मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाँच प्रदेश डीआईजीविहीन, एआईजीको लागि चर्को भीडन्त !

आइतबार, ०४ फागुन २०७६, १६ : ११
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । प्रदेश १ को प्रहरी प्रमुख रहेकै बेला डीआईजी ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त भए । प्रहरी सङ्गठनले नयाँ प्रहरी प्रमुख पाएको पाँच दिन बितिसकेको छ ।

ज्ञवाली आईजीपीमा नियुक्त भएसँगै प्रदेश १ को कमाण्ड एसएसपीले सम्हालेका छन् । जबकी प्रदेश प्रहरी प्रमुख डीआईजी रहने व्यवस्था छ । १ नम्बर प्रदेशमा मात्र होइन – बागमती प्रदेश, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेश पनि डीआईजीविहीन छ ।

एआईजी बढुवा नगरिकन डीआईजी बढुवा गर्ने अवस्था नभएकोले ५ वटै प्रदेशमा एसएसपीले कमाण्ड सम्हालेका छन् । प्रदेश २ मा डीआईजी प्रधुम्न कार्की र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको कमाण्ड छ ।

माघ २८ मा निवर्तमान आईजीपी सर्वेन्द्र खनालसँगै तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १७ जना डीआईजीले एकैपटक ३० वर्षे सेवा अवधीको कारण अवकाश पाएका थिए ।

तत्कालिन बागमती प्रदेशका डीआईजी शेरबहादुर बस्नेत, गण्डकी प्रदेशका डीआईजी विनोद शर्मा घिमिरे, प्रदेश ५ का डीआईजी सुरेश विक्रम साह र कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले खनालसँगै अवकाश पाएका हुन् ।

ज्ञवाली आईजीपीमा नियुक्त भएसँगै रिक्त तीन एआईजी पदको लागि गृह मन्त्रालयले पनि गृहकार्य सुरु गरेको छ । तर, गृहमन्त्रालयलाई त्यति सजिलो भने छैन्, ‘तीन एआईजी नियुक्त गर्न ।’

तीन एआईजीले अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभागको जिम्मेवारी सम्हाल्छन् ।

तीन एआईजीको लागि सात डीआईजीहरु प्रतिस्पर्धामा छन् । उनीहरुबीच चर्को भीडन्त हुने देखिएको छ । १७ डीआईजी एकैपटक अवकाशमा जाँदा सात डीआईजी भने कार्यरत नै थिए ।

डीआईजी तारिणी लम्साल र सूर्य उपाध्याय आईजीपी ज्ञवालीकै ब्याचका हुन् । लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुन् भने उपाध्याय प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।

एआईजीका प्रतिस्पर्धीहरु

यसबाहेक डीआईजीहरु शैलेश थापा क्षत्री, हरि पाल, निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल एआईजीका दाबेदार हुन् । पोखरेल एआईजीका प्रबल दाबेदार हुन् ।

डीआईजी थापा क्षत्री प्रहरीको केन्द्रीय प्रवक्ता, पाल विशेष ब्यूरो प्रमुख, शाही केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कार्की प्रदेश २ प्रहरी प्रमुख र पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको रुपमा कार्यरत छन् ।

आईजीपी ज्ञवालीको कार्यकाल आगामी असार २४ सम्म मात्र हो । लम्साल र उपाध्याय आईजीपी ज्ञवालीको ब्याच भएको कारण आईजीपीसँगै अवकाशमा जानेछन् ।

आईजीपीको दाबेदार रहेका लम्साल कार्यक्षमता र वरिष्ठताको आधारमा दोस्रो नम्बरमा भएपनि एआईजी दौडमा पछि पर्नसक्ने बुझिएको छ । यता, कार्यक्षमतामा सबैभन्दा कमजोर भएको कारण उपाध्याय एआईजीमा नियुक्त हुने सम्भावना भने न्यून रहेको छ ।

भावी आईजीपी एआईजीबाटै हुने भएकाले एआईजीको लागि यतिबेला डीआईजीहरु नेताहरुको घरमा पुगेर चाकडी पनि सुरु गरेका छन् । डीआईजी क्षत्री, पाल, शाही र कार्की एआईजीमा बढुवा भए उनीहरुमध्येबाटै आईजीपी हुने सम्भावना बढी हुन्छ ।

यता, पोखरेल एआईजी नभएको अवस्थामा पनि आईजीपी बन्ने सम्भावना रहन्छ ।  किनभने उनको व्याचमा उनी एकल प्रतिस्पर्धी हुन् । अहिले नै एआईजी भएको अवस्थामा उनको आईजीपीको कार्यकाल लामो हुनेछ ।

प्रहरी नियमावली ०७१ मा एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव अध्यक्ष, गृह मन्त्रालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।

त्यसैअनुरुप बढुवा समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषद्मा पेश हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप