हुने तर भित्र भने चिसो हुनथाल्यो । त्यस्तै पेट दुख्ने, वान्ता हुने र पखालाबाट पनि ग्रसित हुन थाले । 

अस्पताल जानसमेत नसक्ने भएपछि टाइगर्सले आफ्ना पितालाई फोन गरे र ‘पिताले बुझेपछि म १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।’

अन्ततः उनलाई कोरोनाभाइरस भएको प्रमाणित भयो र उनलाई एचआईभी उपचारमा प्रयोग गरिने औषधि दिइयो । उपचारपछि येको अवस्थामा तीव्र सुधार देखिन थाल्यो । 

सङ्क्रमित सबैले रोगबाट कठिनाइ भोगेका छैनन् । चिनियाँ सरकारको संयोजनमा भएको एक पत्रकार सम्मेलनमा देखिएकी ३१ वर्षे आईटी कर्मचारी लीले उनलाई रोग लाग्दा सामान्य लक्षण मात्र देखिएको बताइन् । 
‘कसैलाई यो रोग लागेमा डराउनुपर्दैन । देश, अस्पताल र तिनका चिकित्सकमाथि विश्वास गर्नुपर्छ,’ लीले पत्रकारहरुलाई भनिन्, ‘रोग लाग्यो भने सबैभन्दा पहिले परीक्षणका लागि अस्पतालमा जानुस् । हामीले यो रोगमाथि अवश्य जित हासिल गर्न सक्छौँ ।’

झाङ र येजस्ता बिरामीका लागि कोरोनाभाइरसबाट सङ्क्रमित हुँदाको सबैभन्दा खराब पाटो यसबारे उल्लेख्य जानकारीको कमी देखिन्छ । 

झाङ अहिले पनि ‘एक पटक सङ्क्रमित भइसकेका पनि पुनः भाइरस दखिने’ सम्भावना रहेको खबर पढ्छन् । 

‘समाचार हेर्दा त्यस्तो सम्भावनाबारे बताइँदै गरेको सुनिन्छ । आफूलाई त्यस्तो हुन्छ भन्ने नहुँदा नहुँदै पनि चिन्ता लाग्ने रहेछ । किनकि यो रोगबारेमा धेरै जानकारी नै छैन । कोही व्यक्ति पूर्ण निको भयो भन्ने सकिने अवस्था छैन,’ झाङले भने । 
सीएनएनबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...