मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : महराले भने– मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा

सोमबार, ०५ फागुन २०७६, १९ : ५२
सोमबार, ०५ फागुन २०७६

महरा रिहा

निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएका छन् । 

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका महराले सोमबार सफाइ पाएका हुन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । 

सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो । असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो । प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो । 
डिल्लीबजार कारागारमा १०३ दिनयता पुर्पक्षका लागि थुनामा रहेका महराले रिहा भएसँगै कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । 

उनलाई स्वागत गर्न नेकपा कार्यकर्ता र समर्थकको भीड लागेको थियो । रिहा भएलगत्तै महरा निजी गाडी चढेर ललितपुरको खुमलटारमा रहेको निवासमा गएका थिए । 

यसैबीच महराले एक विज्ञप्ति जारी गर्दै मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा  रहेको बताएका छन् । 

उनको विज्ञप्तिमा भनिएको छ– एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।

शिवमाया बनिन् मन्त्री

पूर्वसभामुख महराकै कारण उपसभामुख पदबाट राजीनामा दिन बाध्य शिवमाया तुम्बाहाङ्फेले आजै कानुन मन्त्रीको सपथ लिएकी छिन् । 

पूर्वउपसभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी हुन् । उनले  आजै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छिन् । 

२०७६ साल माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । 

प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । 

संञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचार प्रति प्रायः असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गरेका हुन् । 

 काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने गरेको बताए । 

उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको पनि बताए ।  सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो उनले गरे । 

यसैबीच काठमाडौ उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ । 

पहिलो चरणमा काठमाडौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम सोमबार महाराजगञ्जबाट सुरु गरिएको हो । प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तीब्र गति’ भनी टिप्पणी गरे ।  
ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् वितरण प्रणालीलाई विश्वसनीय र भरपर्दो बनाउने काममा भूमिगत तार व्यवस्थापन प्रणाली महत्त्वपूर्ण रहेको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । 


अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । 

ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए । उनले राज्य सत्तामा रहँदा ३÷४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्ने गरेको बताए । 

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए । 

श्रद्धाञ्जलीसभा

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य स्वर्गीय दुर्गाप्रसाद उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा गरेको छ । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो । श्रद्धाञ्जलीसभामा नेताहरुले सरल एवं भद्र व्यक्तित्वको रुपमा परिचित उपाध्यायले सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा पुर्याएको योगदानको स्मरण गरेका थिए । सभापति शेरबहादुर देउवाले सधै हसिलो मुहारमा देखिने उपाध्याय राष्ट्रिय चिन्तनको व्यक्ति भएको भन्दै उनको योगदानको स्मरण गरे । 

त्यसैगरी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिकुल अवस्थामा पनि गाउँगाउँमा बसेर पार्टीको मुल धारणालाई स्थापित गराउने सवालमा नेतृत्त्वदायी भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको स्मरण गरे । 

२०७४ सालको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका उपाध्यायको फागुन २ गते ५१ बर्षको उमेरमा निधन भएको थियो ।

विकास समितिको निर्देशन
प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले तराई मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ । 

सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रकृयामा पारदर्शीता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडि बढाउन समितिले निर्देशन दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप