शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिको नजरबाट सिङ्गो बस्तीलाई लुकाउने प्रयास, ७ फिट अग्लो पर्खाल बनाइँदै

शुक्रबार, ०२ फागुन २०७६, १४ : ४५
शुक्रबार, ०२ फागुन २०७६

गुजरात । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना भारत भ्रमणमा आउँदै छन् । उनको स्वागतका लागि भारतमा विशेष तयारी भइरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमण गुजरातमा केन्द्रीत हुने बताइएको छ । यसका लागि गुजरातलाई विशेष रुपमा सजाउने र ट्रम्पको स्वागतका लागि सरसफाइ, सहरको सौन्दर्य बढाउने काम धमाधम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहमदावादको सिङ्गो एउटा बस्तीलाई ट्रम्पको नजरबाट लुकाउन प्रयास भइरहेको छ । उक्त बस्तीमा ट्रम्पको नजर नपरोस् भनेर बस्तीको अगाडि करिब ७ फिट अग्लो पर्खाल बनाउन थालिएको हो ।

अहमदावाद एयरपोर्टदेखि सरदार पटेल मोटेरा स्टेडियमसम्मको सडक मर्मत गर्नेदेखि लिएर सोही मार्गमा रहेको झुपडी बस्तीलाई लुकाउनका लागि पर्खाल बनाउने काम धमाधम भइरहेको छ ।

झुपडी बस्तीमा विपन्न तथा गरिब समुदाय बसोबास गर्दै आएका छन् । बस्तीमा करिब पाँच सय झुपडी छन् । करिब आधा किलोमिटरसम्मको दुरीमा रहेको उक्त बस्ती मुख्य सडकबाट देखिन्छ । ट्रम्प हिँड्ने भनिएको बाटोमै उक्त बस्ती पर्ने भएकाले ट्रम्पको नजरबाट लुकाउनका लागि बस्तीको अगाडि अग्लो पर्खाल बनाउन लागिएको हो, ताकि ट्रम्पले उक्त बस्तीमार्फत भारतको गरिबी नदेखुन् ।

यसअघि उक्त क्षेत्रमा कुनै विदेशी विशिष्ट अतिथिको भ्रमण हुँदा झुपडी बस्तीको सामुन्ने हरियो कपडाले ढाक्ने गरिन्थ्यो । ट्रम्पको भ्रमणको तयारी भइरहँदा उक्त बस्ती अगाडि धमाधम पर्खाल निर्माण भइरहेको स्थानीयबासी बताउँछन् ।

कतिपयले भने गरिबी अन्त्य गर्नुको साटो गरिब बस्तीलाई नै पर्खालले छोपेर सरकारले देशको वास्तविक अवस्थालाई लुकाउन पहल गरेको भन्दै आक्रोस पोखेका छन् । ‘पर्खालले छोप्दैमा देशको गरिबी छोपिदैँन,’ स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप