शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो पिण्ड सूर्य

सोमबार, ०५ फागुन २०७६, १६ : ३१
सोमबार, ०५ फागुन २०७६

पहिला प्रकाशित दुबै लेख पढेर  तिमीहरूलाई थाहा भयो होला  हामी बसेको  सौर्यमण्डलको केन्द्र सूर्य हो । सौर्यमण्डलमा रहेका सबै पिण्ड (ग्रह, वामन ग्रह, क्षुद्र ग्रह, धूमकेतु आदि) सबैले सूर्यको परिक्रमा गर्छन् । तर यो प्रमाणित रूपमा थाहा भएको  धेरै समय भएको छैन । सन १५४३ भन्दा पहिलासम्म के विश्वास गरिन्थ्यो भने ब्रह्माण्डको  केन्द्र हामी बसोबास गर्ने पृथ्वी हो । यस मान्यतालाई भू–केन्द्रित (जिओसेन्ट्रिक - Geocentric model) अवधारणा  भनिन्थ्यो ।

ग्रीक दार्शनिक प्लेटो र उनका शिष्य अरिस्टोटलले  ‘भू–केन्द्रित मोडेलको’ परिकल्पना गरेका थिए । क्लाउडिअम  टोलेमीले (Claudium   Ptolemy)  यस मोडेलको सैद्धान्तीकरण गरेका थिए ।

विश्वले झण्डै १५ सय वर्षसम्म ‘टोलेमीले प्रचारित गरेको   'जिओसेन्ट्रिक मोडेल’लाई मान्नु पर्‍यो  ।

सन् १५४३ मा पोल्याण्डका खगोलविद् निकोलस कोपरनिकसले ‘जिओसेन्ट्रिक माडेल’ लाई खारेज गर्दै सर्वप्रथम ‘सूर्य–केन्द्रित' (हेलियोसेन्ट्रिक-Heliocentric Theory  ) मोडेलको  चर्चा गरे ।


कोपरनिकस । http://www.messagetoeagle.com

कोपरनिकसको 'हेलियोसेन्ट्रिक’ अवधारणाले पृथ्वीको सट्टा सूर्यलाई केन्द्र भएको प्रमाणित गर्‍यो । यस मान्यतालाई प्रमाणित गर्न ग्यालिलियो, न्युटन , ब्रूनो र  केपलरको ठूलो भूमिका रह्यो ।

अब हामीलाई स्पष्ट र प्रमाणित रूपमा  थाहा छ, हाम्रो सौर्यमण्डलको केन्द्र सूर्य हो । सबै ग्रहले सूर्यको परिक्रमा गर्छन् ।

सूर्य ‘मिल्की वे’(Milky Way)  नामक आकाशगंगाको (Galaxy) एउटा मध्यम दर्जाको तारा हो । ब्रह्माण्डमा 'मिल्की वे' जस्ता खरबौं आकाशगंगाहरु छन् ।  ब्रह्माण्ड तथा हाम्रो आकाशगंगा 'मिल्की वे'मा सूर्यजस्ता एवं सूर्यभन्दा साना र सूर्यभन्दा ठूला ठूला अर्बौ ताराहरू रहेका छन् ।

हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो पिण्ड सूर्य नै हो । यसका साथ हामी बसेको पृथ्वीबाट आकाशमा देखिने सबैभन्दा ठूलो पिण्ड पनि सूर्य नै हो । तिमीहरुले कत्तिको ध्यान दियौ– मैले पृथ्वीबाट आकाशमा देखिने सबैभन्दा ठूलो पिण्ड सूर्य लेखेको हूँ ब्रह्माण्डको सबैभन्दा ठूलो पिण्ड लेखेको होइन। किनकि ब्रह्माण्डमा सूर्यभन्दा धेरै ठूला पिण्डहरु  रहेका छन् । यी ठूला पिण्डको तुलनामा हाम्रो  सूर्य त तिमीहरूले खेल्ने गुच्चा जत्रो पनि छैन । बेटलगुज (Betelgeuse) नामक तारा हाम्रो सूर्यभन्दा १ हज़ार गुना ठूलो छ ।

https://i.pinimg.com

त्यसै गरी अर्को तारा 'भी वाई कैनीस मैजोरिस' ( V Y Canis Majoris) हो । यो हाम्रो सूर्यभन्दा झण्डै २ हज़ार गुना ठूलो छ । यो तारा यति ठूलो छ कि यदि यसलाई हाम्रो सूर्यको स्थानमा राख्ने हो भने यसले शनि ग्रहलाई छुन्थ्यो । 'भी वाई कैनीस  मैजोरिस' तारा हामी बसेको पृथ्वीदेखि ३९०० प्रकाशवर्ष टाढा रहेको छ । यसको अर्थ यस ताराको प्रकाश पृथ्वीमा आइपुग्न ३९०० वर्ष लाग्छ । जस्तो  कि तिमीलाई थाहा छ, सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनट २० सेकेण्डको समय लाग्छ । यसको एउटा अर्थ यो पनि हो, हामीले जुनसुकै बेला पनि सूर्यलाई ८ मिनट २० सेकेण्ड पछि मात्र देखिरहेका हुन्छौं  । कथंकदाचित कुनै कारणले सूर्य नष्ट भयो भने हामीलाई   ८ मिनट २० सेकेण्ड पछि मात्रै थाहा हुनेछ । किनकि नष्ट  हुनु पूर्व  सूर्यबाट निस्केको प्रकाश ८ मिनट २० सेकेण्डसम्म पृथ्वीतिर आइराख्छ र त्यति समयसम्म हामीले आकाशमा सूर्य देखिरहने छौं । यसैगरी 'कैनीस मैजोरिस' तारा  कुनै दिन नष्ट भयो भने हामीलाई  त्यसको खबर ३९०० वर्षपछि मात्रै थाहा  हुनेछ । अहिले नै हामी जुन 'कैनीस मैजोरिस' तारा देख्छौ त्यो जीवित छ कि त्यसको प्रकाश मात्रै हामीसम्म आइरहेको छ यसबारे जान्ने कुनै उपाय हालसम्मको विज्ञानमा छैन ।

अब हाम्रै सूर्यको चर्चा गरौ । सूर्यको आकारको अनुमान पृथ्वीको तुलनामा बुझ्ने हो भने पृथ्वीको व्यास (Diameter) १२  हजार ७४२ किमी छ ।  सूर्यको व्यास भने १३  लाख ९२ हजार किमी छ । अनुमान गरी हेर त सूर्य पृथ्वीभन्दा कति  गुना ठूलो छ ? थाहा पाइराख सूर्यभित्र पृथ्वी जस्ता १०९ वटा  संरचना अटाउन सक्छन् ।

सौर्यमण्डलको कुल द्रव्यमानको (Mass)  ९९.८  प्रतिशत द्रव्यमान सूर्यसँग रहेको छ । यो पृथ्वीको द्रव्यमानको  तुलनामा ३ लाख ३२ हजार ९४६  गुणा बढी हो ।

सूर्यको द्रव्यमानमा सबैभन्दा बढी ‘हाइड्रोजन’को मात्रा छ । सूर्यमा ७३  प्रतिशत ‘हाइड्रोजन’, २५  प्रतिशत ‘हिलियम’ र बांकी  २ प्रतिशतमा  अन्य भारी तत्व जस्तै अक्सिजन, कार्बन, नियान, फलाम, नाइट्रोजन, सिलिकान, म्याग्नेसियम र सल्फर रहेका छन् ।

https://www.iter.org

सूर्यको केन्द्रमा प्रतिसेकेन्ड  ७०  करोड़  टन ‘हाइड्रोजन’ बलेर ‘हिलियम’ मा बदलिन्छ । हाइड्रोजन बल्ने यस प्रक्रियामा  प्रति सेकेण्ड ६९९५००० टन हीलियम निर्माण हुन्छ  बाँकी को ५० लाख टन हाइड्रोजन ऊर्जामा (एनर्जी) परिवर्तित भएर  सूर्यमा ताप र प्रकाश उत्पन्न हुन्छ । सूर्यमा बनेको यही प्रकाश र तापले गर्दा पृथ्वीमा जीवन सम्भव भएको हो । तिमीहरुलाई पत्याउन  गाह्रो होला सूर्यको केन्द्रमा यसरी निर्माण भएको एनर्जीलाई सूर्यबाट बाहिर निस्किन १० हज़ार देखि १७ हज़ार वर्ष लाग्छ । तर यो सत्य पनि हो ,तथ्य पनि हो तिमी हामी जुन प्रकाशका किरण हेर्छौ ती सूर्यको केन्द्रमा १०-१७ हज़ार वर्ष पहिला निर्मित भएका हुन्छन् ।

पृथ्वीले आफ्नो धुरीमा (Axis ) घुमे जस्तै सूर्य पनि आफ्नो धुरीमा घुम्छ । सूर्यलाई आफ्नो धुरीमा घुम्न २७  दिनको समय लाग्छ । तर सूर्य अति  विशाल एवं ठोस धरातलको नभएका कारणले  यसको सबै भागले २७ दिनमा एउटा परिक्रमा पूरा गर्दैन। तिमीहरुलाई पदार्थको तीन वटा अवस्थाबारे ज्ञान होला । ठोस (Solid), द्रव (Liquid) र गैसीय (Gas)। तर सूर्यमा यी कुनै अवस्थाका पदार्थ छैनन् । सूर्यमा रहेका पदार्थको अवस्थालाई 'प्लाज़्मा' (Plasma) भनिन्छ । सूर्यमा रहेको हाइड्रोजन, हीलियम, कार्बन, सल्फर आदि सबै 'प्लाज्मा' अवस्थामा छन् । हाम्रो सौर्यमण्डलमा सबैभन्दा बढ़ी मात्रामा पदार्थ यसै 'प्लाज़मा' अवस्थामा रहेको छ किनकि अब यो सर्वविदित तथ्य हो , सौर्यमण्डलको ९९.८ प्रतिशत द्रव्यमान सूर्यसँग छ ।

पृथ्वीले सूर्यको परिक्रमा  गरे झैं सूर्यले आकाशगंगा ‘मिल्की वे’ को केन्द्रको परिक्रमा गर्छ । सूर्यलाई आफ्नो एउटा परिक्रमा पूरा गर्न २४-२५ करोड वर्षको समय लाग्छ । सूर्य बनेदेखि अहिलेसम्म यसले  'ग्यालेक्टिकल सेन्टर'को (Galactic Center) २०  वटा परिक्रमा मात्र पूरा गरेको छ ।

सूर्यसँग अत्याधिक गुरुत्वाकर्षण ( Gravity)  छ । यही गुरुत्वाकर्षणका कारण सबै ग्रहले सूर्यको परिक्रमा गर्छन् । हाम्रो पृथ्वी त  सूर्यसँग जम्मा १४  करोड ९६  लाख किमी टाढा छ । सूर्यबाट सबैभन्दा टाढा रहेको ज्ञात क्षुद्रग्रह प्लूटो हो, जुन ३९ .५३  ‘एस्ट्रोनोमिकल यूनिट’ टाढा छ । सूर्यको प्रबल गुरुत्वाकर्षणका कारण प्लूटोले पनि  सूर्यको परिक्रमा गर्छ ।

सूर्यमा पृथ्वी भन्दा २८ गुणा बढी गुरुत्वाकर्षण छ

जसरी पृथ्वीबाट अन्तरिक्षमा जानलाई   ११ .२  किमी प्रति सेकेन्डको वेग चाहिन्छ । यो वेग नभएको खण्डमा अन्तरिक्षममा पठाउन खोजिएको  कुनै पनि वस्तु पृथ्वीको  गुरुत्वाकर्षण शक्तिका कारण भूमिमा ठोक्किन आइपुग्छ । यस गतिलाई पृथ्वीको पलायन वेग (Escape Velocity) भनिन्छ ।  यसरी  नै सूर्यबाट माथि जानलाई ६१७  दशमलब  ७  किमी प्रति सेकेन्डको वेग आवश्यक  हुन्छ । यो पृथ्वीभन्दा ५५  गुना बढी हो । पृथ्वीको पलायन वेग ११.२ किमी प्रति  सेकेण्ड हो भने सूर्यको 'इस्केप भेलोसिटी ' ६१७  दशमलब  ७  किमी प्रति सेकेन्ड हो । सबै ग्रहको गुरुत्वाकर्षण शक्ति फरक फरक हुन्छ ।  गुरुत्वाकर्षण शक्ति फरक भएका कारण प्रत्येक ग्रहको पलायन वेग पनि फरक फरक रहेको छ ।

पृथ्वीमा गर्मी महिनामा कहिले काही कुनै कुनै स्थानमा  तापक्रम ५०-५२  डिग्री सेन्टीग्रेडसम्म पुग्छ । खपीनसक्नु गर्मी  हुन्छ । अन्दाज गर सूर्यको तापमान कति हुन्छ  होला ?

सूर्यको केन्द्रको तापमान १.५ करोड डिग्री सेल्सियससम्म हुन्छ । यसैगरी सूर्यको बाहिरी सतहमा तापमान ५ हजार ६ सय डिग्री सेल्सियस हुने गर्छ ।

पृथ्वीमा जीवन सूर्यबाट प्राप्त हुने ताप र प्रकाशले सम्भव भएको हो । पृथ्वी सूर्यदेखि ''परफेक्ट ह्यभिटेबल जोन'' मा भएका कारण यहाँ   तरल पानीको उपलब्धता सम्भव भएको हो । पृथ्वीमा सूर्यबाट आउने   तापको मात्रा  बढेमा हामीलाई बाँच्न चाहिने सारा पानी वाष्प बनेर वायुमण्डलमा उड्ने थियो र यसैगरी सूर्यबाट आउने ताप  कम भएमा यहाँ पानीको सट्टा हिउँको साम्राज्य स्थापित हुने थियो  ।

सूर्यबाट प्राप्त प्रकाशले नै पृथ्वीका समस्त  वनस्पति जगतले प्रकाश संश्लेषण प्रक्रिया (Photosynthesis)  बाट आफ्नो भोजन बनाउँछन् । यसरी वनस्पतिले बनाएको भोजनबाट हामी भोजन प्राप्त गर्छौं ।

सूर्य नभए पृथ्वीमा जीवनको कल्पना पनि गर्न सकिन्न । सूर्य नै पृथ्वीमा पाइने सबै किसिमको जीवनको आधार हो ।

सूर्यबारे संक्षेपमा

स्थिति  (Location ) : मिल्की वे आकाशगंगाको केन्द्रबाट २७ हज़ार प्रकाशवर्ष  टाढा 

व्यास    (Diameter) :  १३,९२००० किमी       (पृथ्वीभन्दा १०९ गुना बढ़ी)

सूर्यको द्रव्यमान (Mass)  :  १.९८८५ ×१०३०  किलोग्राम (पृथ्वीभन्दा ३३२९४६ गुना बढ़ी)

आयतन (Volume) : १.४१ ×१०१८  किमी (पृथ्वीभन्दा  १० लाख गुना बढ़ी)   

परिधि  (Circumfrence) :  ४.३७९ ×१०  किमी (पृथ्वीभन्दा १०९ गुना बढ़ी)

क्षेत्रफल (Area) : ६.०९ ×१०१२  किमी (पृथ्वीभन्दा १२ हज़ार गुना बढ़ी)

औसत घनत्व (Avarage  Density) :  १.४०८  ग्राम /सेंटीमीटर  (पृथ्वीको घनत्व  ५.५१  ग्राम  / सेंटीमीटर पृथ्वीको  ०.२५५   मात्रै)

केन्द्रको घनत्व ( Center Density) : १६२.२  ग्राम /सेंटीमीटर  ( पृथ्वीभन्दा २९ गुना बढ़ी)

गुरुत्वाकर्षण   (Gravity) :  २७४ मीटर /से  ( पृथ्वीभन्दा २८ गुना बढ़ी)

पलायन वेग (Escape Velosity) : ६१७१७ किमी /से  (पृथ्वीभन्दा ५५ गुना बढ़ी) 

सूर्यको तापमान      ( Temperature) 

केन्द्रको (Center)  : १.५७× १० केल्भिन  (K)

फोटोस्फेयरको (Photosphere) :  ५,७७२ केल्भिन

कोरोनाको (Corona) :  ५×१०६ केल्भिन

सूर्यको बितेकाे आयु (Age) :  ४.६ अर्ब वर्ष

सूर्यको बाँकी आयु (Age) : झन्डै ५ अर्ब वर्ष

पृथ्वीदेखि सूर्यको दुरी (Distance)  :  १२ करोड़ ९६ लाख किमी  अर्थात १ एस्ट्रोनोमिकल यूनिट अथवा ८ मिनट २० प्रकाश सेकेण्ड

मिल्की वेको केन्द्रबाट सूर्यको दुरी : २७२०० प्रकाश वर्ष

मिल्की वेको केन्द्रको परिक्रमामा लाग्ने समय (Galactic  period) : २२.५ - २५ करोड़ वर्ष

मिल्की वेको परिक्रमा गर्ने गति : २२० किमी प्रति सेकेण्ड

अक्षको परिक्रमा गर्न लाग्ने समय (Sidereal rotation   period) :  २५.०५ -३४दशमलब ४ दिन ( पृथ्वी भन्दा २५ -३४ गुना बढ़ी समय लाग्ने)

सूर्यले अक्षको परिक्रमा गर्ने औसत गति: ६०० मीटर प्रति सेकेण्ड ( पृथ्वीको परिभ्रमण गति 465  मीटर प्रति सेकेण्ड)   

सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न लाग्ने समय  :  ५०० सेकेण्ड अर्थात ८ मिनट २० सेकेण्ड                             


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र
लेखकबाट थप