शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा (भिडियो)

सोमबार, ०५ फागुन २०७६, १० : २२
सोमबार, ०५ फागुन २०७६

नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् ।

स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’

आफू निकै सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् । पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए ।

नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् । अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको उनले बताए ।

अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’

अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ बताएका छन् । यसलाई आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रुपमा पनि हेरेका छन् ।

तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गर्छन् । जवाफमा निर्णायकमा रहेकी गायिका केटी पेरीले दुई हात जोडेर नमस्ते फर्काउँछिन् ।

त्यसपछि केटी पेरीले उनलाई उनको नामको अर्थ सोध्छिन् । जवाफमा उनले भन्छन्, ‘प्रकाश’ । त्यसपछि केटी पेरीले थप्छिन्, ‘यसको अर्थ तिमी ‘द बेस्ट’ (उत्कृष्ट) हौ ।  

उनले अडिसनमा दुईवटा गीत गाउँछन् । सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाउँछन् । त्यसपछि उनलाई अर्को गीत गाउन भनिन्छ । यसपटक केटी पेरीले एउटा माग राख्छिन्, ‘यसपटक गाउँदा तिमी आँखा खोलेर कि त हामीलाई हेर, कि गितारलाई’ । दोस्रो गीत उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाउँछन्, निकै हाँसीहाँसी केटी पेरीले भने जसरी ।

उनको प्रस्तुतीमा निर्णायक पनि खुसी हुन्छन् । गायक तथा गीतकार  लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हाल्छन् ।

अर्को निर्णायकले लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन् । केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन् ।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई भन्छन्, ‘यू आर गोइङ्ग टु हलिउड ।’

दिवेशले प्रलय, खोज, म, कर्णालीलगायतका नेपाली गीत पनि गाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप