शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता: मन्त्री फुयाँल

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ५७
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए । मन्त्री फुयाँलले भने, ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’ 
 
उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने उल्लेख गरे ।

काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य रहेका छन् । नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् । विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन मालेको सदस्य भएका थिए । 

विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप