शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होराइजन अपार्टमेन्टको सरकारी कागजात नै गायव !

स्थानीयलाई ढाँटेर बनाइएको थियो १८ तलाको टावर
सोमबार, ०५ फागुन २०७६, १२ : ०४
सोमबार, ०५ फागुन २०७६

भूकम्प गएको ५ वर्ष पूरा हुन लाग्यो तर पनि धापासीका स्थानीय बासिन्दा अहिले पनि आनन्दले निदाउन पाउँदैनन् । आफ्नै घर अगाडिको जीर्ण संरचना र अग्लो भवनले उनीहरुको दिनको त्रास मात्रै बढाएको छैन, रातको निन्द्रा पनि गायव भएको छ ।

स्थानीयलाई सधैँ त्रसित बनाइरहने धापासी हाइटको पार्क भ्यु होराइजन अपार्टमेन्टको अर्को बदमासी पनि बाहिर आएको छ । स्थानीयसँग ११ तलाको मात्रै बिल्डिङ बनाउने सहमति लिएको पार्क भ्यु होराइजन अपार्टमेन्टले सरकारी पक्षसँग साँठगाँठ गरी १८ तलाको भवन निर्माण गरेको खुल्न आएको छ ।

धापासीका स्थानीय रमेश कुँवरका अनुसार सुरुमा पार्क भ्यु होराइजन अपार्टमेन्टले ९ तलाको बिल्डिङ बनाउने भनेर स्थानीय जनता तथा जनप्रतिनिधिहरुलाई राखेर सार्वजनिक सुनुवाइ गराएको थियो । सार्वजनिक सुनुवाइ गर्दा पनि स्थानीयलाई झुक्याएर हस्ताक्षर गराइएको तथा कतिपयको नक्कली हस्ताक्षर गराइएको स्थानीयको गुनासो छ ।

पार्क भ्यु होराइजन अपार्टमेन्ट बनाउने समयमा सार्वजनिक सुनुवाइ भनेर कार्यक्रम राखिएको थिएन । ‘स्थानीयसँग चिनापर्ची कार्यक्रम’ भनेर राखिएको भेटघाटलाई नै पछि सार्वजनिक सुनुवाइ गरिएको भन्दै कागजात तयार पारिएको स्थानीय पार्क भ्यु होराइजन अपार्टमेन्टबाट पीडित बनेका रमेश कुँवर बताउँछन् ।


वरुण डेभलपर्सले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए रिपोर्ट) मा पनि २ तलाको अन्डरग्राउन्ड पार्किङ तथा ग्राउन्ड फ्लोर गरी ३ तला र माथि अधिकतम ११ तला गरी कुल १४ तलासम्मको भवन बनाउने उल्लेख गरिएको छ ।


त्यही भेटघाटका क्रममा पार्क भ्यु होराइजनको निर्माण कम्पनी बरुण डेभलपर्सले २ तलाको अन्डरग्राउन्ड र माथि ९ तलाको दरले ५ वटा ‘टावर’ बनाउने भनेर स्थानीयसँग छलफल भएको थियो । तर टावर निर्माण गर्ने क्रममा भने बरुण डेभलपर्सले २ तलाको अन्डरग्राउन्ड, १ तलाको ग्राउन्ड फ्लोर र माथि ११ तलाको भवन निर्माण गर्ने गरी कागजात तयार पारेको थियो ।

वरुण डेभलपर्सले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए रिपोर्ट) मा पनि २ तलाको अन्डरग्राउन्ड पार्किङ तथा ग्राउन्ड फ्लोर गरी ३ तला र माथि अधिकतम ११ तला गरी कुल १४ तलासम्मको भवन बनाउने उल्लेख गरिएको छ ।

त्यही आधारमा सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालय काठमाडौँले पनि २०६४ साल पुस २२ गते बेसमेन्टबाहेक १२ तला अर्थात् अन्डरग्राउन्ड सहित अधिकतम १४ तलाको भवन निर्माण गर्ने गरी स्वीकृति दिएको थियो ।


हेर्नुहोस्, विभागको काठमाडौँ डिभिजन कार्यालयले दिएको पहिलो स्वीकृतिको पत्र ।

पहिलो स्वीकृति पाउँदा बरुण डेभलपर्सले जम्मा २२ रोपनी ७ आना २ पैसा जग्गा खरिद गरेको थियो । त्यही आधार एफएआर (फ्लोर एरिया रेसियो) तथा अन्य कानुनी आधार हेरेर उसलाई ११ तलासम्मको टावर निर्माणको स्वीकृति दिइएको थियो । तर जब बरुण डेभलपर्सले धापासी हाइटमा रहेको आफ्नो अपार्टमेन्टको उचाइ अझै बढाउन थाल्यो, स्थानीयले त्यसको विरोध गरे । आफूहरु असुरक्षित हुने भन्दै थप तला निर्माण नगर्न स्थानीयले अवरोध गरे पनि बरुण डेभलपर्सले आफूले पूर्वस्वीकृति लिएर नै टावरको तला थपेको बतायो । जब कि उसले न नयाँ ईआईए रिपोर्ट बनायो (ईआईए रिपोर्ट हालसम्म मन्त्रालय र सहरी विकास विभागमा नपाइएको) न त स्थानीयलाई जानकारी नै दियो । तर उसले पहिले किनेको जग्गामा ५ रोपनी ८ आना जग्गा थप किनेर उसले अपार्टक्षेत्रको कुल क्षेत्रफल २७ रोपनी १५ आना २ पैसा १ दाम बनायो र आफूले बनाउने अपार्टमेन्टको तला थप्ने गरी स्वीकृति लिएको देखिन्छ ।

बरुण डेभलपर्सलाई स्वीकृति दिन सहरी विकास विभागको हतार

त्यसका लागि सुरुमा बरुण डेभलपर्सले काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति, काठमाडौँमा प्लानिङ परमिटमा संशोधनका लागि निवेदन दिएको देखिन्छ । जसमा पहिले कुल १ सय ८५ फ्ल्याट बनाउने भनिएकामा संशोधित प्लानिङमा कुल २ सय १३ वटा फ्ल्याट बनाउने र पहिले माथि अधिकतम ११ तलासम्म बनाउने स्वीकृति लिएकामा अब माथि नै १५ तला गरी कुल १८ सम्मको भवन बनाउने कुरा उल्लेख थियो ।

उसले प्रस्ताव गरेकै आधारमा काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति, काठमाडौँले बरुण डेभलपर्सको तला थपको सम्बन्धमा स्वीकृति प्रदान गरेको देखिन्छ ।

हेर्नुहोस्, काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति, काठमाडौँले बरुण डेभलपर्सलाई दिएको पत्र ।

काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति, काठमाडौँले २०६८ साल जेठको २४ गते बरुण डेभलपर्सलाई पत्र दिँदै संशोधित नक्सा पास गरिएको जानकारी दिएको छ ।

त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागले पनि २०६८ वैशाख २६ गते बरुण डेभलपर्सलाई १८ तलासम्मको भवन निर्माण गर्न स्वीकृति दिएको देखिन्छ ।

हेर्नुहोस्, सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालय काठमाडौँले बरुण डेभलपर्सलाई दिएको पत्र ।

जबकि कानुनी आधार हेर्ने हो भने पहिले काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति, काठमाडौँले स्वीकृति दिएपछि सोको जानकारी बरुण डेभलपर्सलाई दिनुपर्ने थियो र सो कुराको बोधार्थ डिभिजन कार्यालय काठमाडौँलाई दिनुपर्ने हो । तर नगर विकासबाट कुनै प्रतिवेदन र पत्र नआउँदै सहरी विकास तथा भवन निर्माण विभागले हतारहतारमा उपत्यका विकास प्राधिकरणबाट पत्र आउनुभन्दा एक महिना पहिले नै बरुण डेभलपर्सलाई संशोधित निर्माण स्वीकृति दिएको देखिन्छ ।

होराइजन अपार्टमेन्टको सक्कली फाइल नै गायब !

भूकम्पपछि रातो स्टिकर लागेर बस्नका लागि मात्रै होइन, वरिपरि जानका लागि पनि असुरक्षित भनिएको पार्क भ्यु होराइजन अपार्टमेन्टले करिब ३ वर्ष अगाडि नै रेस्टोरेसन अर्थात् पुनस्र्थापनाका लागि भवन निर्माण विभागबाट स्वीकृति लिएको बुझिएको छ । भूकम्पपछि उसले उक्त भवन पुनिर्निर्माण गरी बस्न योग्य बनाउने भन्दै ३० महिनाको समय लिएर स्वीकृति लिएको थियो । तर त्यो समय पनि गुज्रिसकेको सहरी विकास तथा भवन निर्माण विभागका एक कर्मचारीले रातोपाटीलाई बताए ।

समयमै भवनको पुनर्निर्माण गर्न नसकेपछि समय थप लगायतका विषयमा कुरा गर्न बरुण डेभलपर्सका कर्मचारीहरु पटक पटक सहरी विकास विभागसमेत आएका थिए । तर विभागबाट ग्रिन सिग्नल नपाएपछि उनीहरु तत्कालीन मन्त्री मोहम्मद इस्तियाक राई समक्ष गुहार माग्न पुगेको विभाग स्रोतको दाबी छ ।

त्यसै क्रममा तत्कालीन मन्त्री मोहम्मद इस्तियाक राईको निजी सचिवालयले पार्क भ्यु होराइजन अपार्टमेन्टसँग सम्बन्धित फाइलको सक्कलैप्रति मगाएको पाइएको छ । अपार्टमेन्टको संशोधन स्वीकृति तथा पुनर्निर्माण गर्न मिल्ने वा नमिल्ने भन्ने विषय प्राविधिक विषय भए पनि तत्कालीन मन्त्री इस्तियाक राईको सचिवालयले पार्क भ्यू होराइजन अपार्टमेन्टको पुनः सञ्चालनका लागि धेरै दौडधूप गरेको देखिन्छ ।

मन्त्रीको निजी सचिवालयबाट सक्कलै फाइल माग भई आएपछि सहरी विकास तथा भवन निर्माण विभाग २०७६ कात्तिक १ गते पार्क भ्यु होराइजन अपार्टमेण्टसम्बन्धी ३ सय ६३ पृष्ठको सक्कल कागजात तत्कालीन मन्त्री इस्तियाक राईको सचिवालयलाई पठाएको देखिन्छ ।

हेर्नुहोस्, विभागले मन्त्रीको निजी सचिवालय​लाई पठाएको पत्र ।

तर विभागबाट फाइल गएको ४ महिना बितिसक्दा पनि पार्क भ्यु होराइजनसम्बन्धी फाइल यतिबेलासम्म सहरी विकास तथा भवन निर्माण विभागमा फिर्ता भएको छैन ।

बरु तत्कालीन मन्त्री इस्तियाक राईलाई हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रीको समेत जिम्मेवारी दिएका छन् भने रामवीर मानन्धर कार्यकारी मन्त्री जस्तै भएर गएको मङ्सिर ५ गतेदेखि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

तर सहरी विकास मन्त्रालयमा पनि पार्क भ्यू होराइजनसम्बन्धी फाइल भेटिएको छैन । मन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा राज्यमन्त्री रामवीर मानन्धरको निजी सचिवालयमा सम्पर्क गर्दा दुवैतर्फ उक्त फाइल नभेटिएको जानकारी आएको छ । यद्यपि उक्त फाइलको खोजी भने जारी राखिएको मन्त्री र राज्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप