मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जनयुद्धताका पार्टी एकताका लागि भएको छलफलमा ओलीले तिखो कुरा गर्नुभयो : प्रचण्ड

आइतबार, ०४ फागुन २०७६, २० : २६
आइतबार, ०४ फागुन २०७६

 बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले  तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताका लागि जनयुद्धकालदेखि नै छलफल र लिखित दस्तावेज तयार हुँदै आएको बताएका छन् । 

नेकपा प्रदेश ५ को प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘कमरेड केपी ओलीजी र मैले कुन परिस्थित र पृष्ठभूमिमा  पार्टी एकताको पहल गरौं भन्ने निश्कर्षमा पुग्यौं र,  संकल्प गरेर चुनावमा  जाऔं  भन्ने  कुरा बुझाउन आवश्यक ठाने मैले । पार्टी एकताको लामो पृष्ठभूमि भन्न परेन अहिले,’ अध्यक्ष प्रचण्डले भने ।

‘एकातिर शान्तिपूर्ण आन्दोलन र अर्कोतिर जनआन्दोलन पनि चलिराखेकै थियो,’ उनले  थपे, ‘२०५६ सालदेखि पार्टी एकताका बारेमा  हाम्रो छलफल भएको थियो  । जुन कुरा सुरक्षाका कारण हामीले तलसम्म जानकारी नदिएको हो । कमरेड  केपी ओली र मेरो  २०५८ सालमा भेट भएको थियो । त्यस बेला हामीबीच लामै  छलफल र वहस चलेको थियो । उहाँ पनि  तिखो कुरा राख्ने मान्छे,  तिखा कुरा गर्नुभयो । हामी   पनि बन्दुक बोकेका मान्छे, तिखो कुरा गर्ने नै भयौं ।  दुबैले घनीभूतसँग कुरा राख्यौं।’

आफूहरुबीच तीन घण्टासम्म छलफल भएको उनले बताए । ‘त्यतिबेला तीन घण्टासम्म हामीबीच बहस भएको थियो मैले तपाईंहरुलाई शेयर गर्न चाहें ।  उहाँले भन्नुभएको थियो, तपाईं त मैले सुनेको भन्दा बेग्लै हुनुहुँदो रहेछ, राष्ट्रिय अन्तरािष्ट्रय परिस्थितबारे पनि सबै भन्नुभयो  ।’ प्रचण्डले अगाडि भने, ‘तपाईंका बारेमा पनि मैले जे सुनेको थिएँ, त्यो तपाईंमा पाइनँ, अब म तपाईंका बारेमा बेग्लै धारणा बनाउने छु ।’ 

उनले त्यस यता विभिन्न रुपमा  र विभिन्न ठाउँमा पटक पटक पार्टी एकताका लागि पहल भएको र  पछिल्लो चरण २०६३ सालमा  काभ्रेको फुलवारीमा दुबै पार्टीका शीर्ष नेताहरुबीच  दस्तावेजसहित पार्टी एकताको प्रकृया अगाडि बढाइको बताए । जुन  छलफलमा तत्कालीन एमालेका  वरिष्ठ नेता माधवकुमार नेपालदेखि  अन्य शीर्ष नेता र तत्कालीन माओवादीका रामबहादुर थापादेखि मोहन वैद्य (किरण) , बाबुराम भट्टराई र विप्लवसम्म सहभागी रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘माधवजीसँग २०६४ सालको चुनावमा गठबन्धन गरेर चुनाव लडौं भनेर मैले भने कै हो । हामीलाई ५०  प्रतिशत तपाईंहरुलाई  ५० प्रतिशत  सिट  बाँडफाँड गरेर चुनाव लडौं ।  तर उहाँहरुले  हामीलाई ४५ प्रतिशत पनि  दिन नमानेपछि त्यतिबेला एकता हुन नसकेको हो । तर म आफैले नसोचेको परिणाम २०६४ सालमा आयो,’ उनले भने ।

तत्कालीन समयमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफूलाई चाहिने आफ्नो दम्भका कारण पार्टी एकता हुन नसकेको बताए । 

‘त्यति बेला हामी हौसियौं  । राष्ट्रपति पनि हामीलाई नै चाहिने, प्रधानमन्त्री पनि हामीलाई सबैथोक हामीलाई नै चाहिने दम्भ हुँदा  पार्टी एकताले गति लिन नसकेको हो । पहिलो संविधनसभा निर्वाचनमा जनताले  तत्कालीन एमालेलाई पछारिदिए,’ प्रचेडले भने, ‘दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीलाई  जनताले एमालको अघिल्लो चुनावको ठाउँमा  पछारिदिए ।  यी यावत कुराको  हामीले गम्भीर  समीक्षा गरेपछि  अब  कम्युनिष्टरु  एक भएर जानुपर्छ भनेरै पार्टी एकता गरिएको हो ।’

जनयुद्धकालदेखि शीर्ष नेताहरु मिल्दै आए पनि कार्यकर्ताहरु आफू–आफूमा लडेको उनले बताए । ‘हामीहरु पार्टी एकताका लागि  मिलेकै थियौं’ कार्यकर्तातिर इंगित गर्दै उनले भने ,‘बरु तपाईंहरु आफू– आफू लड्नु भए होला वा हामीले तपाईंहरुलाई लडायौं होला ।’

उनले पार्टी एकताको पृष्ठभूमि र परिस्थिति बुझेर एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए ।  अध्यक्ष प्रचण्डले प्रदेश ५ को सरकार र नेकपा पार्टी संगठन समेत देश मै अब्बल रहेको भन्दै नेतृत्व पङ्तिलाई धन्यवाद दिए ।

पार्टी प्रशिक्षण  कार्यक्रममा पार्टीका  सचिवालय सदस्य तथा  गृहमन्त्री रामबहादुर थापा  (वादल ) ले   भ्रष्ट र  तस्करहरुलाई   सरकारले नियन्त्रण गरिरहेको तर निस्तेज गर्न नसकिएकोले त्यसका लागि नेकपाका पार्टी कार्यकर्तालाई तलै देखि जुट्न आग्रह गरे ।

गृहमन्त्री थापाले ठग ठेकेदारहरु र  भ्रष्टहरुलाई तह लगाउन सडक, सदन र सरकार तीन  मोर्चाबाट  जुट्नु  र समाजवादतर्फ उन्मुख हुन आग्रह गरे । महासचिव विष्णु पौडेलले फागुनभर सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि आन्तरिक तयारीको पहिलो  महिना रहेको, चैत्र , बैशाख र जेठ  देशब्यापी तीन महिने अभियानको महिना भएकोले पार्टी पङ्ति सबै एक ढिक्का भएर  सक्रिय हुन निर्देशन थिए ।

प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले  अन्य प्रदेश जस्तो न त्यस प्रदेशको सरकार चल्ने न त पार्टी नै चल्ने बताए ।

‘हामी  प्रदेश ५ को सरकार सञ्चालनमा पनि अब्बल  भएका छौं , पार्टी  एकता र विस्तारका लागि  पनि सबै भन्दा अगाडि छौं , तर यतिले पुग्दैन, अझ आफैले आफै संग प्रतिस्पर्धा गरौं,’ पोखरेलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप