बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारका सकारात्मक कामको प्रचार गरौँ: मुख्यमन्त्री पोखरेल

सोमबार, ०५ फागुन २०७६, २२ : ४९
सोमबार, ०५ फागुन २०७६

राँझा । प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटीका इञ्चार्ज शङ्कर पोखरेलले सरकारका सकारात्मक कामको प्रचार गर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् । बाँकेको कोहलपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को तेस्रो पूर्ण बैठकमा उनले स्थानीय सरकारका काममा सहयोग तथा समन्वय गर्न पार्टीको स्थानीय तह कमिटी क्रियाशील हुनुपर्नेमा जोड दिए । 

सरकारले गरेका राम्रा कामको पार्टी नेता तथा कार्यकर्ताबाटै प्रचारप्रसार गर्नमा कञ्जुस्याइँ भएको भन्दै उनले तीनै तहका सरकारले गरेका कामको पार्टी कमिटीले निगरानी र समन्वय गर्दै सफलता हासिल गर्नमा सहयोग गर्न आग्रह गरे । ‘स्थानीय सरकारले गरेका राम्रो कामको सरकारमा नरहेका पार्टीका जिम्मेवार नेताहरुले नै आलोचना गरेर निरुत्साहित पार्ने गतिविधि हुने गरेको पाइएको छ, यो राम्रो होइन’, उनले भने ।

उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश नं ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्न आग्रह गर्नुभयो । बैठकले प्रदेशका लागि तीनमहिने अभियानको खाका तयार गरी फागुनमा जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्ने, जनसङ्गठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव सङ्कलन गर्ने, तीन तहकै सरकारको कामको समीक्षा गर्ने, प्रचारप्रसार गर्ने र वैशाखमा बृहत् जनसभा गर्ने निर्णय गरेको नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन् ।

उनले प्रदेश नं ५ को प्रशिक्षण र बैठकले पार्टीका नेता, कार्यकर्ता र सदस्यका बीचमा वैचारिक, सङ्गठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, केन्द्रीय निकाय एवं विभागको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय सङ्गठनको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिको अभिलेख एकीकरणलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरण गर्नेजस्ता कार्यमा सघाउ पुगेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप