बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबारे चिनियाँ राजदूतलाई पत्र

बिहीबार, ०१ फागुन २०७६, १७ : १०
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं, फागुन १, २०७६

काठमाडौं, फागुन १, २०७६
महामहिम चिनियाँ राजदूत महोदय,
समुचित अभिवादन ।
महोदया, 

‘कोरोनाभाइरस’रूपी आपदाले ग्रस्त तपाईंको महान देशका गौरवशाली नागरिकहरुको कल्याण एवं आपदाको समाप्तिका लागि म आफ्नो तथा ३ करोड नेपालीको श्रद्धा एवं आस्थाका प्रमुख इष्ट भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्छु । 

यस सङ्कटको घडीमा समस्त नेपालीको चिनियाँजनप्रति अथाह सहानुभूति छ । चीनको शासकवर्गले जुन तदारुकताका साथ यस आपदासँग लड्ने इच्छाशक्ति एवं जुझारुपनाको प्रदर्शन गरेको छ, त्यो सराहनीय मात्र नभएर संसारका सबै देशका लागि अनुकरणीय बनेको छ भन्नुमा किमार्थ पनि अत्युक्ति हुन्न । 

महोदया, मलाई विश्वास छ एक महिनाभित्र नै तपाईंको देशले विगतमा जस्तै यस पटक पनि कोरोनाभाइरस सङ्क्रमणलाई निस्तेज गर्नुका साथै समग्र रूपमा यसमाथि नियन्त्रण गर्ने सफलता पाउनेछ । 
महोदया, म स्वयं नै पूर्व मिडियाकर्मी भएको नाताले संसारका अनेकन मिडियाले चीनको यस आपदाबारे गरेको गलत प्रचारबाजीबाट अत्यन्त लज्जित छु । नेपालका कैयौँ मिडियाले पनि जानेर होस् वा नजानेर यस विषयलाई सनसनीखेज बनाउने होडबाजी गरे । 

महोदया, मनुष्य सभ्यताको आरम्भदेखि नै समय–समयमा मनुष्यता विभिन्न आपदाको सिकार हुँदै आएको जोकोहीलाई पनि विदित नै छ । यस्तो आपत र महामारीको दंश विश्वका अन्य राष्ट्रहरुले विगतमा नभोगेका पनि होइनन् । यस पटकको आपतले चीनलाई आफ्नो क्रीडाभूमि बनाएको हो । 

विज्ञानको अति अल्प विकास हुँदाताका त मनिषीप्रज्ञाले कस्ता कस्ता दुर्दान्त भाइरस सङ्क्रमणलाई नियन्त्रणमा लिई निर्मूल पारेको छ । अहिलेको उन्नत विज्ञानले पनि शीघ्र नै यसको समाधान खोज्छ भन्नेमा म विश्वस्त छु । तपाईंलाई पनि विश्वास दिलाउन चाहन्छु । 

यो विश्व हामी मानव तथा अन्य प्राणी र  वनस्पति जगतले मात्र भरिएको होइन । यिनीहरुको तुलनामा अर्बौं गुणा बढी विभिन्न प्रजातिका भाइरसको सङ्ख्या रहेको छ । स्मरणीय छ, सबै भाइरस मानिसका लागि हानिकारक होइनन् । 

भाइरस सजीव हो कि निर्जीव यो ठम्याउन पनि सजिलो छैन । ‘होस्ट’ कोषिकामा नपुगेसम्म यसलाई निर्जीव नै भन्नुपर्छ । तर ‘होस्ट’ कोषिकामा प्रवेश गरे उपरान्त कोषिकाको प्रजनन तन्त्र (reproduction mechanism) लाई प्रयोग गरेर यसले आफ्नो कपी अर्थात प्रगुणन (replication) गति तीव्र बनाउँछ । 

भाइरसको कुनै औषधि हुँदैन । मेडिकल साइन्सले अहिलेसम्म भाइरस मार्ने (चाहे ती विगतका कोरोना हुन् अथवा अन्य) कुनै औषधि बनाउन सक्ने सफलता पाएको छैन । भाइरसलाई मात्र र मात्र ‘इन्टरफेरोन्स’बाट नियन्त्रित गर्न सकिन्छ । 

र यो कार्य त्यही ‘होस्ट’ कोषिकाले गर्छन्, जुन भाइरसबाट सङ्क्रमित भएका हुन्छन् । सोझो अर्थमा भन्न सकिन्छ भाइरसबाट सङ्क्रमित व्यक्तिको आफ्नै ‘इम्युन पावर’ (प्रतिरोधात्मक क्षमता) ले मात्रै भाइरसलाई नियन्त्रण गर्छ÷गर्नसक्छ ।

महोदया, भाइरस विषयक यो चर्चा गर्नुको उद्देश्य यस सङ्क्रमणका विषयमा चलाइएका अनर्गल अफवाह र यसको भयावहताबारे फिँजाइएको अनावश्यक हल्लाको मनोविज्ञानबारे सचेत गराउनु हो । 

मानवको मस्तिष्क गजबको ‘रिसिप्टर’ हो । यसको विचित्रता के भने यसले सकारात्मक कुराभन्दा नकारात्मक कुरालाई बढी ध्यान दिएर सुन्छ र तिनलाई आफ्नो अवचेतन र अचेतन भागमै सुरक्षित राख्छ । 

चीनसँग विभिन्न कारणले विद्वेष राख्ने देश तथा तिनका मिडियाले नयाँ कोरोना भाइरसबारे फिँजाएको त्रासले भाइरसभन्दा पनि घातक हुने काम गरेको छ । 
महोदया, तपाईंसँग यस पत्रका माध्यमले अनुरोध गर्न चाहन्छु । यस भाइरसबारे नेपालमा फिँजाइएको अनावश्यक हल्ला रोकथामका लागि आफ्नो स्रोत र साधन प्रयोग गरी पहल गर्नुहोस् । 

केही दिनमै वुहानमा फँसेका नेपालीहरुलाई स्वदेश फर्काइँदैछ । हल्ला र अफवाहको बजार झनै व्यापक हुनेछ । यस्तो हुन नदिन तपाईंले निम्न प्रयास गर्न सक्नुहुन्छ :

० नेपाली मिडिया हाउससँग नियमित ‘प्रेसमिट’ गरेर उनीहरुलाई यस विषयक समाचार प्रकाशित गर्न संयम तथा विवेक प्रयोग गर्न आग्रह 

० विभिन्न पश्चिमा मिडियाबाट आएका समाचार जथाभावी नछाप्न आग्रह

० चीनमा यस भाइरसको प्रभावबारे नेपाली प्रेसलाई नियमित जानकारी दिएर । 

० नेपाल सरकारको गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालयका मन्त्री तथा अधिकारीसँग नियमित सम्पर्कमा रही चीनको आपदाबारे आधिकारिक जानकारी दिएर अफवाहजनित समाचार सम्प्रेषणमा अनुगमन गर्न प्रेरित गरेर । 

० नेपालका डाक्टरहरुसँग भेटघाट गरेर चीनले सङ्क्रमणविरुद्ध गरिरहेको प्रयास र औषधोपचारका बारे जानकारी दिएर । 

महोदया, तपाईंको सदिच्छा र नेपालीप्रतिको चिनियाँ शुभेच्छाले अन्य कैयौँ पहल पनि सम्भव होलान् । मलाई आशा मात्र होइन, पूर्ण विश्वास  छ– शीघ्र नै तपाईंको देश यस विभीषिकाबाट मुक्त हुनेछ र तपाईंले यस विभीषिकालाई नेपाल पस्नबाट रोक्ने तथा यसबारे चलाइएका अफवाह खण्डन गर्नुको साथै अफवाह फैलिन नदिन हरसम्भव प्रयास गर्नुहुनेछ । 

पुनश्च– मैले पत्रमा जानेर कुनै पनि अफवाह वा हल्लाको जिकिर गरेको छैन । महोदयासमक्ष पक्कै पनि अफवाह पुगेकै होलान् । आशा छ तपाईं शीघ्र नै केही सार्थक प्रयास गर्नुहुनेछ । तपाईंको उज्ज्वल भविष्यको कामना गर्दै विराम लिन्छु । 

सम्पूर्ण चीनवासीको शुभचिन्तक

ज्ञानमित्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र
लेखकबाट थप