बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तनावमा बिते कृष्णबहादुर महराका १३३ दिन

सोमबार, ०५ फागुन २०७६, १६ : ४९
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा अदालतबाट सफाइ पाएका छन् । जिल्ला  अदालत, काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

यसअघि काठमाडौँ जिल्ला अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

महरा १३३ दिन थुनामा 
बलात्कार अभियोगमा गत असोज १९ पक्राउ परेका महराले १३३ दिन थुनामा विताएका छन् । असोज १९ देखि फागुन ५ सम्म हिसाब गर्दा महरा १३३ दिन थुनामा तनावपूर्ण अवस्थामा विताएका छन् । हुन त पक्राउ पर्नुअघिका ६ दिन पनि महरा तनावमुक्त अवस्थामा रहन सकेका थिएनन् । 

यस्तो थियो घटनाक्रम 
२०७६ असोज १२ : बलात्कार गरेको अभियोग 

२०७६ असोज १४ : नेकपा सचिवालयले सभामुख र सांसद पदबाट राजीनामा दिन निर्देशन 

२०७६ असोज १४ : सभामुख पदबाट राजीनामा 

२०७६ असोज १९ : पक्राउ, त्यसको केही दिनमा मुद्दा दर्ता 

२०७६ कार्तिक १८ : पुर्पक्षका लागि थुनामा  

२०७६ मङ्सिर ५ : उच्च अदालतमा महराबाट पुनरावेदन 

२०७६ पुस ३ : थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर 

२०७६ फागुन ५ : जिल्ला अदालतबाट सफाइ 

महरामाथि २०७६ असोज १२ संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेको थियो । जुन घटना १३ असोजमा मिडियामा आयो । जसको महरा र उनको सचिवालयले आरोप अस्वीकार गर्दै विज्ञप्ति जारी गर्न पुग्यो । आरोपमाथि महराको सचिवालयले कर्मचारी समायोजनमा भनेको ठाउँमा नपरेपछि आफूमाथि रिस पोखिएको बताएको थियो । 

पछि महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतबाट अनुसन्धान गर्दा प्रहरीले महरा महिलाको डेरामा पुगेको निष्कर्ष निकाल्यो । यसरी महरा प्रकरण चर्किंदै गएपछि  असोज १४ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दियो । 

पार्टीको निर्देशनपछि महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट राजीनामा दिएन् । महराको राजीनामा आएलगत्तै पीडित महिलाले भिडियोमार्फत बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको बताइन् । 

पछि पीडित भनिएकी महिलाले अदालतमा बलात्कार प्रयास नभएको बयान पनि दिइन् । 

तर प्रमाणका आधारमा काठमाडौँ जिल्ला अदालतले महरा कसुरदार नठहरिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि महरा असोज १९ गते पक्राउ परे । पक्राउपछि उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखियो ।

डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालत गए र उच्चले जिल्लाको आदेश सदर गर्दै मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेशसमेत दियो । सोही मुद्दामा फागुन ४ गते आइतबार बहस सकियो र ५ गते आएको फैसलामा उनले सफाइ पाएका हुन् । यो एक सय ३३ दिनमा महराको सभामुख पद गए पनि उनले सफाई पाएसँगै सांसद पद निलम्वन फुकुवा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप