केन्द्रीय संस्करण
दर्शन र जीवन

अष्टाङ्ग मार्ग : बुद्धले दिएको सफलताको सूत्र

पहिलो सूत्र : सम्यक दृष्टि

person explore access_timeफागुन ३, २०७६ chat_bubble_outline0

बुद्धले दिएको दुःखमुक्तिका आठ सूत्रमध्ये पहिलो सूत्र हो — सम्यक दृष्टि अर्थात ठीक हेराइ । दृष्टि भन्ने कुरा यति महत्त्वपूर्ण छ कि हाम्रा सोचाइ, विचार, कार्यहरू दृष्टिले नै निर्धारण गर्छ । भनिन्छ पनि, ‘जस्तो दृष्टि त्यस्तै सृष्टि ।’ हो पनि, किन भने—

हेराइ (दृष्टि) अनुसार बुझाइ बन्छ ।

बुझाइ अनुसार सोचाइ बन्छ ।

सोचाइ अनुसार गराइ हुन्छ ।

गराइ अनुसार भोगाइ निश्चित हुन्छ ।

सम्यक दृष्टिलाई अँग्रेजीमा तीन किसिमले अनुवाद गरिएका छन् ।

‑     Right View/Perspective (ठीक दृष्टिकोण वा ठीक हेराइ)

‑     Right Vision (ठीक दूरदृष्टि)

‑     Right Understanding (ठीक बुझाइ)

त्यस्तै ‘सम्यक’को पनि धेरै अर्थ लाग्छ — ठीक, उचित, असल । संस्कृत शव्द व्यापक हुने भएकोले संस्कृतको एउटा शव्द बुझाउन पनि अँग्रेजीका धेरै शव्द प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले ‘दृष्टि’ शव्द बुझ्न अँग्रजीका तीनै अर्थ मिलाएर समग्रमा बुझ्नुपर्ने हुन्छ ।

ठीक दृष्टिकोण भन्नाले जीवन र जीवनमा आइपर्ने घटनाहरूलाई हामी कसरी हेर्छौं भन्ने हो । यदि हेराइ नै गलत भयो भने हाम्रो बुझाइ पनि गलत हुन्छ । गलत बुझाइले गलत सोचाइ पैदा हुन्छ । त्यसले समस्याको समाधान गर्नुको साटो दुःखमाथि दुःख थप्ने काम गर्छ ।

ठीक दूरदृष्टि भन्नाले राम्रो भविष्यको परिकल्पना हो । ठीक दूरदृष्टिले जीवनलाई निश्चित दिशा प्रदान गर्छ, लक्ष्यतर्फ अघि बढ्ने हौसला दिइरहन्छ । साथै कठिन समयमा समस्यासित सामना गर्न उत्प्रेरित गरिरहन्छ ।

ठीक बुझाइ भन्नाले जुन क्षेत्रमा हामीले दूरदृष्टि बनाउँछौं, त्यस क्षेत्रलाई राम्रोसित बुझ्नुपर्छ भन्ने हो । साथै आफ्नै व्यक्तिगत प्रकृति र रुझानको पनि बुझाइ हुनुपर्छ । राम्ररी नबुझीकन राखेको दूरदृष्टि र लक्ष्यले हामीलाई सफल बनाउँदैन । कथंकदाचित सफल भइहाल्यौं भने पनि खुशी नहुन पनि सक्छौं ।


राम्ररी नबुझीकन राखेको दूरदृष्टि र लक्ष्यले हामीलाई सफल बनाउँदैन । कथंकदाचित सफल भइहाल्यौं भने पनि खुशी नहुन पनि सक्छौं ।


यस आलेखमा यी तीनै अर्थमा सम्यक दृष्टिको जीवनमा व्यावहारिक प्रयोजनको लागि छोटो विवेचना गरिन्छ । सम्यक दृष्टिको आध्यात्मिक अर्थ त अर्कै छ — संसारलाई अनित्य, दुःख र अनात्म भनेर देख्नु । अनित्य, दुःख, अनात्म अत्यन्त गहन दार्शनिक विषय हुन् जुन बुझ्न गहिरो चिन्तन र भावना चाहिन्छ । लेखको अन्त्यमा थोरै आध्यात्मिक अर्थ पनि बुझाउने यत्न गर्छु ।

https://cdn.sivanaspirit.com

पहिलो अर्थ : Right View (ठीक दृष्टि वा हेराइ)

जीवनमा दुःख त छ नै । तर त्यो दुःखलाई बढाउने वा घटाउने काम हाम्रो दृष्टिले गर्छ । ठीक दृष्टिले भएको दुःखलाई बुझेर घटाउनेतिर लाग्छ । तर गलत दृष्टि लिएको मनले नभएको दुःख अझै दशौं गुणा थप्ने काम गर्छ ।

अहिले सकारात्मक सोच (पोजिटिभ थिङ्किङ) को धेरै प्रचार भइरहेको छ । निश्चय पनि नकारात्मकभन्दा सकारात्मक सोच राम्रो हो । तर जबरजस्ती गरिएको सकारात्मक सोच पनि धेरै दिन टिक्दैन । वास्तवमा मानिसको सोच बुद्धिमत्तापूर्ण (इन्टेलिजेन्ट) हुनुपर्छ । जीवनमा उही सुखी बन्छ जसको दृष्टि यथार्थपरक (रियालिस्टिक) र बुद्धिमत्तापूर्ण छ । बुद्धिमत्तापूर्ण मानिसको सकारात्मक प्रवृत्ति (पोजिटिभ एटिच्यूड) रहन्छ । सकारात्मक सोचभन्दा सकारात्मक प्रवृत्ति हुनु बढी महत्त्वपूर्ण छ ।

यहाँ केही अयथार्थपरक मानसिक प्रवृत्तिको उदाहरण दिन्छु । जस्तो कि हाम्रो मनले हरदम सुखै मात्र चाहन्छ, दुःख अलिकति पनि नहोस् भन्ने चाहन्छ । सुख र दुःख त एउटै सिक्काका दुइटा पाटा हुन् । हामीले हातमा भएको एउटा सिक्काको एउटा पाटो आफूसित राख्नचाह्यौं र अर्को पाटो फाल्नचाह्यौं भने त्यो सम्भव होला ? सुख र दुःख सँगसँगै नै हिँडिरहेका हुन्छन् ।

संसारमा कुनै पनि कुरा एकांगी सम्भव छैन । हामीले बुझ्नुपर्ने मुख्य कुरा यो हो कि ‘जीवनमा हरेक कुरा एकमुष्ठ (प्याकेजमा) आउँछ’ । जसै हामी जन्म्यौं, सुख र दुःख दुवै पनि संगै जन्मे । हामीले जागीर खायौं भने त्यो जागीरमा भएका राम्रा र नराम्रा पक्ष दुवै एकैसाथ आउँछ । हामीले रोज्ने पेशा पनि त्यस्तै हो । जीवन साथी राज्यौं भने पनि ऊसँगै राम्रा र नराम्रा दुवै पक्षसँगै आउँछन् ।


सुखलाई हामी स्वीकार्छौं भने दुःखलाई मात्र नकार्न सकिंदैन । यति मात्रै हो कि कहिले सुखको पाटो माथि पर्छ त कहिले दुःखको पाटो । आफूलाई परेको कुनै दुःखप्रति द्वैष पाल्दा आफ्नै मन बेचैन भइरहन्छ । त्यसैले बुद्धिमानहरू दुःखलाई एउटा अप्रिय यथार्थको रूपमा स्वीकारेर सो दुःख घटाउने वा हटाउने दीर्घकालीन योजना र उपायतिर लाग्छन् ।


सुखलाई हामी स्वीकार्छौं भने दुःखलाई मात्र नकार्न सकिंदैन । यति मात्रै हो कि कहिले सुखको पाटो माथि पर्छ त कहिले दुःखको पाटो । आफूलाई परेको कुनै दुःखप्रति द्वैष पाल्दा आफ्नै मन बेचैन भइरहन्छ । त्यसैले बुद्धिमानहरू दुःखलाई एउटा अप्रिय यथार्थको रूपमा स्वीकारेर सो दुःख घटाउने वा हटाउने दीर्घकालीन योजना र उपायतिर लाग्छन् ।

अर्को विचार गर्नुपर्ने कुरा के हो भने हाम्रो मनले चाहेजस्तो हामीलाई सुखैसुख मात्र भयो भने हामी झनै ठूलो दुःखमा पर्नसक्छौं । मेरी आमा भन्ने गर्छिन् — ‘दुःख भएकाले सुख खोज्छन् । सुख भएकाले दुःख खोज्छन् ।’ सबैतिरबाट सुखी भएकालाई कसैले दुःख दिनुपर्दैन, उनीहरू आफैंले दुःख निम्त्याउँछन् । हामीले सबै किसिमले परिपूर्ण भएका शक्तिशाली तथा धनाढ्यका छोराछोरी देखेका छौं, जो आफ्नै करतूतले दुःख पाइरहेका हुन्छन् । वास्तवमा दुःखमय परिस्थितिसित लड्दा लड्दै नै त हाम्रो बुद्धि र मानसिक क्षमता विकासको हुने हो ।

दोश्रो कुरा, विगतमा भएका कुरालाई सम्झेर पनि हाम्रो मन दुःखित भइरहेको हुन्छ । विगतमा यस्तो भइदिएको भए हुन्थ्यो वा त्यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने सोचले हामीलाई बित्थैमा तनाव दिइरहेको हुन्छ । विगतबाट शिक्षा लिनु एउटा कुरा हो, तर विगतलाई कोट्याएर मन कुँडाइरहनु अर्कै कुरा हो । वैज्ञानिकहरूले हालसम्म समय–यन्त्र (टाइम मेशीन) बनाएका छैनन् । समय–यन्त्र बनेको भए त विगतमा गएर भएका खराबी सच्याएर फेरि वर्तमानमा फर्किन सकिने हो । जब त्यस्तो गर्नु सम्भव छैन भन्ने कुरा हामीलाई थाहै छ भने विगतमा भएका खराबीलाई बारम्बार सम्झेर बस्नुको कुनै अर्थ छैन । जीवन सँधै अघि बढ्छ । त्यसैले अघि बढ्न चाहनेले विगतलाई सरापेर बस्दैन ।


बीबीसीले केही वर्षअघि गरेको मनोवैज्ञानिक अनुसन्धानले के नतीजा देखाएको छ भने तनाव, बैचैनी आदि मानसिक समस्याको सबभन्दा ठूला दुइ कारण हुन् — मनमा नकारात्मक कुरा खेलाइरहनु र आफ्नैप्रति मनमनै गुनासो गरिरहनु ।


हाम्रो मनमा अनेकौं अनावश्यक र अयथार्थपरक, काल्पनिक र विद्वैषपूर्ण कुराहरू खेलिरहेका हुन्छन् । यिनले हाम्रो मानसिक चैन खोस्नेभन्दा अर्को काम गर्दैन । बीबीसीले केही वर्षअघि गरेको मनोवैज्ञानिक अनुसन्धानले के नतीजा देखाएको छ भने तनाव, बैचैनी आदि मानसिक समस्याको सबभन्दा ठूला दुइ कारण हुन् — मनमा नकारात्मक कुरा खेलाइरहनु र आफ्नैप्रति मनमनै गुनासो गरिरहनु ।

अर्को मनोवैज्ञानिक अनुसन्धानले के देखाएको छ भने मानिसको मनको स्वभाव नै यस्तो छ कि त्यसले सुख थोरै दुःख धेरै महसूस गर्छ । उदाहरणको लागि, तपाईंले एकहजार रूपैंया भेट्टाउनुभयो भने तपाईं केही खुशी हुनुहुनेछ, तर तपाईंले एकहजार रूपैंया हराउनुभयो भने तपाईं धेरै गुणा बढी दुःखी हुनुहुनेछ । जीवनमा हामी आफूले नपाएका वा कमजोर पक्षलाई लिएर बढी बिलौना गर्छौं । तर आफूसित भएका राम्रा कुराहरू र सबल पक्षलाई नजरअन्दाज गर्छौं । ठीक हेराइ भनेको आफूसित भएका राम्रा कुराहरूमा ध्यान दिँदै तिनैलाई उपयोग गर्दै सुख र सफलतातिर अघि बढ्नु हो ।

दोश्रो अर्थ :Right Vision(ठीक दूरदृष्टि)

हेलेन केलरको नाम धेरैले सुनेको हुनुपर्छ । शिशु अवस्थामै उनले दृष्टि र श्रवणशक्ति गुमाएकी थिइन् । अर्थात् उनी बहुअपांगता भएकी महिला भएर हुर्किन् । तर उनले धेरै पढिन् । अपांगता भएका र महिलाको अधिकारमा उल्लेख्य काम गरिन् । पुस्तकहरू लेखिन् । राजनीतिमा योगदान दिइन् । आँखा नदेख्ने, कान नसुन्ने उनको संघर्ष र सफलताको कथाका धेरै उत्प्रेरक पुस्तक लेखिए, चलचित्र बनाइए । 

https://www.hki.org

हेलेन केलरलाई देखेर एकजना मानिसले एक्कासी भन्यो, “अहो, तपाईं आँखा देख्नुहुन्न । तपाईंलाई बाँच्न धेरै गाह्रो हुँदो हो ।” उनले जवाफमा भनिन्, “मसँग आँखा छैन, तर मसित दूरदृष्टि (भिजन) छ ।” सोही दूरदृष्टिले उनले त्यस्ता महान् कार्यहरू गरिन्, जुन हामीजस्ता आँखा भएका लाखौं मानिसले गर्नसकेनन् ।


उनलाई देखेर एकजना मानिसले एक्कासी भन्यो, “अहो, तपाईं आँखा देख्नुहुन्न । तपाईंलाई बाँच्न धेरै गाह्रो हुँदो हो ।” उनले जवाफमा भनिन्, “मसँग आँखा छैन, तर मसित दूरदृष्टि (भिजन) छ ।” सोही दूरदृष्टिले उनले त्यस्ता महान् कार्यहरू गरिन्, जुन हामीजस्ता आँखा भएका लाखौं मानिसले गर्नसकेनन् । अनि यसैबाट उनको कहावत प्रसिद्ध भयो, अन्धो हुनुभन्दा पनि खराब कुरा होजीवनमा कुनै दूरदृष्टि (भिजन) नहुनु । (The only thing worse than being blind is having sight but no vision.) 

दूरदृष्टि जति परको राख्यो त्यति नै शक्तिशाली हुन्छ । उदाहरणको लागि कुनै लक्ष्य नभएको विद्यार्थीभन्दा परीक्षामा उच्च ग्रेड ल्याउने लक्ष्य राखेको विद्यार्थी बढी उत्प्रेरित हुन्छ । उच्च ग्रेड मात्र ल्याउने लक्ष्य राखेको विद्यार्थीभन्दा विद्यार्थी जीवनपछि कुन क्षेत्रमा लाग्ने भन्ने स्पष्ट लक्ष्य भएको विद्यार्थी बढी उत्पे्ररित हुन्छ । पैसा कमाउन मात्र पेशामा लागेका पेशाकर्मीभन्दा आफ्नो पेशाबाट सेवा पुर्‍याउने उदेश्य लिएको व्यक्ति बढी उत्प्रेरित र आफ्नो पेशामा खुशी रहन्छ । महान नेताहरू त आफ्नो जीवनकालको मात्र होइन, सैयौं वर्षपछिसम्मन्को जगत कल्याणको दूरदृष्टि राखेर अघि बढ्छन् । त्यसैले उनीहरूले जस्तै दुःख पनि सहन सक्छन् । तुरन्तै लक्ष्य प्राप्त नभए पनि अधीर हुँदैनन् । गौतम बुद्धले बोधिसत्व हुँदै ‘प्राणी मात्रलाई दुःख–मुक्तिको उपाय सुझाउने’ दूरदृष्टि राखेका थिए । त्यसैले त २६०० वर्षपछि पनि मानिसहरू उनको पछि लागेका छन् ।

दोश्रो अर्थ : Right Understanding(ठीक बुझाइ)

लक्ष्य राख्नु राम्रो हो, तर धेरै मानिसले लहलहैमा लक्ष्य राखेका हुन्छन् । कसैले डाक्टर बन्ने इच्छा राख्नुको कारण डाक्टरले पाउने मानसम्मान वा कमाइ हुनसक्छ । यी बाहिरी आकर्षणहरू हुन् । यथार्थ यो हुन्छ कि जब ऊ डाक्टर बन्छ, तब उसले पाउँछ कि कसैले खासै सम्मान पनि गर्दैन र कमाइ गर्न पनि सजिलो छैन । यस्तै धेरै युवाहरू संगीत, अभिनय, मोडलिंग आदि क्षेत्रमा आकर्षित हुन्छन् । तर त्यो भित्री चाहना नभएर बाहिरी झिलिमिलीको आकर्षण मात्र पनि हुनसक्छ । त्यसैले नेतृत्व विकासका प्रशिक्षक जोन म्याक्सवेलले प्रख्यात पुस्तक नै लेखे — ‘पुट योर ड्रीम इन्टु टेष्ट’ । हामीले आफ्नो सपनालाई पनि जाँचेर हेर्नुपर्छ ।


लक्ष्य राख्नु राम्रो हो, तर धेरै मानिसले लहलहैमा लक्ष्य राखेका हुन्छन् । कसैले डाक्टर बन्ने इच्छा राख्नुको कारण डाक्टरले पाउने मानसम्मान वा कमाइ हुनसक्छ । यी बाहिरी आकर्षणहरू हुन् । यथार्थ यो हुन्छ कि जब ऊ डाक्टर बन्छ, तब उसले पाउँछ कि कसैले खासै सम्मान पनि गर्दैन र कमाइ गर्न पनि सजिलो छैन ।


जीवन दोहोरो यात्रा हो — आन्तरिक र बाहिरी । आन्तरिक भनेको आफ्नोबारे बुझाइ हो — आफ्ना भित्री रुझान र खुबीहरू । आफ्ना रुझान र खुबी अनुसारको लक्ष्य रोज्यो भने खुशी हुनसकिन्छ । त्यसैले पहिला आफ्नो प्रकृति र रुझानबारे थाहा पाउनुपर्छ ।

लक्ष्यसम्म सफलतापूर्वक पुग्न चाहनेले लक्ष्यसम्म पुर्‍याउने मार्गबारे पनि जानकारी हासिल गर्नुपर्छ । मानौं कि कसैले सगरमाथाको चुचुरोमा पुग्ने इच्छा राख्यो । तब ऊ तुरन्तै सगरमाथातिर लम्किँदैन । पहिला उसले हिमालयको बारे, त्यहाँसम्म पुग्ने बाटो अनि मौसम आदिको जानकारी लिन्छ, बाटोको नक्शा केलाउँछ । तालिम लिन्छ, तयारी थाल्छ । राम्रा, रमाइलाको साथै अप्ठेरा र जोखिमपूर्ण पक्षको पनि पूरै जानकार बन्छ । ठीक बुझाइ भनेको सम्पूर्ण बुझाइ हो । आफ्नो लक्ष्य र दूरदृष्टिको लागि कुनै क्षेत्र रोज्नअघि त्यसका सकारात्मक पक्ष मात्र नभएर नकारात्मक पक्ष पनि पूरै बुझ्नुपर्छ । यदि दूरदृष्टि भित्रैबाट आएको हो भने त्यस क्षेत्रका दुःख र कठिनाइ पनि खुशीसाथ सामना गर्ने क्षमता हुन्छ । सकिँदैन जस्तो लाग्छ भने हामीले आफूलाई मिल्दो कुनै अर्कै क्षेत्र रोज्नुपर्छ ।

अझै बुझ्नुपर्ने मुख्य कुरा हो — दूरदृष्टि भनेको लक्ष्य मात्रै पनि होइन । जस्तो कि डाक्टर बन्ने एउटा लक्ष्य हुनसक्छ । लक्ष्यसँगै ध्येय (मिसन) हुनुपर्छ । डाक्टर बन्नु लक्ष्य हो भने ध्येय हुनसक्छ— ‘म मानिसको पीडा कम गर्न सहायक बन्छु’ । अनि दूरदृष्टि हुनसक्छ— ‘स्वस्थ संसारको निर्माण’ । तब डाक्टरी एउटा कमाउने पेशा मात्र नभएर अभिरुचि (प्यासन) बन्छ । अभिरुचिले खुशी दिन्छ र जीवनभर त्यस क्षेत्रमा धेरैभन्दा धेरै योगदान दिने प्ररणा दिन्छ । दूरदृष्टिले विकल्पहरू पनि दिन्छ । भनौं, आर्थिक वा अरू नै कुनै कारणले डाक्टर बन्नसकेन भने पनि अन्य तरीकाले पनि स्वस्थ संसारको निर्माणमा जुट्नसकिन्छ । डाक्टर बन्न सकेन भनेर निराश भइहाल्नुपर्ने हुँदैन । ‘स्वस्थ संसारको निर्माण’को लागि धेरै पेशागत क्षेत्रबाट योगदान दिनसकिन्छ, जस्तै पोषण, जीवरसायनशास्त्र, सूक्ष्मजीवविज्ञान, मनोविज्ञान वा सामाजिक अभियान । डाक्टर पढ्न सम्भव भएन भन्दैमा दूरदृष्टिबाट पछि हट्नुपर्छ भन्ने केही छैन । यो पनि हुनसक्छ कि संसारलाई तपाईंको खाँचो डाक्टरको रूपमा भन्दा अन्य रूपमा बढी छ ।


डाक्टर बन्न सकेन भनेर निराश भइहाल्नुपर्ने हुँदैन । ‘स्वस्थ संसारको निर्माण’को लागि धेरै पेशागत क्षेत्रबाट योगदान दिनसकिन्छ, जस्तै पोषण, जीवरसायनशास्त्र, सूक्ष्मजीवविज्ञान, मनोविज्ञान वा सामाजिक अभियान । डाक्टर पढ्न सम्भव भएन भन्दैमा दूरदृष्टिबाट पछि हट्नुपर्छ भन्ने केही छैन । यो पनि हुनसक्छ कि संसारलाई तपाईंको खाँचो डाक्टरको रूपमा भन्दा अन्य रूपमा बढी छ ।


आध्यात्मिक अर्थमा सम्यक दृष्टि

गौतम बुद्धले संसारका तीनवटा स्वभाव बताएका छन् । यसलाई बौद्ध दर्शनमा ‘त्रिलक्षण’ भनिन्छ । ती हुन् — अनित्य, दुःख र अनात्म ।

अनित्य : संसार अनित्य छ भन्ने कुरा त हामी सहजै अनुभव गर्नसक्छौं । हिजो फक्रेका सुन्दर फूल आज सुकिसकेका हुन्छन् । त्यस्तै हामी पनि निरन्तर परिवर्तन भइरहका हुन्छौं । मृत्यु त सबैका लागि एक मात्र अन्तिम सत्य हो ।

दुःख : दुःख–सत्यको विषय त पहिलो लेखमै नै लेखिसकेको छु । (लेखको लिंक राख्ने ।) जन्म हुनु नै दुःख हो । भोक–प्यास दुःख हुन् । तिनलाई मेट्दा क्षणिक सुखको अनुभव त हुन्छ । तर वास्तवमा त्यो सुख त दुःखकै जगमा उभिएको छ !

अनात्म : ‘म छु’ भन्ने जुन भावना हामीभित्र हुन्छ, त्यो नै दुःखको आध्यात्मिक कारण हो । हामी सबैले सतत ‘म’को अनुभव गर्छौं । तर बुद्ध भन्छन् ‘म’को अनुभव नै भ्रम हो, अज्ञान हो । त्यसैले बुद्धको दर्शनलाई ‘अनात्मवादी’ दर्शन भनिन्छ । संज्ञान, स्नायुविज्ञान आदि क्षेत्रमा काम गर्ने अहिलेका वैज्ञानिकहरू पनि यसै निचोड नजिकमा पुगेका छन् । उनीहरूले धेरै खोज्दा पनि हाम्रो दिमागभित्र कतै पनि ‘म’ अनुभव गर्ने केन्द्र भेट्टाउन सकेनन् । बरु उनीहरूले पाएका छन्, समानान्तर रूपमा चल्ने दिमाग वा मनका स्वतन्त्र भागहरूको खुकुलो सञ्जालको अचेतन क्रियाहरूको परिणाम हो — ‘म’ को अनुभव । ‘म’को अनुभव दिमागको एक स्थानबाट अर्को स्थानमा निरन्तर परिवर्तन भइहन्छ । तर हामीलाई नित्यजस्तो मिथ्याभास हुन्छ । यो वैज्ञानिक निष्कर्ष बौद्धदर्शनले व्याख्या गर्ने ‘आत्मभाव’, जुन हामीले अज्ञानतावश महसूस गरिरहेका हुन्छौं, को नजिक छ ।

(आर. मानन्धर दर्शनशास्त्रमा अध्येता हुन् । बाल्यकालमा उनी पाँच वर्ष बौद्ध विद्यार्थी भई थाइल्याण्डमा अध्ययन गरेका थिए । हाल उनी नेतृत्वसीप, व्यवस्थापन र माइन्डफुलनेशका प्रशिक्षक हुन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूमा व्यवस्थापनको उच्च पदमा दुइ दशक बिताइसकेका छन् ।)

Title Photo: https://tricycle.org


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.