बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिलोपटक सबैलाई समेटेर ज्योतिष कक्षा सञ्चालन गर्दै पञ्चाङ्ग समिति

सोमबार, ०५ फागुन २०७६, १४ : १०
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पहिलोपटक महिला, जनजाति र पिछडिएका वर्ग सबैको सहभागिता हुने गरी कर्मकाण्ड र ज्योतिष कक्षा सञ्चालन गर्न लागेको छ । शास्त्रीय विधान, नीति र नियमका बारेमा जानकारी दिने उद्देश्यले समितिले पहिलो पटक फागुन अन्तिम साताबाट कक्षा सञ्चालन गर्न आह्वान गरेको समितिका सदस्यसचिव एवं सूर्य पञ्चाङ्कार ज्योतिषी सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यसअघि पनि समितिले पटक–पटक ज्योतिषीका कक्षा सञ्चालन गर्दै आएको थियो । यसपटक कर्मकाण्ड र ज्योतिष दुवै विशेष कक्षा सञ्चालन गर्न लागेको हो । ज्योतिषी बन्न चाहने र समाजमा कर्मकाण्डको महत्व बुझेर काम गर्न सक्ने जनशक्ति आवश्यक रहेको भन्दै विशेष प्रशिक्षणका लागि देशभरबाट अध्ययन गर्न इच्छुकहरु सम्पर्कमा आएको समितिले जनाएको छ ।

जाति विशेष मात्र होइन, महिला र जनजातिहरुबाट पनि कर्मकाण्ड र ज्योतिष अध्ययन गर्ने चाहना व्यक्त भएपछि समितिले कक्षा सञ्चालन गरेको हो । शास्त्रीय मर्यादा, अनुशासन र नैतिक आचरण भएका व्यक्तिहरुले मात्र कर्मकाण्ड र ज्योतिषी अध्ययन गरी समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्नेछ ।  सदस्यसचिव ढुङ्गेलले भने,‘हामीले दिने विशेष कक्षामा शास्त्रीय आधारमा हामी कर्मकाण्ड र ज्योतिषीको कक्षा सञ्चालन गछौं ।’
समाजमा शास्त्रीय मर्यादाअनुसार ज्योतिषी र कर्मकाण्ड व्यवहारिक ज्ञान सिकाउने विशेष कक्षामा बाल्मिकी विद्यापीठका अध्यापक, ज्योतिषी र कर्मकाण्ड अध्येताले प्रशिक्षण दिने समितिले जनाएको छ ।

वाल्मिकी विद्यापीठ ज्योतिषका उपप्राध्यापक पुरुषोत्तम भट्टराईले समितिले आयोजना गर्ने विशेष प्रशिक्षण कक्षाबाट कर्मकाण्ड र ज्योतिषी अध्ययनका रुचि राख्नेहरुको व्यवहारिक र जीवनोपयोगी हुने बताए । शास्त्रीय ज्ञान र व्यवहारिक ज्ञान समावेश गरी तयार गरिएको पाठ्यक्रम भएकोले छोटो समयमा व्यवहारिक जीवनमा आवश्यक पर्ने ज्योतिषी र कर्मकाण्ड गर्नसक्ने जनशक्ति उत्पादन हुने बताए ।

उनले भने, ‘यसपटक महिला, जनजाति र पिछडिएको बर्गको सहभागिता गराउने समितिको योजना छ ।’ कर्मकाण्ड र ज्योतिषीमा गरी ४० देखि ५० जनाले प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप