शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुराको चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि किसानहरु आन्दोलित

बजार अनुगमन नगरेको भन्दै विभागको आलोचना
मङ्गलबार, ०६ फागुन २०७६, १५ : ००
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन् । 

बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो छ । 

पीडित कृषकहरुले राष्ट्रिय रुपमै संगठित हुँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति नेपाल’ नै गठन गरी संघर्ष शुरु गरेका छन् ।

मंगलबार राजधानीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगाडि धर्ना दिँदै पीडित कृृषकहरुले विभागको ध्यानाकर्षण गर्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई १० बुँदे मागपत्र बुझाएका छन् ।

कुखुरापालक संघर्ष समितिले व्यवसायीहरुले कृषकको ढाडसेक्ने गरी मनोमानी रुपमा कुखुराको चल्ला तथा दानाको मूल्य बढाएको र उपभोक्तालाई समेत मार पर्नेगरी मासुको मूल्य बढाइरहेको भन्दै बजार अनुगमन, नियमन गरी दोषीलाई कारबाही गर्न विभागसँग माग गरेका छन् । 

किसानहरुले विभागबाट कृषकहरुमा राहत अनुभूति हुनेगरी काम हुनुपर्नेमा उल्टै आहात महशुस भएको बताएका छन् । 

महानिर्देशक सुवेदीलाई ध्यानाकर्षणका साथै मागपत्र बुझाउँदै पींडित कृषक संघर्ष समितिका संयोजक विष्णु खड्काले चल्ला उत्पादक संघ, पोल्टी व्यवसायी र दाना उत्पादनसँग मिलेर विभागले पीडित कृषकहरुको माग नसुनेको आरोप लगाए । 

२६–२७ सय रुपयाँ प्रतिबोरा दानाको मूल्यमा एक हजार बढी वृद्धि गर्दै ३५–३६ सय रुपैयाँसम्म पु¥याउदा र ३० देखि ३५ रुपैयाँ प्रतिगोटा पर्ने चल्लाको मूल्य ७०–८० रुपैयाँसम्म पु¥याउँदा समेत विभाग कानमा तेलहालेर बसेको कृषकहरुको आरोप छ । 

गत माघ १० गतेसम्म चल्लाको मूल्य प्रतिगोटा ४० रुपैयाँ रहेकोमा माघ १८ गतेसम्मको ८ दिनकोबीचमा ह्याचरीले तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँको दरले बढाएको पीडित कृषकहरुको भनाइ छ । माग १० गते ४० रुपैयाँ प्रतिगोटा चल्लाको मूल्य ह्याचरीले माघ ११ गते ५०, माघ १४ गते ६० र माघ १८ गते ७० रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।

यसो गर्दा समेत विभागले बजार अनुगमन नगरेको र सम्बन्धित ह्याचरीलाई कारबाही नगरेको संघर्ष समितिको आरोप छ । 

नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको कुखुरापालन व्यवसाय मुठ्ठीभरका सिन्डिकेटधारी व्यवसायीहरु (चल्ला, दाना, मासु) को अधिनमा रहेकोर कृषकलाई ऋणमा डुबाइ व्यवसायबाटै पलायन हुन बाध्य पारिएको संघर्ष समितिको आरोप छ । यस्तो कार्य तत्काल रोक्न व्यवसायीहरुको सिन्डिकेटधारी व्यवसायीक संघ संगठन समेत तत्काल विघठन गर्न पींडित कृषकहरुले माग राखेका छन् । 

यस्तो छ पीडित कुखुरा पालक कृषकहरुको माग
–अवैधानिक रुपमा रहेका तीन वटै (ह्याचरी, पोल्टी र दाना) उत्पादक संघ तत्काल खारेज गर्नुपर्ने ।

–न्यूनतम आधार मूल्य किसानको नेतृत्वमा कोल्डस्टोर व्यवसायी र किसानहरुले तोक्न पाउनु पर्ने ।

–खोर काटा(खोरमै कुखुराको तौल लिने) अनिवार्य लागु गर्नुपर्ने ।

–कमिसन तथा ग्रेडिङ्ग र प्रतिशत घटाउन नपाइने ।

–दाना तथा चल्लाको गुणस्तरको नियमित अनुगमन गर्नुपर्ने ।

–दानाको बोरामा मूल्य, प्याकिङ्ग मिति र कन्टेन स्पष्ट रुपमा खुलाउनु पर्ने ।

–प्यारेन्ट आयातमा कटौती गरी बजारको माग अनुसार मात्र चल्ला उत्पादन गर्नुपर्ने । 

–भेटनरी तथा औषधीहरुमा नियमन गर्नुपर्ने । 

–सर्वपक्षीय वृहत्त पोल्ट्री गोलमेच सम्मेलन तत्काल गर्नुपर्ने । 

मागपत्र बुझ्दै महानिर्देशक सुवेदीले आफूहरुले कृषकको जायज माग सम्बोधन गर्ने बताए । यद्यपि उनले किसानहरु अनावश्यक रुपमा क्रान्तिकारी भएको आरोप लगाए ।  

‘तपाइँहरु बढी क्रान्तिकारी बन्नुभयो । आदर्श बनेर हामी माथिनै दोष लगाउनु भयो,’ महानिर्देशक सुवेदीले भने, ‘हामीले त्यस्तो कोही कसैसँग साठगाँठ गरेका छैनौं । म त्यस्तो व्यक्ति पनि होइन । बरु जसले बजार अनुगमनमा हामीलाई साथ दिन्छ तिनीहरुसँग हाम्रो साठगाँठ हुन्छ ।’

सोही अवसरमा सुवेदीले चल्ला, दाना, र मासुको मूल्यको विषयमा छानबिन गर्न विभागले काम थालिसकेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप