मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश -२ नामाकरण : मधेशसँग 'मिथिला–जानकी' थप्न प्रतिपक्षीको जोड

आइतबार, ०४ फागुन २०७६, १९ : ४८
आइतबार, ०४ फागुन २०७६

जनकपुर । प्रदेश नम्बर २ को सरकार स्थापना भएको २ वर्ष वितिसक्दा पनि अहिलेसम्म प्रदेशको नाम र स्थायी राजधानीबारे ठोस निर्णय हुन सकेको छैन ।तर प्रदेश सभामा प्रतिनिधित्व भएका दलहरुबीचको सर्वदलीय वैठकमा प्रदेशको राजधानी जनकपुरधामलाई बनाउने निर्णय भएसँगै सर्वसाधारणको ध्यान नामतिर केन्द्रित भएको छ । 

नामको बिषयमा मधेश शब्द जोडेर नामाकरण गर्न सहमत भएपनि यसको लागि प्रतिपक्षी तथा सत्तापक्षीबीच भने ठोस सहमति हुन सकिरहेको छैन । आइतबार प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका दलहरुबीच भएको आन्तरिक छलफलमा प्रदेशको नाममा मधेश शब्द जोड्न प्रतिपक्षी दलहरु सहमत नजिक पुगको देखिनछन् ।

प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको नाम ‘मिथिला मधेश’ हुनुपर्ने अडान लिँदै प्रस्ताव अघि सारेको बताए । उनले मधेश शब्दप्रति आपत्ति नरहेपनि मिथिला सांस्कृतिक र पहिचानसँग जोडिएकाले मिथिला–मधेश प्रदेश नामाकरण गर्नुपर्ने तर्कअघि सारे ।

त्यसैगरी अर्का प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले ‘जानकी–मधेश’  प्रदेशको प्रस्ताव अघि सारेको जनाए । उनले भने, ‘सत्तापक्ष लचक भए आफूहरु पनि सहमति गर्न तयार छौं ।’

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले यस प्रदेशको नाम ‘मधेश प्रदेश’ हुनुपर्ने अडान कायमै राखेका छन् । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम टुंग्याउन नसकिए पनि दलहरु सहमति अत्यन्तै नजिक पुगेको बताए ।

उनले मुलुकमा संघीयता स्थापना गराउन मधेश आन्दोलनलाई छाड्न नमिल्ने भएकाले यसकोे सम्मान स्वरुप मधेश प्रदेश नै राख्नुपर्ने अडान दोहोर्याए । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले दलहरुको आगामी बैठकबाट प्रदेशको नाममा सहमतिबाटै टुंगिनेमा विश्वस्त रहेको बताए ।

सभामुख सरोज कुमार यादवको उपस्थितिमा भएको वैठकबाट राजधानीबारे यस अघि नै सहमतिबाट टुंग्याइसकेको बताउँदै उनले प्रदेशको नामकरण पनि सर्वसम्मतिबाटै हुने विश्वास व्यक्त गरे । उनले हामीले संसदीय दलका नेताहरुसँग निरन्तररुपमा छलफल जारी नै राखेका बताए । उनले छलफल सकारात्मकरुपमा अघि बढिरहेको बताए ।

प्रदेशको नाम र राजधानीबारे सहमति जुटाउन सभामुख सरोजकुमार यादव नेतृत्वको संसदीय समितिले फागुन १५ गतेसम्ममा प्रदेशसभाको वैठकमा प्रस्तावन पेस गर्ने गरी संसदीय दलहरुको वैठकलाई तीव्रता दिएको उनले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप