बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतलाई नेकपाले बुझायो ८ बुँदे ज्ञापनपत्र

सोमबार, ०५ फागुन २०७६, १८ : ४९
सोमबार, ०५ फागुन २०७६

जनकपुर । प्रदेश २ को प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो समयदेखि प्रदेशसभा बैठक अवरुद्ध हुनुमा प्रदेश सरकारको नियतमा खोट रहेको बताएको छ । नेकपाले प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारसँग माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

प्रदेशसभाको बैठक अवरुद्ध भएपछि नीति निर्माणदेखि काम ठप्प भएको भन्दै नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सोमबार मुख्यमन्त्री  राउतलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशसभा बैठक अवरुद्ध पार्नु प्रदेश सरकारको सुनियोजित अभिायन हो कि भन्दै मण्डलले प्रश्न गरे ।

प्रदेशसभा अवरुद्ध हुँदा विषयवस्तु उठान नहुनुका साथै गत वर्षझैं आर्थिक वर्षको अन्तिमा सबै कार्यक्रम दिने र आर्थिक निकासामा समस्या बल्झाउने नियत सरकारले बोकेको उनको आरोप छ । नेकपाले प्रदेशसभा बैठकदेखि विभिन्न विषयवस्तबारे सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरे अनुसार ज्ञापन पत्र बुझाएको संसदीय दलका नेता मण्डलले जनाए । 

मण्डलले मुख्यमन्त्री राउतलाई बुझाएको ८ बुँदे ज्ञापनपत्रमा समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएकोले समस्या समाधान गरी संसद बैठक सञ्चालनको वातावरण निर्माण गर्न माग गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सार्वजनिक नगरेको भन्दै नेकपाले प्रदेशको सबै निर्वाचन क्षेत्रमा पर्ने गरी यथाशिघ्र रेडबुक सार्वजनिक गर्न माग गरेको सो ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैगरी नेकपाले बुझाएको ज्ञापनपत्रमा संघीय सरकारद्वारा हस्तान्तरित जनता आवास कार्यक्रममा ढिला सुस्ती र अपरादर्शी भइरहेको आरोप समेत लगाएको छ । सबै निर्वाचन क्षेत्रमा घर वितरण गरी व्यवस्थित रुपले कार्यान्वयनको माग गर्दै अख्तियारी नपुगेको जिल्लामा अख्तियारी पठाउन मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै प्रदेश सरकारबाट गाउँपालिकामा पठाइने सर्शत अनुदानको योजना सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यले सिफारिस गरेको योजना कार्यान्वयन गराउन र प्रदेशभित्र सञ्चालनमा रहेका सामुदायिक कलेजहरुका लागि निर्माण तथा सञ्चालन खर्चको व्यवस्था गर्न समेत ज्ञापनपत्र मार्फत माग गरेको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट किसानका लागि प्रदान गरिने अनुदान, कार्यविधि तयार पारि निष्पक्ष तथा पारदर्शी ढंगले किसानलाई वितरण गर्न नेकपाले माग गरेको छ ।

प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण लगायतका कार्यक्रम एक पक्षीय तथा पूर्वाग्राहीरुपमा गरिरहेकोले यस्ता कार्यक्रममा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको भूमिका कायम गराउन र प्रदेशमा वनको चोरी निकासी बढ्नुका साथै खोलामा अनाधिकृत रुपले नदीजन्य पदार्थको दोहन भइरहेको भन्दै यसलाई कडाइका साथ नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

मुख्यमन्त्री राउतले ज्ञापन पत्र बुझ्दै प्रदेशसभा सदन सञ्चालनका लागि आफू प्रयासरत्त रहेको र चाँडै नै प्रदेशसभा बैठक बस्ने बताए । मुख्यमन्त्री राउतले नेकपाले उठाएका मागहरु जायज र गम्भिर रहेकाले यसको लागि पहलकदमी लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप