मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसले २०२० मा विश्वव्यापी आर्थिक वृद्धिलाई प्रभावित पार्नसक्ने

आइतबार, ०४ फागुन २०७६, २३ : २३
आइतबार, ०४ फागुन २०७६

चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताउनुभएको छ । तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने उहाँले बताउनुभएको हो । 

दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आउनुभएका आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले भन्नुभयो, “आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको छ ।”
 
करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उहाँको तर्क थियो ।

जर्जिएभाले भन्नुभयो, “म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ । हामी परिदृश्यहरूसँगै काम गर्छौं अनुमानका भरमा मात्रै होइन । आगामी १० दिनमा मलाई सोध्नुहोस यसबारे स्वभाविक नतिजा भन्नुसकौँला ।”  

आइएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो । सन् २०१९ मा आर्थिक वृद्धि दर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो । 

विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो ।

महामारीको पूर्ण प्रभावको आँकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गर्नुभयो । 

उहाँले थप्नुभयो, “आर्थिक प्रक्षेपणलाई परिवर्तन गरिहाल्नु अहिल्यै कठिन छ किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन । हामीलाई थाहा छैन कि चीनले कत्ति छिटो यसलाई नियन्त्रणमा ल्याउने छ । यो बाँकी विश्वमा फैलिनेछ वा छैन हामीलाई अहिले थाहा छैन ।”

चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीब्र कटौती हुने उहाँको धारणा थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उहाँले भन्नुभयो, “हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक बृद्धि, कम ब्याज दर र कम मुद्रास्फीतिमा अडिएका छौं ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप