शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा मुद्दा दायर

सोमबार, ०५ फागुन २०७६, २० : २४
सोमबार, ०५ फागुन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले रु तीन करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय लाना डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको भन्ने अभियोगका आधारमा रु सात लाख २९ हजार ९४६ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहोराले सरकारी स्रोतबाट प्राप्त भएको रकमको दुरुपयोग गरेको पाइएको छ । 

त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सवइञ्जिनीयर विकास झाविरुद्ध रु ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध रु १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप