बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवालाई अध्ययन र रोजगारीका लागि अनुकूल वातावरण बनाउन सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री (भिडियो सहित)

शुक्रबार, ०२ फागुन २०७६, १५ : ०४
शुक्रबार, ०२ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको आज यहाँ आयोजित दीक्षान्त समारोहमा उनले हरेक युवाले कुशल नेतृत्वका लागि क्षमता विकास, नैतिक आचरण र अनुशासनको परिपालनमा रही समाज र राष्ट्रप्रतिको कर्तव्यमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “तालिमबाट एकअर्काको भावना, संस्कृति, परम्परा र इतिहास बुझ्ने अवसर प्राप्त भएको छ, अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकताका कार्यक्रम हुन् । युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ ।”

राष्ट्रको गौरवको रूपमा रहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई अनुशासित भई शिरोपर गर्नसक्ने युवाको राष्ट्रलाई सधैँ खाँचो रहने बताउदै उनले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकार दृढताका साथ क्रियाशील छ, युवाबाट यो सङ्कल्प र साझा आकाङ्क्षा पूरा गर्न आ–आफनो स्थानबाट सक्रिय र सिर्जनशील ढङ्गले योगदान होस् । युवाले चाहेको खण्डमा जस्तासुकै चुनौतीको सहजै सामना गरेर अघि बढन सक्छन् ।”

मुलुकमा उपलब्ध प्राकृतिक सम्पदा तथा दक्ष र सबल जनशक्तिको सही सदुपयोगबाट मात्र राष्ट्र निर्माण हुनसक्छ भन्दै उनले त्यसका लागि सरकारले आफ्ना कामलाई योजनाबद्ध ढङ्गले अघि बढाइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त युवाबाट घर परिवारले मात्र होइन, समाज र राष्ट्रले पनि सपना र आशा रहेको बताए ।

मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो । यस आर्थिक वर्षमा मात्रै ७६ जिल्लाका २१३ विद्यालयका सात हजार ७०० विद्यार्थी सेवा दलको तालिममा सहभागी भएका थिए । पन्ध्रौँ समूहको तालिममा सहभागी ५०९ मध्ये २६१ छात्रा र २४८ छात्र रहेको बताइएको छ ।

सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमबाट युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त असल र योग्य नागरिक पाउने विश्वास  राखिएको छ ।

युवाको व्यक्तित्वको विकास गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको उक्त सेवा दलको ‘अनुशासन नै राष्ट्रसेवाको मूल जग हो’ भन्ने आदर्श वाक्य रहेको छ ।

सेवा दलका निमित्त महानिर्देशक सहायकरथी कृष्णमुरारी न्यौपानेले युवा शक्ति राष्ट्र विकासका संवाहक हुन् भन्ने हेतुले सञ्चालन भइरहेको तालिममा विद्यार्थीको आकर्षण बढिरहेको जानकारी दिए।

सो अवसरमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलले उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रालाई दज्र्यानी चिह्न प्रदान गरे । समारोहमा  विभिन्न विद्यालयका प्राचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सेवा दलका छात्रछात्राले खुकुरी ड्रिल र तेक्वान्दो प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप