शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमपहिरो खसेपछि बन्द गरिएको अन्नपूर्ण बेसक्याम्प खुल्यो

शुक्रबार, ०२ फागुन २०७६, ०९ : ०५
शुक्रबार, ०२ फागुन २०७६

पोखरा । अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुलेको छ । एक महिनाअघि बेसक्याम्पको हिंकु केभ र देउरालीचिको भागमा हिमपहिरो खसेपछि बन्द भएको पदमार्ग ३ दिन अघि मङ्गलबार खुलेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङका अनुसार गएको २७ गतेदेखि अन्नपूर्ण पदमार्ग माथि पदयात्री र पदमार्गीहरुमाथि लगाइएको बन्देज खुलाइएको हो । ‘माघको २७ गतेदेखि अन्नपूर्ण बेसक्याम्पमा पदयात्रीहरुको लागि लगाइएको बन्देज खुला गरिएको छ,’ उनले भने, ‘हिमपहिरोमा परेर ७ जना हराएपछि अनिश्चितकालका लागि बेसक्याम्प बन्द गरिएको थियो । ३ अघिदेखि खुलेको छ ।’

अध्यक्ष गुरुङले ढुक्क भएर पदमार्गीहरुलाई पदयात्रामा आउनसमेत आग्रह गरेका छन् । एक महिना अघि बेसक्याम्पमा हिम पहिरो जाँदा ४ कोरियाली र ३ जना नेपाली हराएका थिए । हिमपहिरोमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् ।

अन्नपूर्ण बेसक्याम्पका पर्यटन व्यवसायी जगनराज गुरुङले पदमार्गीहरुलाई स्थानीयहरुसँग मौसमअवस्थाबारे बुझेर मात्रै पदयात्रामा निस्किन आग्रह गरेका छन् । हराएका सात जनालाई उद्धार गर्नका लागि आफूहरुले पनि सक्दो पहल गरि रहेको उनको भनाई छ ।

हिमपहिरो गएको ठाउँमा खोला रहेकाले पनि खतरा रहेको उनको भनाइ छ । अहिले हिमपहिरो गएको ठाउँमा पुल निर्माण गर्न सके दुर्घटनाको जोखिम अलि कम हुने उनको अनुमान छ । हराएका सात जनाको उद्धार कार्यमा बाक्लो हिउँ जमेको हुनाले पनि उद्धारमा समस्या आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप