बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा बैठक : शून्य समयमा कसले के भने ?

आइतबार, ०४ फागुन २०७६, २२ : ५४
आइतबार, ०४ फागुन २०७६

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा भाग लिने सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरुले उखु खेती गर्ने किसानले सरकारले तोकेबमोजिमको उखुको मूल्य अझै पाउन नसकेकाले तोकिएको मूल्य पाउने व्यवस्था गर्न, स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचार व्यवस्था प्रभावकारी बनाउन, लागुऔषध ओसारपसार र कारोवारको समस्या रोकथामको पहल गर्न, छाडाचौपायाको व्यवस्थापन गर्न, मिचिएको नेपालको भूमि कालापानी लिपुलेक फिर्ता ल्याउन प्रभावकारी पहल गर्न, सङ्घीयता कार्यान्वयनमा भइरहेका कमी कमजोरीका कारण जनतामा निराशा छाएकाले सच्चिएर अघि बढ्न, आफूखुशी ढङ्गले योजनाहरु र बजेट बाँडफाँट नगर्न ध्यानाकर्षण गराए । 

प्रतिपक्षी सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानीको विषयमा प्रदेशसभामा दर्ता गरिएको सङ्कल्प प्रस्तावका विषयमा छलफल गरी भूमि फिर्ता गराउन पहल गर्न, सामाजिक विकास मन्त्रालयमा एम्बुलेन्स खरिद गर्दा भएको भनिएको अनियमितताको छानबिनका लागि सर्वदलीय छानबिन समिति गठन गर्न, टीकापुर घटनाको सत्यतथ्य छानबिनका लागि गठित गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै घटनाका निर्दोषलाई रिहाइ गर्न र यसै विषयलाई लिएर केही दिनदेखि धनगढीमा आमरण अनशनरत् थारू नेता लक्ष्मण थारूका माग सम्बोधनको पहल गर्न ध्यानाकर्षण गराए ।

शून्य समयमा भाग लिनेमा सत्तापक्ष नेकपाका कुलवीर चौधरी, नेपालु चौधरी, महेशदत्त जोशी, लीलाधर भट्ट, शान्ति नेपाली, प्रतिपक्ष नेपाली काँग्रेसका डा रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी थिए ।

बैठकमा प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’को प्रतिवेदन समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गए । अर्को बैठक यही फागुन ५ गते दिनको १ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप