मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षीया युवतीले लगाइन् पुलिस अधिकारीमाथि सामूहिक बलात्कारको आरोप

आइतबार, ०४ फागुन २०७६, ०७ : ५५
आइतबार, ०४ फागुन २०७६

भारतको गोखरपुरमा २० वर्षीया एक युवतीले दुई पुलिस अधिकारीमाथि आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार र कुटपिट गरेको आरोप लगाएकी छिन् ।

पुलिसले घटना दर्ता गरेको छ तर पुलिसका अनुसार पहिलो पटक यो घटना ‘नक्कली’ लागिरहेको छ । पीडित महिला अहिले गोरखपुरको एक अस्पतालमा उपचार चलिरहेको छ ।

गोरखनाथ इलाकामा बस्ने २० वर्षीया यी युवती बिहिबार राती घर फर्किरहेको बताइन्छ । त्यति नै बेला दुई पुलिस अधिकारीले उनलाई जबर्जस्ती मोटरसाइकल पछाडि राखेर एक होटलमा पुर्‍याएको र एउटा भवनमा लगेर पालैपालो बलात्कार गरेको जानकारीमा उल्लेख छ ।

अबेर राती घर पुगेकी युवतीले शुक्रबार बिहान आमालाई यसबारे जानकारी दिइन् । त्यसपछि युवतीकी आमाले उनलाई अस्पताल भर्ना गरिन् जहाँ उनको उपचार चलिरहेको छ ।

अस्पतालमा भर्ना भएकी युवतीले मिडियालाई भनिन्, ‘राती करिब ९ बजे म घर फर्किरहेकी थिएँ । मलाई दुई व्यक्तिले जबर्जस्ती बाइकमा राखे । दुबैजना पुलिसको पोसाकमै थिए । मलाई धम्काउँदै रेलवे स्टेशन नजिकैको एक भवनमा पुर्‍याए र ममाथि बलात्कार गरे । ती दुईले ममाथि असाध्यै कुटपिट पनि गरे त्यसपछि ६ सय रुपैयाँ दिएर अटो चढेर घर जान भने ।’

यद्यपि, गोरखपुर पुलिसले यो घटनालाई ठाडै अस्विकार गरेको छ ।

गोरखपुरका वरिष्ठ पुलिस अधिकारी डाक्टर सुनिल गुप्ताले बीबीसीसँगको कुराकानीमा भने, ‘होटलको सिसिटीभी फुटेज र गार्डको बयानको आधारमा यस्तो लाग्छ कि ती युवती आफ्नो मर्जीले होटल गएकी थिइन् । जुन व्यक्तिसँग उनी गएकी थिइन्, ती एक्ला व्यक्ति थिए र उनले पुलिसको युनिफर्मसमेत लगाएका थिएनन् । त्यसकारण सरसर्ती हेर्दा घटनामा शंका गर्नुपर्ने स्थिती छ तरपछि पुलिसले मुद्दा दर्ता गरेको छ र कारवाही गरिँदै छ ।’

एसएसपीले होटलको सिसिटीभी फुटेजको आधारमा घटना नक्कली जस्तो लागेको बताए पनि युवतीले आफ्नो बयानमा कुनै होटलको कुरा गरेकी छैनन् । पीडितका अनुसार उनलाई पुलिसले कुनै घरमा लगेको र ती पुलिसलाई अगाडि देखे चिन्ने समेत बताएकी छिन् ।

पिडित युवती भन्छिन्, ‘पुलिस अधिकारीले मलाई त्यो रात करिब १ बजे छोडेका थिए र म निकै गाह्रो गरी अटोमार्फत् घर पुगेँ ।’

ती युवती गोरखनाथ इलाकामै बस्छिन् र आफ्नो घरमा बच्चाहरुलाई ट्युसन पढाउँछिन् ।

युवतीकी आमाले भनिन्, ‘राती उनले हामीलाई केही पनि भनिनन् तर जब उनको स्वास्थ्य खराब हुनथाल्यो तब मात्रै उनले यसबारे जानकारी दिएकी हुन् । उनी पीडाका कारण रातभरी रोइरहिन् । त्यसपछि हामीले उनलाई अस्पताल पुर्‍यायौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप