शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : रैती

शनिबार, ०३ फागुन २०७६, १६ : १८
शनिबार, ०३ फागुन २०७६

-कृष्णमणि पराजुली

ठूलो कानुन पढ्दा पढ्दै वाक्क लागिसक्यो
जति पढे पनि कहीँ भेटिँदैन रैती शब्द
कतै छ कि भनी ओल्टाइपल्टाई हेर्छु
च्यातिएको पन्नामा पनि शङ्का लाग्छ
जोड जाड् गरेर पढ्छु
तर
हराएको हराएकै छ 
मेरो संविधानमा रैती शब्द ।

कानुनका ठेली पल्टाउँछु
हराएको इतिहास खोजी खोजी पढ्छु
अहं,
जति पल्टाए पनि जति खोजी गरे पनि
कहीँ भेटिँदैन रैती
म निरास हुन्छु
मन निरास हुन्छ
हात गोडा डगमगाउन थाल्छन्
शरीर थरथर काम्न थाल्छ
दिमाग रन्थनिन थाल्छ
कही भेटिँदैन रैती शब्द ।
⁃⁃⁃

मेरो देशमा  रैती हराएको कानुन छ
पाठ्यक्रममा हराएको छ
बोलीचालीमा हराएको छ
भाषणमा हराएको छ
विद्यालयमा हराएको छ
महाविद्यालयमा हराएको छ
विश्वविद्यालयमा हराएको छ 
अहं,
कहीँ कतै भेटिएको छैन
हराइरहेछ मेरो रैती ।
तर पनि रैती नभएको गाउँ रहेनछ
रैती नभएको बजार रहेनछ
रैती नभएको सहर रहेनछ
रैती नभएको घर रहेनछ
जताततै रैती मात्र रहेछ ।
संविधानमा नभएर के भो र ?
कानुनमा नभएर के भो र ?
महलमा नभएर के भो र ?
सिंहदरबारमा नभएर के भो र ?
आखिर
ठूलाघरे दाइसँग छँदैछ
डाँडाघरे बडाबासँग छँदैछ
टाठाबाठासँग छँदै छ
पढ्नेलेख्नेसँग छँदै छ
त्यसैले
प्रत्येक घरभित्र रैती लुकेको छ
काले कामी रैती भएर जुगजुग बिताएको छ
सेते सार्कीको हालत उस्तै छ
साने दर्जीले पनि छुटकारा पाउन सकेको छैन
यसरी
ठूलाले सानालाई हैकम चलाएकै छन्
रैती बनाएकै छन्
शोषण गरेकै छन्
लुट र झुटको खेती गरेकै छन् ।
उनीहरु मात्र संविधानमा लेखिएको
नागरिक अरे
अरू सबै रैती अरे
अरू धेरै रैतीमध्येको 
संविधानमा नलेखिएको कानुनमा नभएको
आफ्नै घरभित्र जुग बिताएको 
एउटा आज्ञाकारी
रैती पो रहेछु म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप