शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मोल्डसेल’ किनेपछि सीजीको नेपालमा लगानी के हुन्छ ?

महाप्रबन्धक पौड्याल भन्छन्, ‘नेपालमा युनिफाइड लाइसेन्सको व्यग्र प्रतिक्षामा छौँ’
सोमबार, ०५ फागुन २०७६, ११ : ४४
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । चौधरी ग्रुपको सीजी कर्प ग्लोबलले युरोपेली टेलिकम कम्पनी ‘मोल्डसेल’ किन्ने भएको छ । सीजी कर्पले आफ्नो पूर्ण स्वामित्व रहने गरी मोल्डसेल किन्न गत शुक्रबार नै युरोपेली टेलिकम कम्पनी टेलियासँग सम्झौता गरिसकेको छ ।

कम्पनीले ३१.५ मिलियन अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब ३ अर्ब ५८ करोड) रुपैयाँमा मोल्डोभाको कम्पनी मोल्डसेल किन्नेगरी सम्झौता गरेको हो ।

सो कम्पनी अहिले फिन्चर होल्डिङ्सको शतप्रतिशत स्वामित्वमा छ । यो टेलिया कम्पनीको शतप्रतिशत स्वामित्वमा रहेको होल्डिङ कम्पनी हो ।

सीजी सेल टेक्नोलोजीमा भने सीजी कर्प ग्लोबलको शतप्रतिशत होल्डिङ्स छ जुन चौधरी ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय होल्डिङ कम्पनी हो ।

सीजीसँग कम्पनी बिक्रीको सम्झौता गर्दै टेलिया कम्पनीका कार्यवाहक अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत क्रिष्टिन लुइगाले कम्पनी बिक्री गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । र भावी यात्राका लागि सीजीलाई शुभकामनासमेत व्यक्त गरेका छन् ।

‘यो घोषणा गर्दैगर्दा मलाई खुसी लागेको छ कि हामीले युरेसिया क्षेत्रबाट बाहिरिएर नर्डिन र वाल्टिक मार्केटमा आफूलाई पूर्ण केन्द्रित गर्ने यात्रा पूरा गर्यौ । मोल्डसेल एकदमै लगनशील र सक्षम कर्मचारीहरुद्वारा राम्रोसँग सञ्चालन भइरहेको कम्पनी हो । म उनीहरुलाई वर्षौँको अथक योगदानका लागि धन्यवाद दिन्छु । कम्पनीको अर्को चरणको लागि अल द बेष्ट भन्न पनि चाहन्छु’, टेलिया कम्पनीका कार्यवाहक अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत क्रिष्टिन लुइगाले भने ।

नर्डिन को—अपरेसन अन्तर्गत डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्वीडेन, फारोज आइसल्यान्ड, ग्रिनल्यान्ड र अल्यान्ड क्षेत्रहरु पर्छन् । त्यस्तै, बाल्टिक को—अपरेसन अन्तर्गत नर्डिक को—अपरेसनमा रहेका डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीकेनका अतिरिक्त इस्टोनिया, लाटभिया, लिथुआनिया समावेश छन् । टेलियाले मोल्डसेल बिक्री गरेसँगै यी क्षेत्रबाहेक अन्यत्रको लगानी डाइभेष्ट गरिसकेको जनाएको हो ।

नेपालमा लगानी के हुन्छ ?

ग्रामीण दूरसञ्चार अन्तर्गत सीमित दूरसञ्चार सेवा सञ्चालन गर्दै आएको टेलिकमले युनिफाइड लाइसेन्सका लागि अनुमति मागेको थियो । एकीकृत लाइसेन्स पाएको भए सीजीले आफ्नो सेवा देशभरी विस्तार गर्न पाउँथ्यो । तर लाइसेन्सको शर्त पूरा नभएको भन्दै प्राधिकरणले सीजी टेलिकमलाई लाइसेन्स दिन अस्वीकार गर्दै आएको छ । युनिफाइड लासेन्सका लागि सीजी टेलले एकमुस्ट २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने दूरसञ्चार प्राधिकरणले बताएको छ ।

यद्यपि सरकारले लाइसेन्स दिएमा अझै पनि नेपालमा प्रतिबद्धता अनुसारको लगानी गर्ने चौधरी ग्रुपले जनाएको छ । चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलले युरोपमा किनिएको भनिएको टेलिकम कम्पनी सीजी कर्प ग्लोबलले किनेको बताउँदै यो लगानीसँग आफूहरुको कुनै सम्बन्ध नभएको बताए ।

‘चौधरी ग्रुप र सीजी कर्प ग्लोबलसँग कुनै सम्बन्ध छैन, त्यहाँ नेपालको लगानी गएको पनि होइन, हामी नेपालमा अहिले पनि लाइसेन्स लिने प्रक्रियामै छौँ । यो प्राप्त गर्ने ब्यग्र प्रतिक्षामा छौँ, लाइसेन्स पाउनेबित्तिकै टेलिकम सेवा विस्तार गर्ने तयारी पनि गरेका छौँ,’ महाप्रबन्धक पौडेलले भने ।

यदि सीजीले युनिफाइड लाइसेन्स पाएमा नेपाल भर दुरसञ्चार सेवामा भ्वाइस सेवा निःशुल्क र डाटामा ५० प्रतिशतसम्म छुट दिने सीजीले घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप