शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा मुस्लिमहरु दाह्री पालेको र नकाब लगाएकै आधारमा थुनिए : बीबीसी

मङ्गलबार, ०६ फागुन २०७६, ०६ : ५२
मङ्गलबार, ०६ फागुन २०७६

चीनले हजारौँ मुस्लिम (उइगर) हरूको भविष्य निर्धारण गर्न उनीहरूलाई शिविरहरूमा राखेको विषयबारे निकै सशक्त दृष्टिकोण दिने एउटा दस्तावेजलाई बीबीसीले हेरेको छ ।

पश्चिमी क्षेत्र सिन्जियाङका तीन हजारभन्दा बढी व्यक्तिका विवरणहरू सूचीकृत गर्दै त्यसले मानिसहरूको दैनिक जीवनका अति व्यक्तिगत कुराहरू पनि समेटेको छ ।

सावधानीपूर्वक तयार पारिएको १३७ पृष्ठको दस्तावेजमा मानिसहरूले कसरी प्रार्थना गर्छन्, कस्तो लुगा लगाउँछन्, कोसँग सम्पर्क राख्छन् र उनीहरूका परिवारका सदस्यले कस्तो व्यवहार गर्छन् भन्नेसम्मका विवरण समेटिएका छन् ।

आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ ।

जोखिम

यो दस्तावेज सिन्जियाङस्थित त्यही स्रोतले व्यक्तिगत रूपमा ठूलो जोखिम मोल्दै चुहावट गरेको हुनुपर्छ जुन स्रोतले गत वर्ष निकै संवेदनशील दस्तावेजहरू बाहिर ल्याएको थियो ।

सिन्जियाङमा चिनियाँ नीति बारेका अग्रणी विज्ञहरूमध्येका एक वाशिङटनस्थित भिक्टिम्स अफ कम्युनिज्म मेमोरिअल फाउन्डेशनसँग आबद्ध डा. एन्ड्रिआन जेन्ज चुहावट गरिएको पछिल्लो दस्तावेज वास्तविक भएको विश्वास गर्छन् ।

‘यो महत्त्वपूर्ण दस्तावेज परम्परागत धार्मिक अभ्यासहरूलाई दबाउन र दण्डित गर्न बेइजिङ कति सक्रियताका साथ लागिपरेको छ भन्ने कुराको आजको मितिसम्म मैले देखेको सबैभन्दा बलियो प्रमाण हो,’ जेन्ज भन्छन्।

‘नम्बर फोर ट्रेनिङ सेन्टर’ भनेर उल्लेख गरिएको एउटा शिविरलाई जेन्जले पनि पहिचान गरेका छन् ।

चिनियाँ अधिकारीहरूले गत वर्षको मे महिनामा बीबीसीलाई भ्रमण गराएका शिविरमध्ये त्यो एउटा हो ।

बीबीसीको टोलीले ल्याएका धेरै प्रमाणहरूलाई नयाँ दस्तावेजले पुष्टि गरेको छ, त्यसमा समावेश गरिएका मानिसहरूको गोपनीयता कायम राख्न प्रकाशनका लागि केही सम्पादन गरिएको छ ।

तीन सय ११ जना व्यक्तिमाथि चलाइएको अनुसन्धानका विस्तृत विवरण त्यसमा छ ।

उद्देश्य

त्यसमा उनीहरूको पृष्ठभूमि, धार्मिक चालचलन तथा सयौँ आफन्त, छिमेकी र साथीहरूसँगको सम्बन्धबारे विवरण रहेका छन् ।

अन्तिम कोलममा निर्णय लेखिएका छन् जसमा पुनर्शिक्षण शिविरहरूमा रहेका व्यक्तिहरूलाई छाड्नुपर्छ वा राखिराख्नुपर्छ र रिहा गरिसकिएका मानिसहरूलाई फर्काउन आवश्यक छ वा छैन भनिएको छ ।

ती शिविरहरू नितान्त रूपमा विद्यालय हुन् भन्ने चिनियाँ दाबीसँग यो प्रमाण सिधै विरोधाभासपूर्ण छ ।

पछिल्लो दस्तावेजको समीक्षा र पुष्टि गर्ने एउटा लेखमा जेन्जले चिनियाँ प्रणालीको वास्तविक उद्देश्यबारे त्यसले निकै गहिरो बुझाइ प्रदान गरेको भनेका छन् ।

पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेलसेम भएको एक ३८ वर्षीया महिलाको मुद्दा छ जसलाई एउटा प्रमुख कारणले पुनर्शिक्षण शिविरमा पठाइएको रहेछः केही वर्षअघि उनले नकाब लगाएकी थिइन् ।

नुरमेमेत नाम गरेका २८ वर्षीय पुरुषबारे २३९ औँ लहरमा उल्लेख गरिएको छ र उनलाई पुनर्शिक्षण शिविर पठाइनुको कारण एउटा वेब लिङ्कमा क्लिक गरेर असावधानीवश एउटा विदेशी वेबसाइटमा पुग्छन् ।

एक ६५ वर्षीय पुरुष युसुपबारे १७९ औँ, ३१५ औँ र ३४५ औँ लहरमा लेखाजोखा गरिएको छ।

उनी बारेका विवरणमा उनका दुई छोरीले ‘सन् २०१४ र सन् २०१५ मा नकाब तथा बुर्का लगाएको’, छोराको इस्लामिक राजनीतिप्रति झुकाव भएको र एउटा परिवारले ‘हानविरोधी स्पष्ट भावना’ व्यक्त गरेको उल्लेख छ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप